|

  • मनोज भट्टराई-

ओखलढुंगा : अविरल वर्षाका कारण ओखलढुंगामा पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन्। पश्चिमी भूभागमा यो वर्ष लामो खडेरी पछि  परेको पानीका कारण पहिरो गएको हो। खडेरी पछिको अविरल वर्षाका कारण जिल्लाको पश्चिमी भेगका धेरै बस्ती पहिरोको उच्च जोखिममा छन्। जिल्ला सदरमुकामदेखि १८ कोसको दूरीमा पर्ने खिजीदेम्बा गाउँपालिका वडा नं. ३ खिजी चण्डेश्वरीका चार घर पहिरोको उच्च जोखिममा परेका हुन्।

चार घरमध्ये पनि धन बहादुर विकको घर उच्च जोखिममा रहेको स्थानीयको भनाइ छ। त्यस्तै, गरी हर्कबहादुर सुनुवार, कृष्ण बहादुर विक र वेद बहादुर सुनुवारका घर पनि पहिरोको जोखिममा छन्। नवनिर्वाचित वडा अध्यक्ष टंकराज सुनुवारले ती पहिरो पीडितलाई अवश्यक राहत उपलब्ध गराउनका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन्।

उनले वर्षा याममा धेरै पानी पर्ने भएकोले सबै वडाका नागरिकलाई समेत सचेत हुन आग्रह गरे। वडा अध्यक्षले आफू सदैब आम नागरिकको दु:ख सुखमा सहयात्री बन्ने प्रतिबद्धतासमेत बताएका छन्।

पहिरोको उच्च जोखिममा रहेको धन बहादुर विककी श्रीमती नीरमाया विकले श्रीमान् विदेश गएको र घरमा आफू र साना बच्चा मात्रै भएको कारणले गर्दा साह्रै दुःख भएको गुनासो गरिन्। नीरमायाले आफ्नो भएको ६ रोपनी घरबारी नै पहिरोले लागिसकेको र अब घर मात्रै बाँकी रहेकोले के खाने, कहाँ जाने, कसरी जीवन गुजारा गर्ने भन्ने चिन्ताले पिरोलिरहेको बताइन्।

घरबारी पहिरोले बगाउन थालेपछि बालबाच्चासहित वडा नं.४ का महेन्द्र बहादुर सुनुवारको कटेरोमा गएर रात बिताएको उनले सुनाइन्। पहिरोले घरबारी बगाएको खण्डमा आफूहरु सुकुम्बासी हुने चिन्ता यहाँका स्थानीयको छ। पीडा कस्तो हुन्छ भन्ने कुरा सबैमा थाहा भएको र आफूहरुलाई दिनमा भोक र रातमा निद्रा नभएको उनको  दुखेसो छ।

ओखलढुंगा जिल्लाको पश्चिमी भेगको अधिकांश बस्तीहरु भिरालो जमिनमा रहेको र बिनाशकारी भूकम्पले जमिन चिराचिरा भएका कारणले गर्दा वर्षाको समयमा बढी पानी पर्दा कुन बेला कहाँबाट पहिरो आउँछ र कहिले पहिरोमा परिने हो  खिजी चण्डेश्वरीका सामाजिक परिचालक देवीध्वज सुनुवारले बताए।

भूकम्पले गर्दा जमिनको आयु नै कमसल भएकोले सबैले सचेत हुनुपर्ने जरुरी देखिन्छ। खिजी चण्डेश्वरीका अधिकांश ठाउँहरुमा पहिरो जाने गरेको छ। यसअगाडि खिजीदेम्बाको वडा नं. १ र २ रंगनी र वडा नं. ३ चण्डेश्वरीका अधिकांश ठाउँहरुमा पहिरोले धेरै क्षति पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.