|

बैतडी : जिल्ला समन्वय समिति (जिसस) बैतडीको प्रमुखमा नेपाली कांग्रेसका सिद्धराज भट्ट निर्विरोध निर्वाचित भएका छन्। जिससको प्रमुखमा अन्य कसैको उम्मेदवारी नपरेपछि भट्ट निर्विरोध निर्वाचित भएका हुन्। प्रमुख पदमै कांग्रेसकै गजेन्द्रबहादुर चन्दले पनि मनोनयन दिएका थिए। तर मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले एउटै पार्टीबाट प्रमुख पदमा २ जनाले उम्मेदवारी दिन नपाउने भनेपछि चन्दको उम्मेदवारी दर्ता भएन।

यस्तै दलित तथा अल्पसंख्यक सदस्यमा पनि कांग्रेसबाट टेक लुहारको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका छन्। जिसस बैतडीमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन्। एमालेले भने केही पदमा मात्र उम्मेदवारी दियो।

कांग्रेस÷माओवादीको सोमबार बसेको बैठकले उपप्रमुख र एक महिला सदस्य माओवादी केन्द्रलाई दिने र अन्य पदमा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्ने निर्णय भएको थियो। जिल्लाका १० स्थानीय तहका २० मतदातामध्ये कांग्रेस र माओवादी मिल्दा १२ पुग्छ।

उपप्रमुखमा माओवादी केन्द्रका धनबहादुर बोहरा र एमालेका लक्ष्मणदत्त भट्टको उम्मेदवारी दर्ता भएको छ। ३ जना खुला सदस्यमा कांग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर चन्द र जगुवा भण्डारीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै एमालेका तर्फबाट खुला सदस्यका लागि हरिसिंह महराको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए। ३ महिला सदस्यका लागि कांग्रेसबाट हरु जोशी र गीता जोशी तथा माओवादी केन्द्रबाट कुमारी हेमा भट्ट कपाडीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै एमालेबाट गोमती लावड लुहार, कल्पनाकुमारी क्षेत्री राना र जयन्ती पन्तको उम्मेदवारी दर्ता भएको छ। जिल्ला समन्वय समितिको निर्वाचन यही साउन २९ गते हुनेछ। बैतडीमा ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने जिल्ला सभाको पहिलो बैठकले निर्णय गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.