|

डडेल्धुरा : समयको परिवर्तनसँगै मान्छे बूढो हुन्छ। यो एक प्राकृतिक नियम नै हो। तर, मान्छे जति बूढो भए पनि मान्छेको पढ्ने इच्छा कहिल्यै बूढो हुँदैन, भन्दै डडेल्धुरामा एकजना ६१ वर्षीय वृद्ध एक कक्षामा पढ्दै छिन्।

डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकामा रहेको भृकुटी आधारभूत विद्यालयमा अहिले ६५ जना विद्यार्थी आफ्नो भविष्य कोरिरहेका छन्। ती ६५ जना विद्यार्थीमध्ये एक हुन् कक्षा १ मा अध्यनरत ६१ वर्षीय दुर्गा पाण्डे। ०१५ सालमा बैतडीको देहिमाडौंमा जन्मेकी पाण्डे एक महिनाअघि भृकुटी आधारभूतमा विद्यालयमा कक्षा १ मा भर्ना भएकी विद्यालयका प्रधानाध्यापक नरेश नगरकोटीले बताए।

दुर्गा अरू नानी बाबु जस्तै लगनशील भएर निरन्तर विद्यालय आउने गरेको प्रधानाध्यापक नगरकोटीले बताएका छन्। ‘सानो छँदा घरपरिवारले पनि छोरीले पढ्नु हुन्न, इज्जत जान्छ भनेर स्कुल लगाउन छोडेर गोठालो लगायो’ उनले भनिन्, ‘अहिले आएर पढ्ने मन लाग्यो, कक्षा एकमा भर्ना भएकी छु।’

‘सानोमा विद्यालय जान पाइएन बुढेसकालमा आएर पढ्ने मन लाग्यो, किताबी ज्ञान कस्तो हुन्छ जान्ने चाहना लाग्यो’ दुर्गाले भनिन्, ‘कक्षामा बस्दा विद्यार्थीले आफूलाई बज्यै भनेर बोलाउँदा लाज लाग्छ’ उनी भन्छिन्, समाजमा आफ्नो पहिचान बनाउन शिक्षा अत्यावश्यक छ। ६१ वषैमै भए पनि आफू शिक्षित भएर समाजको लागि केही गर्ने विचार रहेको उनी बताउँछिन्।

दुर्गाको बाल्यकाल

सानैदखि दु:खमा हुर्कनपरेको दुर्गाको भनाइ छ। ८ वर्षको छँदा पितृस्नेहबाट विछोड हुनुपरेको, १० वर्षको कलिलो उमेरमा घर परिवारले विहे गरिदिएको र १२ वर्षको हुँदा आमा गुमाउनुको पीडा उनले सुनाइन्। बाल्यकालमा नै आमाबुबा गुमाएपछि आमा बुबाको न्यानो काखको कुरै छौडौ गासबासको लागि समेत धौ-धौ भयो दुर्गालाई।

‘बाल्यावस्थामा न घरपरिवारको साथ पाएँ, न पढ्न पाएँ’ उनले भनिन्, ‘बाल्यकाल सम्झेर त अहिले मन खिन्न जस्तै हुन्छ।’ समाजमा कसैसँग बोल्न हुन्न, स्कुल पढ्न हुन्न छोरी मान्छेले भन्ने गलत धारणाले दिनभर गोठालो भएर नै दुर्गाको बाल्यकाल बित्यो।

विहेपछि दुर्गाको जीवन

१० वर्षको बाल्यकालमा नै बालविवाहमा होमिएकी दुर्गाको जीवन विहेपछि जेल जीवनसरह नै भएको उनी बताउँछिन्। उनले त्यति सानो उमेरमा आफूलाई विहेबारे केही थाहा नभएको बताइन्।

‘बिहे हुँदा कोसँग हुने हो, कुन ठाउँ हुने हो केही थाहा थिएन’ पीडा सुनाउँदै उनले भनिन्, ‘पछि श्रीमानसँग कुरा मिलेन ०३५ मा घरबाट ६ महिनाकी छोरीसहित निकालीदियो।’ उनले आँखाभरी आँसु बनाउँदै यो कुरा सुनाइन्।‘श्रीमानले घरबाट निकालेपछि साउन महिनाको झरीमा २ दिन जति भोकै गुफामा बसेर काटें। वरिपरिबाट पहिरो जान्थ्यो, बाँच्छु भन्ने त आसै थिएन।’ दुर्गाले भनिन्।

दुर्गाका खुसीका दिन

पछि डडेल्धुरा सदरमुकाममा आएर उनले बाख्रा, कुखुरा पाल्दै छोरी हुर्काइन्। ज्याला मजदुरी गर्दै छोरीलाई कहिल्यै कुनै कुराको कमी हुन नदिएको उनको भनाइ छ।उनले केही दिन स्थानीय बाल मन्दिरमा खाजा बनाउने काम गरिन्।

सदरमुकाममा नै छोरीलाई बोर्डिङ स्कुल पढाउँदै अहिले दुर्गाकी छोरी एएनएम भएर स्थानीय एक स्वास्थ्य चौकीमा काम गर्छिन्। दुर्गा अहिले एक नाति र एक नातिनीको हजुरआमा बनी सकेकी छन्। नातिनीले आफूलाई घरमा पढ्न सिकाउने गरेको उनी बताउँछिन्। अहिले उनी छोरीको घरमा बस्दै आएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.