|

भक्तपुरः केही वर्षअघिसम्म ओझेलमा रहेको भक्तपुरको दक्षिण–पूर्वमा रहेको आशापुरेश्वर (आशापुरी) महादेव मन्दिरमा भक्तजनको ओइरो लाग्न थालेको छ। विशेषगरी डोलेश्वरको प्रसिद्धी तथा जगाती–डोलेश्वर–आशापुरी सडक बिस्तार र कालोपत्रे भएसँगै आशापुरी महादेवमा अहिले दैनिक सयौँको संख्यामा भक्तजन आउन थालेका छन्।

सूर्यविनायक नगरपालिका– ८, सिपाडोलस्थित डोलेश्वर महादेवलाई २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि डोलेश्वरको प्रसिद्धी बढ्दै गएको छ। डोलेश्वरको प्रसिद्धीसँगै त्यहाँ भक्तजनको ओइरो लागेको छ भने त्यहाँ आएका भक्तजनहरू डोलेश्वरबाट चार किलोमिटर दूरीको आशापुरीसम्म आउन थालेपछि आशापुरीको पनि प्रसिद्धी चुलिएको छ। 

कुनै बेला सुनसान रहने आशापुरीमा अहिले दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरसँगै पूजा सामग्री बेच्दै आएकी कान्छी तामाङ बताउँछिन्। अझ साउनको सोमबार हजारौँ भक्तजन आउने गरेको उनले जानकारी दिइन्।

आशापुरी महादेव भक्तपुर र काभे्रको सिमानामा पर्दछ। सूर्यविनायक नगरपालिका– ८ मा पर्ने आशापुरी भक्तपुरको जगाती चोकबाट १० किलोमिटर दूरीमा पर्दछ। आशापुरी महादेव पुग्न जगाती चोकबाट सवारी साधनमा आधा घण्टा र पैदल हिँड्दा करिव दुई घण्टा लाग्दछ। त्यसो त आशापुरी जाने पहिलेको मुख्य बाटो काभ्रेको साँगाचोकबाट दक्षिणतर्फको बाटो हो। साँगा, मगरगाउँ खाल्चोक हुँदै आशापुरी पुग्ने सो बाटो स्तरोन्नति नहुँदा अप्ठ्यारो र असजिलो भएको स्थानीय राम तामाङले बताए। 

साँगा–आशापुरी सडक स्तरोन्नति नहुँदा काभ्रेका बनेपा, पनौती, धुलिखेललगायत रामेछाप, सिन्धुली, सिन्धुपाल्चोकका भक्तजनसमेत जगाती–डोलेश्वर हुँदै आउने गरेका छन्। पैदल आउनेहरू भने साँगाबाटै आउने गरेको तामाङले बताए। मन्दिर क्षेत्र भक्तपुरमा र सडक काभ्रे जिल्लामा भएकाले पनि साँगा–आशापुरी सडकको स्तरोन्नति नभएको उनको भनाइ छ।

आशापुरी महादेव नैचाल र काँक्रेबारी गरी दुई नदीको संगमस्थलमा रहेको छ। चारैतिर पहाडले घेरिएको यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय स्थलको रूपमा रहेको छ। मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ। मन्दिरभित्र विराजमान आशापुरेश्वर महादेवको शिवलिङ्ग सानो कालो पत्थरको अति सुन्दर देखिन्छ। शिवलिङ्ग वरिपरि बेरेर राखेको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षक बनाएको छ। 

मुख्य मन्दिर वरिपरि गणेशलगायतका विभिन्न देवी देवताका मूर्तिहरू प्रतिस्थापन गरिएको छ। मन्दिरको ठीक अगाडि उत्तरतर्फ फर्किएका पञ्चमुखी धारा (पाँचवटा ढुंगेधारा) रहेका छन्। त्यहाँ २४सै घण्टा कलकल ध्वनिका साथ पानी बग्ने गर्दछ। 

आशापुरीमा परम्परागत रूपमा, विषेशगरी धान्य पूर्णिमा (कार्तिक पूर्णिमा) र माघे संक्रान्तिका दिन मेला लाग्ने गर्दछ। धान्य पूर्णिमाको अवसरमा भक्तपुरका स्थानीय नेवार समुदाय आशापुरीमा मेला भर्न आउने गर्दछन् भने पुस मसान्तको दिन स्थानीय र मन्दिर वरपरका विभिन्न गाउँका बासिन्दा रातभर जाग्रम बसी मादी (निगालोमा कपास बेरेर केराको थाममा गाडेर बाल्ने विशेष प्रकारको बत्ती) बालेर नाचगान गर्ने र माघे संक्रान्तिका दिन महादेवको दर्शन गरी मेला भर्ने गर्दछन्।

