|
प्रतीकात्मक तस्विर

काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका आवरणमा हुने मानव तस्करीलाई राज्यसंयन्त्रबाटै सहयोग भइरहेको निष्कर्ष निकालेको छ। खाडी मुलुकको स्थलगत अध्ययनपछि तयार पारिएको अनुगमन प्रतिवेदनमा समितिले राज्य संयन्त्रलाई प्राप्त सूचनासमेत लुकाउने र सेटिङमा काम हुने निष्कर्ष निकालिएको हो। 

खाडी मुलुकमा अवैध कामदारका रूपमा जाने ६० प्रतिशत कामदार अध्यागमनका कर्मचारी, सुरक्षाकर्मी र वायुसेवाका कर्मचारीको मिलोमतोमा पठाउने गरेको निष्कर्ष समितिले निकालेको छ। श्रीलङ्का, चीन तथा अफ्रिकी मुलुकमा समेत अवैधरूपमा कामदार भित्र्याउन राज्य संयन्त्र नै सहयोगी बनेको समितिको प्रतिवेदनमा उल्लेख छ। 

समितिको प्रतिवेदनमा भनिएको छ ‘अवैध ढङ्गबाट खाडी मुलुक पुर्‍याउने तथा एउटा खाडी मुलुकबाट अर्को खाडी मुलुक स्थलगत मार्गबाट गाडीको डिकीमा समेत राखेर कामदार ओसारपसार गर्ने भएकाले कतिपय कामदारको पहिचानसमेत हुन नसक्ने अवस्था रहेको छ। खाडी मुलुकका अवैध ढङ्गबाट पुर्‍याइएका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्‍याइएको पाइएकोले त्यस्तो अवैध धन्दामा विमानस्थल कार्यरत अध्यागमनका कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीका कर्मचारी र विचौलियाको प्रत्यक्ष रूपमा संलग्नता रहेको छ।’

समितिका तत्कालीन सभापति प्रभु साह संयोजकत्वको टोलीले गत चैतमा दश दिन खाडी मुलुकमा नेपाली कामदारको अवस्था बुझ्न स्थलगत अध्ययन गरेको थियो। उक्त अध्ययनमा साउदी अरेबिया, कुवेत, कतार, यूएईमा संसदीय टोलीले नेपाली कामदारसँग छलफल गरेको थियो। यस्तै नेपाली दूतावासका कर्मचारी र अन्य सरोकारवालासँग पनि छलफल गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.