|

रुपन्देही : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरको पहिलो या दोस्रो साताभित्र  निर्वाचन गर्ने विषयमा सहमतिनजिक पुगेको बताएका छन्। माओवादी केन्द्रको प्रदेश नम्बर पाँचको भेलालाई सम्बोधन गर्न बुधबार बुटवल आएका अध्यक्ष प्रचण्डले एक/दुई दिनभित्र हुने छलफलले निर्वाचनको मिति तय गर्ने बताए।

‘मंसिरको पहिलो या दोस्रो हप्ताभित्र नै हुन्छ, एक/दुई दिन भित्रमा यसको टुंगो लाग्छ’ उनले भने। केन्द्र र प्रदेशको चुनाव एकैपटक गर्नेबारे दलहरु एकमत देखिएको भन्दै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगसँग छलफल गरेपछि त्यसको टुंगो लाग्ने बताए।

दुवै निर्वाचन एकैदिन गर्ने यस्ता छन् प्रचण्डका विकल्प

‘निर्वाचन आयोगले केही प्राविधिक र व्यवस्थापनको कुराहरुलाई देखाएर सम्भव हुन्न कि भनेको छ तर, राजनीतिक दलहरु दुवै निर्वाचन एकैदिन गर्न सम्भव छ भन्नेमा पुगेका छौं’ प्रचण्डले भने, ‘दुईटै निर्वाचन एकैपटक सम्भव छ र गर्नु पनि त्यही पर्छ, यसो गर्दा संवैधानिक अप्ठ्यारो पनि आउँदैन, मलाई लाग्छ, निर्वाचन आयोगले केही दिनमा दलहरुलाई यसबारे बोलाएर छलफल गर्छ।’

निर्वाचन आयोगले गरेको चिन्ता स्वाभाविक रहेको भन्दै उनले समाधानका उपाय यसरी बताए, ‘केन्द्रको समानुपातिक र प्रदेशको समानुपातिकको मतपत्र र बाकस एउटै बनाए हुन्छ, दुईटा राखिराख्नुपर्दैन, दुईटा र एउटा चिह्नको कुरा हो, त्यसो गर्ने हो भने उहाँहरुको आधा समस्या समाधान हुन्छ।’

दुईवटै चुनाव एकैपटक गर्दा हुने समस्याबारे धेरै विकल्पहरुबारे छलफल भएको भन्दै उनले अर्को विकल्प सुनाए, ‘अर्को छलफल पनि भएको छ तर, यसबारे टुंगोमा भने पुगिएको छैन समानुपातिकको प्रत्यक्षको मतका आधारमा गर्ने हो भने त बाकस दुईटा मात्रै राखिदिए पुगिहाल्छ। यदि अझै अप्ठ्यारो हुन्छ भने मतदाता धेरै भएका ठाउँमा दुईटा बुथ राखिदिए त भइहाल्छ, यसो गरे ५ बजेभित्र भोट हालेर सकिइहाल्छ।’

प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा माओवादीको

उनले संसदीय प्रणालीका कारण मुलुकको विकासलाई अस्तव्यस्त पारेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा माओवादीले उठाएको बताए। ‘पहिलो संविधान सभामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीबाट जानुपर्छ भन्ने विषयमा कांग्रेस, एमाले र माओवादीका बीचमा सहमति भएको थियो, तर दोस्रो संविधानसभासम्म आइपुग्दा अंकगणित फरक पर्‍यो, कांग्रेस र एमाले सहमतिबाट पछि हटे र हामीले त्यसलाई अघि बढाउन सकेनौं, उनले भने।

राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था नै उपयुक्त हुने बताउँदै दलहरुसँग यसबारे छलफल चलिराखेको बताए। ‘राजाहरुका पालामा कुनै प्रधानमन्त्रीलाई पाँच वर्षसम्म काम गर्न दिइएन, अहिले देशीविदेशी शक्तिहरुले अस्थिरता ल्याएर काम गर्न दिँदैनन्, उनले भने, ‘यसकारण अब प्रत्यक्ष निर्वाचित कार्यकारी नै उपयुक्त हुन्छ भन्नेमा हामी पुगेका छौं।’

संगठन सुधारमा लागेका छौं

संगठनको अस्तव्यस्तताका कारण माओवादीले स्थानीय चुनावमा राम्रो नतिजा ल्याउन नसकेको भन्दै प्रचण्डले माओवादी संगठन सुधारमा लागेको बताए। पार्टीलाई एकताबद्ध बनाउन बाबुराम भट्टराई, मोहन वैद्य र विप्लवलाई एकताबद्ध हुन अपिल गरिरहेको बताउँदै उनले संगठन सुधार गर्नका लागि लागिरहेको बताए।उनले अर्को एक प्रसंगमा स्थानीय तहको चुनावले चुनाब महंगो बन्दै गएको देखाएको भन्दै निर्वाचन प्रणालीबारे पनि छलफल गर्न जरुरी रहेको बताए।

‘सामान्य मध्यमवर्गले चुनाव लड्न नसक्ने अवस्था आयो, तल्लो वर्गको त कुरै नगरौं, एउटै गाउँपालिकामा चुनाव लड्न १० करोड रुपैयाँ लाग्यो भन्ने कुरा पनि आयो, उनले भने, अब यसरी त प्रदेशको चुनाव लड्न २० करोड र केन्द्रमा ४० करोड हुने भयो, यसले राजनीति गरेर मात्रै चुनाव जित्ने अवस्था नरहने भयो भनेर यसबारे पनि सोचौं भनेको छु।’ उनले चुनावको खर्चलाई लिएर प्रमुख पार्टीहरुबीच गम्भीर रुपमा छलफल गर्न आवश्यक रहेको भन्दै खर्च गर्न नपर्ने निर्वाचन प्रणाली अपनाउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.