फिचर

अकस्मात् भूकम्पको धक्का, भाग्न खोज्दाखोज्दै भत्कियो घर!
SHARES

यसरी गरियो विपद् व्यवस्थापनको पूर्वाभ्यास

साउन २६, २०७४

    सिन्धुपाल्चोकः अचानक भूकम्पको धक्का महसुस भयो। भाग्न खोज्दाखोज्दै घर भत्कियो। घरभित्र बसेका व्यक्तिहरू पुरिए। पुरिएकाले उद्धारका लागि आग्रह गर्दै गुहार मागे। 

    मान्छेहरू रोएको, चिच्याएको र गुहार मागेको सुनेपछि एकजनाले विपद व्यवस्थापन समितिलाई खबर गरे। समितिले तत्काल बैठक बसेर क्षति भएको ठाउँ यकिन गरी खोज तथा उद्धार र प्राथमिक उपचार कार्यदललाई परिचालन गर्‍यो। खोज उद्धार कार्यदल तत्काल घटनास्थलमा पुग्यो र पुरिएका घाइते व्यक्तिहरूको खोजी गरी घरबाहिर निकालियो। प्राथमिक उपचार कार्यदलले बिरामीको अवस्था पहिचान गरी तत्काल प्राथमिक उपचार गर्‍यो। घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई थप उपचारका लागि स्वास्थ्य संस्थामा सिफारिस गरियो। 

    एउटा समूहले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गर्दै आवश्यकता पहिचान गर्‍यो। विपद् व्यवस्थापन समितिले राहत सामग्री व्यवस्था गरी वितरणको काम सुरु भयो। समितिले पटक पटक सूचना गर्दै नआत्तिन आग्रह गर्नुका साथै समितिले गरिरहेका कामको बारेमा जानकारी दिइरह्यो। अस्थायी आवासको व्यवस्था गरेर उनीहरूलाई बस्ने व्यवस्था मिलाइयो। खानेपानी तथा शौचालयको अस्थायी प्रबन्ध गरियो। जिल्ला दैवी प्रकोप उद्धार समिति तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा पनि उक्त क्षतिका बारेमा जानकारी गराई थप सहयोगका लागि आग्रह गरियो।

    मानिसहरू चिच्याएको, घाइतेलाई स्ट्रेचरमा राखेर यताउता दौडाइरहेको, माइकमार्फत् सूचना दिइरहेको र राहत वितरणका बेला भइरहेको हल्लाका कारण वरपरका बासिन्दा साँच्चैको भूकम्प आएको हो कि भनेर अलमलमा परे। एकैछिनमा ठूलै संख्यामा मान्छेको जमघट भयो। यो दृश्य साँच्चैको भूकम्पपछिको खोज उद्धारको नभई कृत्रिम घटना अभ्यासको थियो। 

    यस्ता छन् अभ्यासका उद्देश्य
    सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले बाँसखर्क, दुवाचौर र लाँगर्चेमा विपद्को पूर्व तयारी स्वरूप कृत्रिमा घटना अभ्यास गराइरहेको छ। सरोकारवालाहरूबीच आपसी समन्वय गरी विपद्को प्रतिकार्य गर्ने क्षमताको विकास गर्ने उद्धेश्यसहित कृत्रिम घटना अभ्यास गरिएको कार्यक्रम अधिकृत रविना मानन्धरले बताइन्। ‘विपद् प्रतिकार्यका लागि पूर्व तयारी र आवश्यक जनशक्ति नभएका कारण ०७२ को भूकम्पमा ठूलो क्षति व्यहोर्नुप¥यो’, उनले भनिन्, ‘विपद्का कारण हुनसक्ने क्षति कम गराउन समुदायमै जनशक्ति तयार गर्नका लागि यस किसिमको अभ्यास गरिएको हो।’ 

