|

  • अनिल खत्री-

गुल्मीः मुसिकोट नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन गरी पाँच प्रकारका कार्यक्रमहरू चालु आर्थिक वर्षका लागि सार्वजनिक गरिएको हो।

आर्थिक विकासमा टोल वस्ती सुधार कार्यक्रममार्फत गरिवी र पछौटेपन, असुरक्षित र अव्यवस्थित आवास र गल्ली सुरक्षित र व्यवस्थित एवं आकर्षक बनाउन सम्बन्धित वस्तीका बासिन्दालाई समूहगत विकास गर्न अनुदान दिने योजना बनाइएको छ। यसरी नै कफी, फलफूल, पशुपालन, तरकारी खेतीलगायतमा अनुदानको व्यवस्था, उद्यमशिलता, गरिवी निवारण, रोजगारी सिर्जना, घरेलु उद्योग संरक्षण, प्रवर्द्धन गर्नेलगायतका योजनाहरू अगाडि सारिएको छ।

सामाजिक विकासअन्तर्गत नगरपालिकाभित्र सुरक्षित र व्यवस्थित खानेपानीका लागि एक घर एक धाराको व्यवस्था, दलित एवं आदिवासी जनजातिहरूमा रहेको परंपरागत व्यवसाय तथा सीपलाई समयानुकूल स्तरवृद्धि, गुणस्तरीय शिक्षा, तालिम वा प्राविधिक सीप उपलब्ध गराउने, बेरोजगारी समस्या न्यूनीकरण, स्तरीय स्वास्थ्य सेवा, कुपोषण, महामारी र जटिल बिरामीमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, लैङ्गिक विभेद अन्त्य गर्न पहल गर्ने, बालबालिकालाई बालउद्यान, जेष्ठ नागरिकहरूलाई सम्मान पनि योजनामा उल्लेख छ।

प्रत्येक वडामा खेल मैदान, अपाङ्गता सुरक्षा, नागरिकको शान्ति सुरक्षा, प्राकृतिक प्रकोपवाट पीडित परिवारलाई तत्काल आपतकालीन राहत, घरेलु हिंसा अन्त्य, नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था, नगरपालिकाको समृद्धि एवं विकासको लागि कृषि क्षेत्र, सडक शहरीकरण, पर्यटनलगायतमा क्षेत्रगत गुरुयोजना निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यसैगरी पूर्वाधार विकासमा नगरपालिकाका प्रत्येक वडामा सडक सञ्जाल, प्रत्येक वडामा कालोपत्रे सडकको पहुँच, पदमार्गहरूको डिजाइन, मोटर बाटो सञ्चालनमा ल्याउन लेन्थ वर्करहरूको व्यवस्था, सिँचाइ कुलो निर्माण र मर्मत, उज्यालो नगरपालिका बनाउने, नगरपालिकाभित्रका नदीनाला, खोला र मूलहरूको बहुउपयोग, मुसिकोट दरबार, मालिका, सालिमे र कफी उद्गम क्षेत्र आँपचौरलाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न कार्यहरू गर्ने तथा खरका छानामुक्त शहर निर्माणका लागि आवश्यक व्यवस्था गरिने भएको छ।

वन वातावरण तथा विपद् व्यवस्थापनअन्तर्गत वातावरण संरक्षणमा अनुदान/सहयोग उपलब्ध गराउने, नगरपालिकाको सहरी सौन्दर्य कायम गर्न फोहोरमैलाको उचित व्यवस्थापन, वन जंगलको उचित संरक्षण, संभावित विपद्मा उद्धार, राहत र पुनःस्थापनाको नीति लिइने भएको छ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त बनाउने, नगरपालिकाका कार्यकारी, जनप्रतिनिधि एवं कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने, बजेट तथा कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता ल्याउने, कार्यालयहरूमा नागरिक वडापत्र, सूचना पाटी र उजुरी पेटिकाको व्यवस्था गर्ने, राष्ट्र सेवक कर्मचारीका लागि उचित प्रोत्साहन, वित्तीय पारदर्शिता कायम, बजेट तथा कार्यक्रमको प्रभावकारी अनुगमन, मूल्याङ्कनको व्यवस्था गरिनेलगायत ४६ वटा नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याइने जनाइएको छ।

नगरसभाका सभासद नरेशराज खरेलले नगरपालिकाको कार्यकारी अधिकार प्रयोग सन्दर्भमा नगरपालिकालाई आवश्यक पर्ने नियमावली, निर्देशिका, कार्यविधि तर्जुमा गरी जारी गर्ने अधिकार नगर कार्यपालिकालाई प्रत्यायोजन गरियोस् भनी सदनमा पेस गरेको प्रस्ताव बहुमतले पारित भएको थियो।

त्यसैगरी आर्थिक संयोजक प्रकाश काफ्लेले कर्मचारी आचारसंहिता, २०७४ विधेयक सदनमा प्रस्तुत गरेका थिए। सो विधेयक पनि सर्वसम्मतिमा पारित भएको थियो। कार्यक्रममा मुसिकोटमा क्रियाशील राजनीतिक दल, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार, सुरक्षाकर्मीलगायतको उपस्थिति थियो।

यसैबीच नगरपालिकाले बिहीबार बजेट पेस गर्ने भएको छ। बिहीबार बिहान ११ बजेबाट बजेट पेसको कार्यक्रम रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.