मन्दिरको प्रसिद्धी र भक्तजनको ओइरोसँगै आशापुरी क्षेत्रमा भौतिक पूर्वाधारको समेत विकास र बिस्तार हुन थालेको छ। मन्दिर वरपरका पुराना सत्तल तथा पाटीहरूको मर्मत तथा पुनर्निर्माण भएकोे छ। सुरक्षाको लागि अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ। मन्दिरमा व्यवस्थित पूजा पाठका लागि श्री आशापुरेश्वर महादेव मन्दिर संरक्षण समिति गठन गरिएको छ। हाल सोही समितिले मन्दिरको व्यवस्थापन, नियमित पूजापाठ, मन्दिर वरपरको भौतिक पूर्वाधारहरूको विकास र बिस्तारका कार्य गरिरहेको समितिका अध्यक्ष टुल्कु लामाले जानकारी दिए।

आशापुरी महादेवको वास्तविक नाम आशापुरेश्वर महादेव हो। आशापुरेश्वरबाट अप्रभंश भई बोलिचालीमा आशापुरी हुन गएको इतिहासकार तथा संस्कृतिविद पुरुषोत्तमलोचन श्रेष्ठले बताए। विशेषगरी मनले चिताएको इच्छा, आकांक्षा पूरा गर्ने महादेव भएकाले नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती पाइने समितिका सदस्य ठूलो कान्छा तामाङले बताए। उनले आशापुरेश्वरमा विशेषगरी सन्तान सुख र छोरा नभएकाहरूले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने गरेको बताए।

समितिले केही समयअघि भागवत पुराण सञ्चालन गर्दै आर्थिक सहयोग संकलन गरेको र सो संकलित रकम र जिल्ला विकास समितिलगायतका निकायबाट प्राप्त सहयोगसमेतबाट मन्दिर वरपरको भौतिक पूर्वाधार विकास गरिएको तामाङले बताए। 

मन्दिरमा काभ्रे भैँसेपाटी बासटोलका सत्यालहरू र भक्तपुर कटुञ्जेका अधिकारी थरका पुजारी रहेका छन्। मन्दिरको भेटीघाटीको सम्बन्धमा समितिले साउन महिनाको मेलामा उठेको रकमको एक तिहाई पुजारीलाई दिने र दुई तिहाई समितिको नाममा राख्ने गरेको छ। अन्य समयको भेटीघाटी भने पुजारीले लिने व्यवस्था गरिएको छ।

भक्तजनले चढाएको भेटीघाटीबाहेक मन्दिरको कुनै नियमित आयस्रोत छैन। मन्दिरको नाममा कुनै गुठी र खान्कीको व्यवस्था नभएको समितिका सदस्य ठूलो कान्छा तामाङले बताए। नियमित आयस्रोत नहुँदा मन्दिर परिसरमा भनेजस्तो पूर्वाधार विकाससमेत गर्न नसकिएको उनको गुनासो छ। विशेषगरी भक्तजनहरू बस्ने पाटी पौवाको व्यवस्था नहुँदा वर्षा र गर्मीको समयमा भक्तजनहरूलाई असजिलो हुने गरेको उनले बताए। 

जगाती–डोलेश्वर–आशापुरी सडक कालोपत्रे भए पनि यहाँ अहिलेसम्म सार्वजनिक यातायात सञ्चालनमा आउन सकेको छैन। मन्दिरसम्म सार्वजनिक यातायात चलाउन सके मन्दिरको प्रसिद्धीमा थप वृद्धि हुने उनले बताए। सार्वजनिक यातायात सञ्चालनका लागि भक्तपुर मिनी बस सेवा समितिसँग पटक पटक अनुरोध गरे पनि नैचाल भञ्ज्याङको ठाडो उकालो र साँघुरो बाटोका कारण संभव हुन नसकेको उनको भनाइ छ।

उनले मन्दिर परिसरमा भक्तजनका लागि अझै पनि सार्वजनिक शौचालयको बन्दोबस्त गर्न नसकिएको जानकारी दिँदै मन्दिर परिसरमा आवश्यकताअनुसार सार्वजनिक जग्गा नभएकाले पनि भौतिक पूर्वाधार विकासमा समस्या भएको बताए।

आशापुरी महादेव धार्मिक र साँस्कृतिक दृष्टिले डोलेश्वरभन्दा बढी महत्त्वको भएको इतिहास तथा संस्कृतिविद् श्रेष्ठले जानकारी दिए। उनका अनुसार आशापुरी महादेव लिच्छवीकालीन मन्दिर हो। शिव पुराणमा वर्णन गरिएका ६४ वटा शिवलिङ्गमध्ये आशापुरी एक भएको उनको भनाइ छ। 

साउन महिनामा हिन्दू नारीहरू महादेवको विशेष पूजा अर्चना गर्ने गर्दछन्। सधैँ पशुपतिको दर्शनमा रमाउने महिला भक्तजनहरूको पछिल्लो समय डोलेश्वर र भक्तपुरकै चित्तापोलमा रहेको अग्लो महादेव मन्दिरमा आकर्षण बढेको छ। यससँगै धार्मिक हिसाबले डोलेश्वरभन्दा बढी महत्त्व भएर पनि ओझेलमा पर्दै आएको आशापुरी महादेवको समेत दिन प्रतिदिन प्रसिद्धी बढ्दै गएको स्थानीय बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.