|
सांकेतिक फोटो

जापानको फुकुसिमामा ७२ वर्ष पुरानो बम फेला परेको छ। बिहीबार भेटिएको यो बम दोस्रो विश्‍वयुद्धमा अमेरिकाले फालेको हुनसक्ने एएफपीको समाचारमा उल्लेख छ। 

उक्त बम जापानको फुकुसिमामा रहेको परमाणु ऊर्जा केन्द्रको परिसरमा भेटिएको उल्लेख छ। मजदुरहरुले सवारी साधन पार्किङस्थल निर्माण गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो। पछि अध्ययन गर्दा उक्त वस्तु नपड्किएको पुरानो बम रहेको खुलेको थियो।

ऊर्जा केन्द्रका प्रवक्ताका अनुसार काम गरिरहेका बेला मजदुरले शंकास्पद वस्तु देखाएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले मजदुरलाई कार्यस्थलबाट बाहिर जान नदिई निर्माणस्थल नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

प्रहरीले उक्त वस्तु पुरानो बम भएको पुष्टी गरेको थियो। प्रहरीले अुनसन्धानकर्ताहरु समेत लगाएर गरेको अनुसन्धानपछि सो वस्तु दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नै भएको प्रमाणित भएको दाबी गरेको छ। ८५ सेन्टिमिटर लामो बम जमिनमुनि पुरिएको अवस्थामा रहेको थियो।

उक्त ऊर्जा केन्द्र सन् २०११ मा आएको भीषण भूकम्प र सुनामीका कारण फुट्दा अहिले आंशिक रुपमा मात्रै सञ्चालनमा रहेको छ। दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा शक्तिशाली हानिकारक एटम बम हमला गरेको थियो।

सन् १९४५ को अगष्ट ६ मा हिरोसिमा र अगष्ट ९ मा नागासाकीमा अमेरिकाले बम हमला खसालेको थियो। उक्त बम आक्रमणका क्रममा दुई लाखभन्दा बढी नागरिक मारिएका थिए। अमेरिकाले उक्त बम हमला गरेको ७२ बर्ष पूरा भएको छ। जापानका कतिपय स्थानमा अहिले पनि नपड्किएका बम भेटिने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.