|

झिसमिसेमै पोका पन्तुरा बोकेर आफू लुटपुटिएको माटो छोड्दै थिए। आफूलाई ताते हिँडाएको बाटो पनि उसैगरी छोड्दै थिए। सयौँ मान्छेहरू प्रत्येक दिन आफू बसेको ठाउँ छाडेर अत्यन्तै पराई मुलुक भासिँदै थिए। सायद अब कहिल्यै भेट हुन नसक्ने परिस्थिति सम्झिँदै आँसु–आँसु भएर बिदाई गरिरहेका थिए। भक्कानो फुटाएर उनीहरू बिदाई ग्रहण गर्दै थिए।

सबै बिछोडका लागि तयार भइरहेको भान भइरहेको थियो। एकले अर्कालाई बिदाई गर्दै जाँदा त्यो वस्ती एक दिन पूरापूर खाली हुन अब त्यति धेरै समय लाग्ने अवस्था छैन। हामी पनि एक बिहानको झिसमिसेमा त्यो नियतिको नजिकैका प्रत्यक्षदर्शी भइरहेका थियौँ। 

बिदाई गर्नु कम्ता गाह्रो काम होइन। वातावरण निकै भावुक थियो। हामी पनि त्यही वियोगमा बिदाईको हात हल्लाउन मिसियौँ। यही पीडाका कारण मेरो कमलो मनले धेरैलाई बिदाई गर्नै सकेको छैन। यो पटक गरी दुई पटक मात्र बिदाईमा जान सकेको अवस्था हो। 

२६ वर्षको लामो संगत। एकाएक अब एक÷दुई जनासँग संयोग परे मात्र भेट हुन सक्ने तर अधिकांशसँग कहिल्यै भेट हुन नसक्ने परिस्थितिको सामना गर्नु भावुक मनका लागि सबैभन्दा ठूलो पीडा हुँदोरहेछ।

०७१ फागुन २९ गतेको बिहान कलाकार र गजलकार बहिनी विष्णुमाया तामाङको बिदाईमा म, अभय पोखरेल, मात्रिका पौडेल र भीष्म न्यौपानेको टोली दमकको बेलडाँगी शिविर पुगेको स्मरण ताजै छ। कञ्चनजंघा नाट्य समूहमार्फत् निर्माण भएको ‘दोबाटे’ टेलिशृंखलासँग जोडिएर हामी विष्णुको बिदाईमा उभिएका थियौँ। उनले हाम्रो टिममा रहेर टेलिशृंखला र प्रहसनमा काम गरेकी थिइन्। यही नाता हामीले सबभन्दा नजिकको सम्झिएर एउटा राम्रो सर्जकको दुःखपूर्ण बिदाईमा जबर्जस्ती हात हल्लाउन हामी सामेल थियौँ। 

आफूहरूले देशै गुमाउनुपरे पनि सृजना र जीवनका बारेमा सानै उमेरमा आफ्ना सन्ततिले बुझ्न पाएकोमा विष्णुकी आमाले गर्व सँगाल्नुभएको रहेछ। आफ्नो भएभरको जायजेथासहित देशै गुमाए पनि नेपालीपन र नेपाली मनले नेपालमा आर्जन गर्न पाएको चेतना अनि जिन्दगीको पाठले चाहिँ सबैथोक पाएको अनुभूति भएको रहेछ। आफ्नो देश मात्र होइन, शरण लिएको आफ्नो पुर्खाको देशसमेत छोडेर सदाका लागि अल्पिनुपर्नेसम्मको विपत्ति आइपरे पनि उनीहरू कमजोर देखिँदैनथे। रोएर आफूलाई कमजोर सम्झिनुभन्दा पनि सबथोक भोगेर बलवान् हुन उनीहरूको मनले हिम्मत जुटाएको थियो।

बिछोडको रुवावासीमा एक शब्द पनि बोल्न नसकिएला भन्ने लागेको थियो। उनीहरूका आँखाले नै हामीलाई धैर्य गर्न आग्रह गरे। यहीँको शिविरमा जन्मिएकी विष्णु त झनै रोएर के होला भन्ने लागेको थियो। तर उनले आँसु लुकाएर उल्टै हामीलाई सम्झाइन्। आफूहरूले त्यो देश पनि बुझ्ने, भोग्ने र सिक्ने हिसाबले जान लागेको अर्थमा लिइछन्। उनकी आमाले त भन्दै हुनुहुन्थ्यो, ‘नानी, हामी पछि पक्कै पनि नेपाल फर्किएर आउँछौँ नै। आखिर देशै गुमेपछि अब के नै चिन्ता लिएर भो र!’ आफ्ना सन्तानले उताको कुरा पनि भोगौँ भनेर हिम्मत जुटाएको बताउनुभयो आमाले।

सम्झिन्छु, यसअघि भूटानका थुप्रै सर्जकहरू उसैगरी पराई मुलुक बिदाई भइसकेका छन्। डिल्लीराम शर्मा आचार्य, कृष्णदास भण्डारी, गंगाराम लामिटारे, प्रताप सुब्बा, शिवलाल रिमाल, रूपनारायण पोखरेल, लीला नीशा, डीवी सारु, किरण रसाइली, भोलानाथ शिवाकोटी ‘पुरानाघरे’, भक्त घिमिरे, टीपी मिश्र, केदार उप्रेती, यतिराज बराल, प्रकाश धमला, दिलन समाल, अर्जुन प्रधान, बुद्धिमाया भुजेल, इन्द्रजीत आचार्य, रिमेन आलोक, तुम्बेहाङ लिम्बू, शेरु राई ‘उदास’, नन्दीकिशोर शिवाकोटी, ममता राई मोक्तान, खल्तीपिडीत, राजु सुब्बा, गोपाल लेप्चा, सविन शर्मा धिमाल, हेम गिरीहरू सम्झिरहेको छु। आफ्नो प्राणभन्दा प्यारो देश भूटान फर्काउनुको सट्टा एक्कासि तेस्रो मुलुक पुनर्वासको वैकल्पिक विकल्प लाद्दा उनीहरू अमेरिका, युरोपसहितका आठ मुलुकमा विलय गराइएका छन्।

