|
काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य। फाइल फोटोः दिपक केसी

काठमाडौँ : मुलुकका अन्य महानगरप्रमुखले पुरानै गाडीले काम चलाइरहेका बेला काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य एक करोड २० लाख रुपैयाँ मूल्य पर्ने टोयोटाको फर्च्युनर गाडीको पर्खाइमा छन्। गाडी खरिदमा मात्रै काठमाडौं महानगरपालिकाले सात करोड रुपैयाँ विनियोजन गरेको छ।

काठमाडौँ महागनरपालिकाले उपप्रमुख हरिप्रभा खड्गीका लागि ८६ लाख रुपैयाँ पर्ने गाडी खरिद गर्दै छ। काठमाडौँ महागरपालिकाले प्रमुख र उपप्रमुखको गाडी खरिदका लागि दुई करोड रुपैयाँ खर्च गरिरहँदा देशका चारवटा महानगरपालिकाका प्रमुख भने पुरानै गाडीमा काम चलाइरहेका छन्।

काठमाडौँ महानगरपालिकाले गाडी खरिदमा दुई करोड रुपैयाँ खर्च गर्दै गर्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन पुरानो टोयोटा गाडी चढिरहेका छन्। ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ३५ लाख रुपैयाँ पर्ने गाडी चढिरहेको बताए। ललितपुर महानगरपालिकाको गाडी किन्ने कुनै योजना नरहेको प्रवक्ताको भनाइ छ। 'प्रमुखले चढ्ने गाडीको मूल्य ३५ लाख हो, मर्मत सम्भार गर्दा राम्रैसँग चलिरहेको छ', उनले भने, 'महानगरपालिकाको गाडी किन्ने कुनै योजना छैन।'

ललितपुरको जस्तै भरतपुर, पोखरा र विराटनगर महानगरपालिका प्रमुखहरूले पनि गाडी किन्ने योजना बनाएका छैनन्। उनीहरू पुरानै सवारी साधनमा काम चलाइरहेका छन्।

भरतपुर, पोखरा र विराटनगरका प्रमुख तथा उपप्रमुखले पुरानै गाडी चढिरहेका छन्। हालसम्म उनीहरूले नयाँ गाडी किन्ने निर्णय गराएका छैनन् । रेणु दाहाललाई भरतपुर महानगरपालिकाले प्राडो उपलब्ध गराएको छ। भरतपुर महानगरपालिकाले दुई वर्षअघि सो गाडी खरिद गरेको थियो।

यता, पोखरा महानगरापलिकाका प्रमुख मानबहादुर जीसीले पनि महानगरपालिकाले पहिले नै खरिद गरेको ल्यान्ड क्रुजर चढिरहेका छन्। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई महानगरपालिकाले नयाँ गाडी उपलब्ध गराए पनि पुरानै गाडीले काम चलाइरहेका छन्।

चर्को आलोचना

जनप्रतिनिधि चढ्नका लागि गतिलो सवारी साधन हुँदासमेत पुन: दुई करोड रुपैयाँ खर्च गर्न थालेपछि काठमाडौँ महानगरपालिका प्रमुखको चर्को आलोचना भएको छ। विकासका काम छाडेर विलासी शैली अपनाउन थालेको भन्दै सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य भने आफूहरू विलासी नभएको बताउँछन्। महानगरपालिकाले आफूहरू निर्वाचित हुनुभन्दा पहिले नै गाडी खरिद प्रक्रिया अघि बढाएकाले अहिले त्यसको दोष आफूलाई दिन नमिल्ने उनको भनाइ छ। 'हामी आउनुभन्दा पहिलेदेखि नै काठमाडौँ महानगरपालिकाले प्रमुखकै लागि गाडी खरिद प्रक्रिया अघि बढाएको हो', उनले भने, 'अहिले हामीसँग जोड्ने कुरा गलत हो, हामी विलासी होइनौँ।'

यसअघि काठमाडौँ महानगरपालिकाको असार २६ गते बसेको दोस्रो बोर्डको बैठकले प्रमुख, उपप्रमुख र नगरपालिका सदस्यलाई मोबाइल किन्ने निर्णय गरेको थियो। आलोचनाका बाबजुद महानगरपालिकाले निर्णय कार्यान्वय गरी छाड्यो।

अन्य महागरपालिकाका प्रमुख भन्छन्: विलासिताभन्दा विकासमा जोड दिनुपर्छ

मोबाइल र महँगा गाडी खरिद गर्दै विलासितापूर्ण शैलीमा काठमाडौँ महानगरपालिका अघि बढिरहेका बेला अन्य महानगर प्रमुखले भने विलासिताभन्दा विकासमा केन्द्रित हुनुपर्ने बताएका छन्। जनताका समस्या समाधानको प्रतिबद्धता गर्दै निर्वाचित भएपछि विकास छाडेर विलासिता रोज्ने काम गलत भएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन बताउँछन्।

'जनप्रतिनिधिको जिम्मेवारी जनताको समस्या समाधान र आवश्यक पूर्वाधार निर्माण हो', महर्जनले भने, 'त्यसलाई बिर्सिएर विलासितार्फ केन्द्रित हुने कुरा सुहाउँदैन, सरल र मितव्ययी हुनु हाम्रो कर्तव्य हो।'

यस्तै, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली जनप्रतिनिधिले आफ्नो भन्दा जनताको सुविधामा केन्द्रित हुनुपर्ने बताउँछन्। 'जनताले हामीलाई उनीहरूलाई सुविधा पुर्‍याउने आशले निर्वाचित गरेका हुन्', पराजुलीले भने, 'उनीहरूको आशालाई पूरा गर्नुको सट्टा आफैँ सुविधामुखी हुने कुरा सुहाउँदैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट