|

रुपन्देही : भारतबाट सामान आयात हुने प्रमुख नाकामध्ये एक रुपन्देहीको बेलहिया नाकामा भारतीय पक्षले चेकजाँच कडा बनाएपछि आयात–निर्यात प्रभावित भएको छ। सुरक्षा सतर्कताका नाममा भारतीय सशस्त्र बलले दुई सातादेखि चेकजाँच कडा पारेको हो। 

भारतीय अर्धसैनिक बल एसएसबीले चेकजाँचका नाममा पैदलयात्री, सवारी साधन र मालवाहक गाडीको खानतलासी पहिलेको तुलनामा बढाएको छ। भैरहवा भन्सार कार्यालयका अधिकारीहरुका विगतमा ५ मिनेटमा एउटा गाडी जाँच गर्ने भारतीय सुरक्षाकर्मीले अहिले एउटा गाडी चेक गर्न ३० मिनेट लगाउँछन्। त्यसैकारण नेपाल–भारत सीमामा सयौं गाडी रोकिएका छन्।

भारतीय सुरक्षा अधिकारीहरुले १५ अगस्तको भारतको स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर सुरक्षामा केही कडाई गर्नुपरेको जानकारी नेपाली सुरक्षा अधिकारीलाई गराएका छन्। तर अस्वभाविक रुपमा भएको अवरोधले नाकाबन्दीको झल्को दिएको व्यवसायीहरुले बताएका छन्।

चेकजाँचका नाममा सामान लोड गर्न भारत हिंडेका रित्ता गाडीलाई समेत अनावश्यक रुपमा चेकजाँच गरेर दुःख दिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माले बताए। 

विराटनगर, नेपालगञ्ज, कृष्णनगर लगायतका नाकाबाट सहज आपूर्ति भइरहेको भएपनि रुपन्देहीको बेलहिया नाकामा भारतीय पक्षले गरेको अवरोधले शंका उत्पन्न गराएको उनले बताए।

भैरहवा भन्सार कार्यालयका प्रवक्ता गोपाल भट्टराईका अनुसार सामान्य अवस्थामा दैनिक ३ सयदेखि ४ सयसम्म मालवाहक गाडी नेपाल आउने गरेका थिए। तर अहिले चेकजाँच कडा भएका कारण दैनिक २ सय गाडी मात्रै भित्रन्छन्। जसका कारण भन्सार कार्यालयले दैनिक असुली गर्दै आएको औसत २० करोड रुपैयाँ राजस्व १५ करोडमा झरेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नाकामा भारतीय पक्षले गरेको कडाईका बारेमा छलफल भइरहेको बताए। उनले अवस्था सहज बनाउने आश्वासन भारतीय अधिकारीहरुले दिएको बताए।

भारतीय सञ्चारमाध्यमहरुले नेपालको बाटो भएर आतंकवादीहरु भारत प्रवेश गर्न लागेको भन्दै समाचार सम्प्रेषण गर्दै आएका छन्। सोही समाचारका कारण पनि भारतीय सुरक्षा अधिकारीहरुले नाकामा कडाई गरेको व्यवसायीहरुले अनुमान गरेका छन्। 

रुपन्देहीका व्यवसायीले गरे नाका खोल्न माग

नाकामा अवरोध भएपछि रुपन्देहीका व्यवसायीहरुले भारतको नौतनवास्थित एसएसबीका सुरक्षा निकाय प्रमुखसँग भेटेका छन्। 

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठको नेतृत्वको टोलीले एसएसबी कमाण्डेट शिव दयाललाई भेटेर नाकाको अवरोधका बारेमा जानकारी गरायो। उनीहरुले नाका सहज बनाउन आग्रह गरे।

नेपाली व्यवसायीसँगको भेटमा कमाण्डेट दयालले भारतीय स्वतन्त्रता दिवसको दिनसम्म सुरक्षा चेकजाँच खुकुलो पार्न नसकिने बताए। ‘अगष्ट १५ गतेसम्मलाई यस्तै सही दिनुहोला, त्यसपछि समाधान हुनेछ। भएन भने फेरि बसेर छलफल गरौंला,' दयालको भनाई उद्र्त गर्दै सिद्धार्थ नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा भन्सार एजेण्ट संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. शान्तकुमार शर्माले भने।

भारतीय कडा चेकजाँचले आयातमा भन्दा खाली गाडी र नेपाल वस्तु निर्यातमा कठिनाई भएको छ। बेलहिया भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले आयातमाभन्दा सामान लोड गर्न जाने गाडीहरु निकास हुन नपाएको बताए। ‘भारतमा जिएसटी लागू हुदा कम सामान सामान आयात भयो, उनले भने–‘अहिले भारतीय सुरक्षाकर्मीको चेकजाँचले प्रभाव छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.