बिदाईको पीडाले हो सायद, अचेल मलाई भूटानी शरणार्थी शिविर एकदमै मधुरो लाग्छ। विरक्तलाग्दो पाउँछु। उनीहरूका घरमा निशानाहरूमा घाँस मात्र होइन, रूखहरूले आफ्नो आकार आकाशतिर बढाएर यौटा इतिहास मेटाउने प्रयत्न गरिरहेका देख्दा पीडाले गहभरि आँसुआँसु पारिदिन्छ। हामीले निकै नरमाइलो अनुभूतिमा केही साथीहरूलाई मायाको चिनो थमाएर आँसुआँुसु हुँदै बिदाई ग¥यौँ। सायद कलाकारले कलाकारलाई दिन सक्ने चिज यस्तै हुँदोरहेछ। यस्तै चिजलाई अमर ठान्ने दौडमा हामी दौडिरहेका छौँ, त्यसैमा रमाइरहेका छौँ। 

सर्जक पनि त्यही खाले चिनोमा हार्दिकता र माया गाढा सम्झन्छन्। उनीहरूले पनि त्यस्तै सम्झिए। जहाँ जुन अवस्थामा रहे पनि नेपाली कला, साहित्य र सँस्कृतिलाई नबिर्सन हामीले अनुरोध ग¥यौँ। सृजनामा कोही पनि शरणार्थी हुँदैन र सर्जकलाई कुनै भूगोलको सीमाले साँघु¥याउन पनि सक्दैन भन्ने हाम्रो मान्यता हो। हामीले सोच्यौँ, कम्तिमा पनि उनीहरूमार्फत् हाम्रो पहिचान संसारभर फैलिन पायो। नेपाली सृजनाले फराकिलो हुन पायो र हाम्रो आकाश झनै फराकिलो बन्न पायो।

अब भावुक नै भइरहेर पनि त भएन। जति नै रोइकराई गरे पनि उनीहरूले आफ्नो देश फर्किन पाएनन् र आश्रय लिएको देशमा समेत पुर्खाको साइनो मात्र रह्यो। आखिर देशै गुमाइसक्नुपरेको पीडामा अरू पीडा सामान्य बन्दै जाँदारहेछन्। अब माटोले मात्रै उनीहरूको राष्ट्रियता थेग्न सकेन। अब त कला, साहित्य र सँस्कृति उनीहरूको प्रमुख राष्ट्रियता रह्यो। 

जतिजति समस्या पर्छ, त्यतित्यति यी चिजहरू उनीहरूले जोगाइरहन्छन् र बचाइरहन मद्धत पुग्छ। हामीले नजिकमा देखेको कुरा एकछिन स्मरण गरौँ। हामी नेपालमा हुने नेपालीले भन्दा भारतको दार्जिलिङमा हुने नेपालीभाषीले भानु जयन्ती, देवकोटा जयन्तीसहितका कला, साहित्य र सँस्कृतिका जयन्ती र उत्सवहरू तनमनका साथ मनाउँछन्। जति दुःख प¥यो, त्यति नै मान्छे सिर्जनशील बन्दोरहेछ। जति रित्तो भो, उसले जित्नका लागि सिंगो संसार बाँकी रहँदोरहेछ।

देश, सरकार र शासन मान्छेका लोभ र लोलुपताका उपज हुन्। आखिर यो भूगोल सबैको साझा हो भने सबै मान्छेहरू सबै भूगोलमा पुग्न सक्नुपर्छ। तर आफ्नोपनका रूपमा रहेको सबैभन्दा महत्त्वपूर्ण र ठूलो कुरा राष्ट्रियताचाहिँ जोगाउन पाउँदा मात्र मान्छे आनन्दले निदाउन सक्दोरहेछ। नत्र अरूको दुःखमा रुन र खुसीमा हाँस्न जानेका हामीले कसैले यसभन्दा उल्टो परिस्थितिमा सामेल होऊ भन्दा हामी हुन नसक्नु नै हाम्रोपन र हाम्रो राष्ट्रियता रहेछ। 

विष्णुमायाहरूको गजल, अभिनयकलाको आकाशले संसार देखोस्। महाकाव्यसहित विशिष्ट कृति दिँदै एक प्रकारले भूटानी महाकविसमेत भन्ने गरिएका डिल्लीराम शर्मा, भूटानका पहिलो नेपाली गीत संगीतका सर्जक प्रताप सुब्बा, अर्का सर्जक किरण रसाइली, किशोर शिवाकोटी, चलचित्र क्षेत्रका आशालाग्दा प्रतिभा केदार उप्रेती, चित्रकारिताका डीवी सारु, साहित्यका पुरानाघरे, भक्त घिमिरे, नाटकका दिलन समालहरू सहितलाई सृजनाले राष्ट्रियता जोगाइरहन शुभकामना।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.