संयोजकमा एमालेका बर्मा र सहसंयोजकमा माओवादीकी अधिकारी निर्वाचित

|

  • बुद्धकुमार आछामी-

सिन्धुली : जिल्ला समन्वय समितिको बुधबार भएको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेदवारहरु विजयी भएका छन्। संयोजकमा नेकपा एमालेका शंकरराज बर्मा र संह–संयोजकमा नेकपा माओवादी केन्द्रकी सम्झना अधिकारी दनुवार विजयी भएकी हुन्।

त्यस्तै सदस्यहरुमा पनि एमाले-माओवादी गठबन्धकै उमेदवारहरु विजयी भएका छन्। नेकपा एमालेको तर्फबाट गंगा कार्की, बिन्दा परियार र ऐमान तामाङ्ग सदस्यमा विजयी भएका छन भने नेकपा माओवादी केन्द्रबाट भगवती पुलामी, तेजवहादुर सुनुवार, अमृत वाइवा र चित्र बुढाथोकी (सन्तोष) विजयी भएका छन्। निर्वाचनमा जम्मा खसेको १८ मतमध्ये विजयी सवैले १३/१३ मत प्राप्त गरेका छन्।

जिल्लाका ९ वटा स्थानीय तह मध्ये ३/३ वटा स्थानीय तह जितेका कांग्रेस, एमाले र माओवादी केन्द्रले जिल्ला समन्वय समिति एकलौटी बनाउन सक्ने अवस्था नरहेपछि दुई पार्टी एमाले र माओवादीबीच गठबन्धन बनेको थियो।

पहिलो चरणमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ९ सदस्यीय समन्वय समितिमा ६  र ३ सदस्यको भागवण्डा गर्ने लिखित सहमति बनेको थियो। तर माओवादी केन्द्रले संयोजक पद आफूले पाउनुपर्ने दाबी गरेपछि उक्त सहमतिलाई तोड्दै नेपाली कांग्रेसले नेकपा एमालेसँग सहमति गर्न पुगेको थियो। कांग्रेस र एमालेको सहमति अनुसार संयोजक पद नेपाली कांग्रेसले लिने र सह–संयोजक सहित ८ सदस्य नेकपा एमालेले लिने लिखित सहमतिमा हस्ताक्षर भएको थियो।

साउन ११ गते भएको उक्त लिखित सहमति साउन १८ गते रातिसम्म आउँदा तोडिएर पुन नेकपा एमाले र माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति बनेको थियो। सोही लिखित सहमति अनुसार नेकपा एमाले र माओवादी केन्द्रले शुक्रबार समन्वय समितिमा संयुक्त मनोनयन दर्ता गराएका थिए।

कांग्रेसको तर्फबाट संयोजकमा सम्भु राउत, सह–संयोजकमा दीपा बैजु र सदस्यहरुमा पूर्णराज गिरी, लोकबहादुर थापा, अर्जुन कोइराला, सम्झना रोक्का, बिमला विसंखेले ५ मत प्राप्त गरी पराजित भएका छन्।

को हुन् संयोजक बर्मा?

२०२२ सालमा जन्मिएका बर्मा २०३६ सालदेखि अनेरास्ववियू एकताको पाँचौमा आवद्ध भई राजनैतिक यात्रा सुरु गरेका थिए। बीए बीएडसम्मको अध्ययन गरेका बर्माले स्थानीय विद्यालयमा २ वर्ष निशुल्क अध्यापन समेत गरेका थिए।

२०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट तत्कालिन निपाने गाविसमा अध्यक्षमा निर्वाचित भएका बर्मा २०५४ सालमा जिल्ला विकास समिति सदस्य भएका थिए।

नेकपा एमालेको जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेका बर्मा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट दूधौली नगरपालिका वडा नं.३ मा सदस्य पदमा ६२६ मत प्राप्त गरेर विजयी भएका थिए। बुधबार उनी जिल्ला समन्वय समिति, सिन्धुलीको संयोजक पदमा १३ मत प्राप्त गरी विजयी भएका छन्।

को हुन् सह–संयोजक अधिकारी?

२०३५ सालमा जन्मिएकी अधिकारी नेकपा माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष पदमा क्रियाशील थिइन्। २०७४ को स्थानीय तह निर्वाचनपछिको दूधौली नगरपालिकाको नगरसभाबाट मनोनित भई नगरसभा सदस्य बनेकी अधिकारी १३ मत प्राप्त गरी बुधबार जिल्ला समन्वय समितिको सह संयोजक बनेकी छिन्।

झण्डै ३० हजार भन्दा बढी दनुवार जनसंख्या रहेको सिन्धुलीमा उनी दनुवार समुदायबाट जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने पहिलो महिला बन्न पुगेकी छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.