सोलुखुम्बु : हुङ्गा खोलाको कटानको कारण पहिरोको उच्च जोखिममा रहेका महाकुलुङ गाउँपालिका- १ साद्धीका २५ घरपरिवारले आफूलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन्। पहिरोले ६ घर बगाइसकेकोले पीडितहरूले आफूहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेका हुन्।
हालसम्म ६ घर पहिरोले बगाइसकेको र २५ भन्दा बढी घर उच्च जोखिममा परेका भए पनि जिल्ला दैवी प्रकोप उद्धार समितिले थोरै रकम दिएर आँखामा छारो हाल्ने काम गरेको पीडित पदमबहादुर बस्नेतले बताए।
दैवी प्रकोप उद्धार समितिले राहत स्वरूप ११ घरधुरीलाई प्रतिघर १० हजार रुपैयाँ र त्रिपाल वितरण गरे पनि अन्य घरधुरीले केही पाएका छैनन्। गाउँ छाडेर आफैँ सुरक्षित स्थानमा जान नसक्ने हुनाले त्यस भेगका नागरिक वर्षा हुँदा रातमा निद्रासमेत नलाग्ने बताउँछन्। पाँचपोखरी फेदी हुँदै बग्ने हुङ्गा खोलाको कटानका कारण साद्धीका वासिन्दा पहिरोको जोखिममा परेका हुन्।
अविरल वर्षासँगैको निरन्तर पहिरोले स्थानीय रामबहादुर बस्नेत, नारायणकुमार बस्नेत, चन्द्र बस्नेत, लक्ष्मण बस्नेत, पदमबहादुर बस्नेत र कुमारी बस्नेतको घर बगाइसकेको छ भने हस्तबहादुर बस्नेत, मुगाधन राई, सिंहबहादुर बस्नेतको सहित करिब २५ घरधुरी उच्च जोखिममा परेका छन्।
साल्मेका १९ घर उच्च जोखिममा
सोलु दूधकुण्ड नगरपालिका- ७ साल्मेका १९ घर परिवारले पनि सुरक्षित स्थानमा सार्न माग गरेका छन्। सोलुखोलामा निर्माणाधीन तल्लो र माथिल्लो सोलु हाइड्रो कम्पनीका कारण गाउँ पहिरोको उच्च जोखिम रहेकाले उनीहरूले सुरक्षित स्थानमा सार्न माग गरेका हुन्।
माथिल्लो सोलुखोला २३ दशमलब ५० मेगावाट क्षमताको विद्युत आयोजनाको निर्माण भइरहेको छ। भौतिक संरचना निर्माणको कारण नजिकैको बस्ती नै पहिरोको जोखिममा परेको स्थानीय राजकुमार प्रधानले बताए। रातको समयमा ठूलो वर्षा हुँदा बस्तीका सबै मानिस एकै ठाउँमा जम्मा भएर बस्ने गरेको स्थानीय कान्छा श्रेष्ठले बताए।
ओखलढुंगा जन्तरधाँप सडक खण्डमा पर्ने साल्मे सिस्नेरी पहिरोको कारण नेचा सल्यान गाउँपालिका- ६ का तीन घर उच्च जोखिममा परेका छन्। सडक निर्माणका कारण पहिरोको जोखिम बढेको यस बस्तीलाई तल्लो सोलुखोला जलुविद्युत आयोजनाको बाँधस्थल निर्माणको कारण झनै जोखिम थपिएको स्थानीय सपना प्रधानले बताइन्।
जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पहिरोपीडितको क्षति मूल्याङ्कनका लागि समिति गठन भइसकेकाले प्रतिवेदनको आधारमा क्षतिपूर्तिको व्यवस्था हुने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।