राष्ट्रपतिको प्रश्न : किन घट्न सकेन बालविवाह?

|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाल विवाह अन्त्य गराउन सरकारले गरेको कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो गरेकी छन्।

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल  र सामुदायिक रेडियो प्रसारक संघले संयुक्त रुपमा सुरु गरेको  नेपाली जुटौं बाल विवाह रोकौं भन्ने  पाँच वर्षे राष्ट्रिय अभियान शुभारम्भ गर्दै भण्डारीले भनिन् ' नेपालमा बाल विवाह अन्त्य गर्ने भनेर 'बाल विवाह रणनीति २०७२' सुरु भई सक्दा पनि बाल विवाह उल्लेख्य रुपमा अन्त्य नभएको अवस्था छ, बाल विवाह दण्डनीय अपराध समेत भएकाले यसको अन्त्य गर्नुपर्छ।'

बालक भन्दा बालिकाहरु बढी बालविवाहको शिकार भएको भन्दै राष्ट्रपति भण्डारीले बालविवाहकै कारण शारीरिक, मानसिक समस्या भोग्नुपरेको समेत बताइन्। 'आर्थिक, सामाजिक विकासको बाधक वालविवाह रहेकाले बालविवाह गर्नुहुँदैन भन्ने चेतना बढाउनु आवश्यक छ' राष्ट्रपति भण्डारीले भनिन्।

कार्यक्रममा महिला बालवालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला खनालले बालविवाह रोक्न आफ्नो मन्त्रालय प्रतिवद्ध रहेको बताइन्। कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले बाल विवाह रोक्न बलियो कानुन बनाउन आफू प्रतिवद्ध रहेको बताए।

२० बर्ष नपुगी हुने विवाह स्वत: खारेज हुने र बाल विवाह गराउनेलाई तीन वर्षको  सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना लिने कानुन ल्याउन लागेको समेत उनले बताए।

हाल १८ बर्ष नपुग्दै ३४ प्रतिशत हुन्छ बालविवाह

नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने रणनीति बनाएको भए पनि हाल नेपालमा १८ बर्ष नपुग्दै ३४ प्रतिशत विवाह हुने गरेको छ। नेपालको तराई र पश्चिम नेपालका जिल्लाहरुमा सबैभन्दा धेरै बाल विवाह हुने समेत अध्ययने देखाएको छ। युनिसेफले गरेको एक अध्ययनमा सो तथ्य निकालेको हो। 

युनिसेफको द स्टेटस अफ वर्ल्डस् चिन्ड्रेन २०१६ अध्ययन अनुसार १० प्रतिशतले १५ वर्ष उमेरभन्दा पहिले नै बालविवाह गरिसक्ने बताएको छ। विश्वमा बालविवाह हुने १० देशमध्ये नेपाल पनि एक हो। जसमा बालविवाह हुनेमा दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा पर्छ। सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने भन्दै 'बाल विवाह रणनीति २०७२' सुरु गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.