|

गुल्मी : गुल्मीमा लैङ्गिक हिंसाका घटनामा कमी आएको छ। आर्थिक वर्ष २०७२/०७३ भन्दा आव २०७३/०७४ मा यस्ता घटनामा कमी आएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कअनुसार अघिल्लो आवमा १३४ घटना प्रहरीकोमा आएका थिए, गएको आर्थिक वर्ष जम्मा ९५ वटा घटनाको उजुरी आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

आव २०७२/०७३ का १२१ घटनामा मिलापत्र भएको थियो। ११ जना अदालत गए भने बाँकी दुई विपक्षी फरार रहेको तथा निवेदकले वास्ता नगरेको जिप्रका गुल्मीको तथ्याङ्कमा उल्लेख छ। २०७२/०७३ मा भने ५१ घटनाको मिलापत्र भएको तथा १८ जना अदालत गएको प्रहरी उपरीक्षक नेपालले जानकारी दिए। २६ घटनाका आरोपी फरार तथा निवेदकले बेवास्ता गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

चालु आर्थिक वर्षको पहिलो महिना जारी रहँदा ३ वटा यस्ता उजुरी प्रहरीकोमा परेको छ। त्यसमध्ये २ उजुरीमाथि छलफल गरी मिलापत्र गराइएको मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए।

यसरी पर्ने उजुरीहरुमा प्रायः श्रीमानले खान/लाउन नदिएको, रक्सी सेवन गरी कुटपिट गरेको, धनसम्पत्ति लिई श्रीमती अर्कैसँग हिँडेको, माइत बसेको लगायतका गुनासो रहने गरेका छन्। लैङ्गिक हिंसाका घटनामा पुरुष हिंसाका घटनाहरु समेत प्रहरीकोमा आउने गरेका छन्। निवेदन परेपछि प्रायः सम्बन्धविच्छेदमा गएर टुंगिने गरेको छ। केही अदालत जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.