'जनतालाई दुःख नहुने गरी काम गर्नुस्'

|

मोरङ: आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयअन्तर्गतका संस्थानका डिपो तथा कार्यालयहरूलाई जनतालाई दुःख नहुने गरी काम गर्न निर्देशन दिएका छन्। विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनको अञ्चल कार्यालय अनुगमन गरी उनले सहज आपूर्ति र गुणस्तर कायम गर्न निर्देशन निर्देशन दिएका हुन्।

‘उपभोग्य वस्तुहरूको सहज आपूर्ति र गुणस्तरीयताका लागि आ-आफ्नो जिम्मेवारी पूरा गर्नुहोला, जनतालाई सेवा दिन स्थापना भएका कार्यालयबाट नै जनताले सेवा नपाएको गुनासो नआओस्’, अनुगमनको क्रममा उनले भने, ‘गलत काम गर्नेलाई कुनै पनि हालतमा कारवाही हुन्छ, राम्रो काम गर्नेलाई केही समस्या भयो भने त्यसको नैतिक जिम्मेवारी म लिन्छु।’

'विराटनगर डिपो स्तरोन्नति गर'

मन्त्री मण्डलले विराटनगरस्थित नेपाल आयल निगमको कञ्चनबारी डिपोलाई आफ्नो क्षेत्रभित्र इन्धनको सहज आपूर्तिमा कुनै समस्या उत्पन्न हुन नदिन निर्देशन दिए। व्यवस्थापनका लागि सचेत रहन र कुनै समस्या आए सचेत भई तुरुन्त माथिल्लो निकायसँग समन्वय गर्न पनि उनले निर्देशन दिए। अनुगमनका क्रममा मन्त्री मण्डलले निगमको स्टोरेज ट्यांकी स्तरोन्नतिका लागि प्रक्रिया सुरु गर्ने बताए।

अहिले पूर्वाञ्चलबाट पेट्रोल एक सय केएल प्रतिदिन बिक्री हुने तर, जम्मा दुई दिनको स्टक रहेकोले पेट्रोलियम ट्यांकी आवश्यक रहेको र  डिजलको माग पनि उत्तिकै बढे पनि एउटा ट्यांकी ०४५ को भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेकोले मर्मत गर्नुपर्ने निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले जानकारी गराएका थिए।

मन्त्री मण्डलले कञ्चनबारीमा मट्टीतेलका तीनवटा ट्यांकी रहे पनि जम्मा ११ केएल मट्टीतेल मात्र माग भएकोले संभव भएसम्म ७१० केएलका दुई ट्यांकीलाई पेट्रोल राख्ने ट्यांकीमा रूपान्तरण गर्ने, क्षतिग्रस्त डिजलको ट्यांकी परीक्षण गरी संभावना हेरेर इन्धन राख्न सक्ने बनाउने र आठदेखि १० हजार केएलको नयाँ ट्यांकीका लागि पनि आवश्‍क प्रक्रिया सुरु गर्ने बताए।

अहिले कञ्चनबारीमा पेट्रोलको ५६० केएल, डिजलको आठ हजार केएलभन्दा बढी र मट्टीतेल २१ सय केएलभन्दा बढीका स्टोरेज ट्यांकी छन्। आगामी २० वर्षका लागि विराटनगरमै डिपो आवश्‍यक रहेकोले मौजुदा डिपोलाई स्तरोन्नति गर्ने र झापामा नयाँ डिपो स्थापाना हुने उनले बताए। 

'इन्धनमा हडताल नगर'

मन्त्री मण्डलले निगम वा डिलर र ढुवानी व्यवसायी कसैले पनि उपभोक्तालाई मर्का पार्ने काम नगर्न आग्रह गरे। निगम, डिलर र ढुवानी व्यवसायी जनतालाई सहज इन्धन आपूर्ति गर्न सचेत हुनुपर्ने भन्दै उनले तत्काल बन्द हडतालका काम नगर्न पेट्रोलियम डिलर्स एसोसिएसनलाई आग्रह गरे। ‘जनतालाई सहज इन्धन आपूर्ति गराउनेतर्फ सचेत हुनुपर्छ, निगम, डिलर, ढुवानी व्यवसायी र उपभोक्ता कोही पनि मर्कामा पर्नुहुँदैन’, उनले भने, ‘कुनै अप्ठ्यारो आइलागेमा सहमतिबाट समाधान गरौँ, जनतालाई दुःख दिने काम नगरौँ, जनतालाई मर्का पर्ने गरी तत्काल बन्द हडताल नगर्न आग्रह गर्दछु।’

'खाद्यमा समस्या नहोस्'

नेपाल खाद्य संस्थानको कार्यालय अनुगमनको क्रममा मन्त्री मण्डलले जनतालाई कुनै पनि प्रकारको खाद्य समस्या हुन नदिन निर्देशन दिए। पटक पटक डुवान, बाढीलगायतका समस्या पर्ने उक्त क्षेत्रमा आएका खाद्य सामग्री समयमै जनतालाई उपलब्ध गराई जनमुखी सेवा दिन उनको निर्देशन थियो।

निमित्त कार्यालय प्रमुख हरिप्रसाद भण्डारीले अञ्‍चल प्रमुख नभएको र पाँचौँ तहका कर्मचारीहरूले काम चलाइरहेकाले कार्यालयमा समस्या रहेको जानकारी गराए। मन्त्री मण्डलले काठमाडौँ फर्किएपछि आफूले तत्काल कार्यालय प्रमुख पठाउन निर्देशन दिने पनि बताए।

साल्ट ट्रेडिङलाई जनतामुखी हुन निर्देशन

मन्त्री मण्डलले विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको अञ्चल कार्यालयलाई जनतामुखी र सेवामुखी हुन निर्देशन दिए। पूर्वका १६ जिल्लामा नुन, चिनी र रसायनिक मल बिक्री गर्दै आएको कर्पोरेसनलाई जनतालाई सहज ढंगले वस्तु उपलब्ध गराउन तथा सेवा प्रभावकारी र जनतामुखी छ कि छैन, अनुगमन पनि गरिरहन निर्देशन दिए।

‘पुरानो शैलीमा काम गरेर भएन, नयाँ-नयाँ तरिकाले काम गर्नुपर्‍यो’, मन्त्री मण्डलले भने, ‘नयाँ काम के गर्न सकिन्छ, फिडब्याक पनि दिनुस्, जसले जनतालाई प्रत्यक्ष लाभ हुन सकोस्।’ सो क्रममा कार्यालय प्रमुख नवीनचन्द्र झाले केन्द्रबाट उपलब्ध हुने नुन, चिनी र रसायनिक मलबाहेक आफूहरूले आल्मुनियम सल्फेटको पनि कारोबार गरिरहेका जानकारी गराए। कार्यालय भवन पुरानो भएकाले नयाँ भवनका लागि पहल गर्न कार्यालयको माग थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.