राजनीतिक विषयमा दिएनन् जवाफ

|

काठमाडौं : बुधबार दिउँसो २ बजे भक्तपुरस्थित नागरिक सामुदायिक अस्पतालमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पत्रकार सम्मेलन गर्ने सूचना एकदिनअघि नै उनको प्रचार विभागले मिडियाहरूलाई दिएको थियो। तर विषय भने खुलाइएको थिएन। तोकिएको समयमा अस्पताल पुगेका पत्रकारहरूमा भट्टराईले के बोल्न लागे भन्ने चासो थियो। 

पत्रकार सम्मेलनको सुरुमै अस्पतालले गत शुक्रबारदेखि उपचाररत डा. भट्टराई डिस्चार्ज हुने भएकोले पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिइयो। अस्पतालले जारी गरेको विज्ञप्तिमा डा. भट्टराईको प्रोस्टेटको शल्यक्रिया आधुनिक टीयूआरपी प्रविधिबाट शुक्रबार साँझ सफल रुपमा सम्पन्न भएको उल्लेख छ।

शल्यक्रियाको नेतृत्व गरेका डा. राकेशकुमार वर्माले एक वर्षयता प्रोस्टेटको उपचार गराइरहेका भट्टराईलाई निको नभएपछि गत शुक्रबार शल्यक्रिया गरिएको बताए। भट्टराईले अझै दुई हप्ता आराम गर्नुपर्ने डा. वर्माले जानकारी दिए।

यसरी पत्ता लाग्यो डा. भट्टराईको प्रोस्टेट

बुढेसकालमा पुरुषलाई पिसाब ग्रन्थीमा समस्या हुने रोगलाई प्रोस्टेट भनिन्छ। डा. भट्टराईलाई पनि छिटोछिटो पिसाब फेर्नुपर्ने, पिसाब पोल्ने समस्या देखिएको डा. वर्माले बताए।

आकस्मिक रुपमा प्रोस्टेट ग्रन्थीको समस्या देखिएको डा. भट्टाराईले बताए। 'म गत वर्ष एउटा कार्यक्रममा नगरकोट गएको थिएँ। त्यहाँ फुड प्वाइजन भएछ, यहाँ ल्याइयो', उनले भने, 'फुड पोइजनिङ भएका बढीजसो यहाँ ल्याउँदा रहेछन्। त्यही भएर म यहाँ आइपुगेँ। डाक्टर साब (डा. राकेशकुमार वर्मा) बारे सुनेको पनि थिएँ। यहाँ आउँदा उहाँले नै पहिचान गर्नुभयो।' 

आफूलाई अनुशरण गर्न भट्टराईको आग्रह

छैठौं दिन अस्पतालबाट डिस्चार्ज भएका भट्टराईले नेताहरूले नेपालमा सम्भव हुने उपचार यहीँ गर्नुपर्ने बताए। जनता र नेता सबैको स्वास्थ्य एउटै भएको तर्क गर्दै उनले नेपालमै उपचार गर्नुपर्नेमा जोड दिए। नेपालमा दक्ष चिकित्सक र प्रविधियुक्त अस्पताल भएकोले यहाँ सम्भव उपचार गर्न विदेश जान नहुने उनको भनाइ छ।

'हाम्रा अस्पतालहरूमा अत्याधुनिक प्रविधि छन्, नेपालमै सबै सेवा सुविधा उपलब्ध छन्। तर त्यसको पनि उपयोग गर्न नजानेर हामी विदेशमा गएर दशौं बिसौं गुणा बढी खर्च गर्छौं', उनले भने, 'आफ्नै देशमा बसेर सेवा प्राप्त गर्ने उपचार गर्ने त्यो हिम्मत हामी गर्दैनौँ।'

आफूप्रति आत्मविश्वास नहुँदा तथा फोस्रो आडम्बरका कारण नेताहरू विदेश उपचार गर्न जाने गरेको भट्टराईको भनाइ थियो। 'हामी आफ्नो देशलाई भन्दा विदेशीलाई बढी महान ठान्ने हिनताबोधबाट ग्रसित छौं, त्यो कारणले गर्दा पनि विदेश जाने परम्परा छ। त्यसलाई तोड्नुपर्छ भन्ने मेरो मान्यता हो।'

कति भयो खर्च? कसले बेहोर्छ?

डा. बाबुराम भट्टराईले नागरिक सामुदायिक अस्पतालमा प्रोस्टेट ग्रन्थीको शल्यक्रियामा नेपालकै ठूला अस्पतालको भन्दा थोरैमा उपचार भएको बताए। उनले भने, 'यस (शल्यक्रिया) को खर्च ६५ हजार लागेको छ। औषधीमा २० हजार लागेको छ। मैले बुझे अनुसार अरु ठूला हस्पिटलमा यो भन्दा डबल खर्च लाग्छ।' 

भट्टराईले उपचार खर्च आफै बेहोर्ने बताए। उनले भने, 'यो म आफै बेहोर्छु। मैले सरकारबाट १ रुपैयाँ पनि आजसम्म सांसद वा प्रधानमन्त्री भएको बेला सरकारी कोषबाट लिएको छैन।'

राजनीतिक प्रश्नको जवाफ दिएनन्

उपचारका लागि ६ दिन अस्पताल बसेका भट्टराईले यसबीच मंगलबार पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बुधबार पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए। मंगलबार आधा घण्टा 'वन टु वन' वार्ता गरेपछि प्रचण्डले भनेका थिए- 'डा. भट्टराईसँगको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाँ छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ।' 

तर भट्टराईले भने भेटमा के कुरा भयो भन्ने बारे बताउन चाहेनन्। 'हिजो प्रचण्डजी र आज केपी शर्मा ओलीजीसँग कुरा भएको थियो। उहाँहरु दुबैजना मेरा अनन्य मित्र हुनुहुन्छ', उनको जवाफ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.