    मानन्धरले विपद्का हिसाबले उच्च जोखिममा देखिएका साविकका गाविसका तीनवटा वडा र विद्यालयस्तरमा यस किसिमको अभ्यास भइरहेको बताइन्। यसबाट विपद् प्रतिकार्यका लागि समुदायलाई आवश्यक पर्ने आश्रयस्थल, सञ्चार साधन, जनशक्ति, खोज उद्धार सामग्री आदि के कति परिमाणमा आवश्यक पर्दछन् भन्ने जानकारी भई प्रतिकार्य क्षमतामा सुधार गर्न सघाउ पुग्ने अपेक्षा गएिको उनको भनाइ छ।

    लाँगर्चेको खोज उद्धार कार्यदल सदस्य प्रकाश खड्काले कृत्रिम घटना अभ्यासबाट खोज उद्धारसम्बन्धी सीप र क्षमता विकास भएको प्रतिक्रिया दिए। ‘साविकको वडा र गाविसस्तरमा गरी लाँगर्चेमा खोज तथा उद्धार, प्राथमिक उपचार र क्षति तथा आवश्यकता विश्लेषण कार्यदल गठन भएकोमा सबै कार्यदलले तालिम पायौँ’, उनले भने, ‘कृत्रिम घटना अभ्यास गर्दा तालिममा प्राप्त भएको सीप र क्षमता बढ्नुका साथै प्रकोपको सामना गर्ने क्षमता बढेको छ।’ यस क्रियाकलापले सबैलाई सचेत बनाएको र विपद्का बेलामा व्यवस्थित प्रतिकार्य गरी क्षति कम गर्न आत्मविश्वास बढेको उनको अनुभव छ। 

    कृत्रिम अभ्याससँगै सडक नाटक
    कृत्रिम घटना अभ्याससँगै स्थानीय बाल क्लबले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यसम्बन्धी सडक नाटकसमेत प्रदर्शन गर्ने गरेका छन्। विपद्को घटना जतिबेला जहाँ पनि हुनसक्ने भएकाले पूर्व तयारी स्वरूप कृत्रिम घटना अभ्यासको आयोजना गरिएको कार्यक्रम संयोजक विनोद शर्माले बताए। ‘काल्पनिक प्रकोप घटनाको परिस्थिति सिर्जना गरी वास्तविक घटना हुँदा अवलम्बन गरिनुपर्ने विधि र प्रक्रियासम्मत् क्रियाकलापहरू गरेर प्रकोपको सामना गर्ने क्षमताको विकास गर्ने प्रयास गरिएको छ’, उनले भने, ‘कृत्रिम घटना अभ्यास काल्पनिक जस्तै देखिन्छ तर यसमा सहभागी हुने सबै वास्तविक हुन्छन्।’ विपदका हिसाबले उच्च जोखिममा देखिएका समुदायमा यस किसिमको अभ्यास गरिएको उनले बताए। 

    विपद व्यवस्थापन समिति गठन
    केयर नेपालसँगको साझेदारीमा सञ्चालित प्रयास परियोजनाअन्तर्गत बाँसखर्क, दुवाचौर र लाँगर्चेमा विपद् व्यवस्थापन समिति गठन गरी क्षमता विकास तालिम सञ्चालन गरिएको हो। उच्च जोखिममा देखिएका वडामा एक एक सेट आपतकालीन सामग्री हस्तान्तरण गरिएको छ। कार्यक्षेत्रमा ७४ जना खोज उद्धार कार्यकर्ता, ६६ जना जना प्राथमिक उपचारक र ५८ जना क्षति तथा आवश्यकता विश्लेषण गर्न सक्ने जनशक्ति तयार गरिएको कार्यक्रम अधिकृत मानन्धरले बताइन्। 

    ‘विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति समुदायमै तयार गर्नका लागि भएको कार्यक्रमअन्तर्गत दुवाचौरमा २१ जना, बाँसखर्कमा २५ जना र लाँगर्चेमा २८ जना खोज उद्धार कार्यकर्ता तयार भएका छन्’, उनले भनिन्, ‘दुवाचौरमा १८ जना, बाँसखर्कमा २३ र लाँगर्चेमा २५ जना प्राथमिक उपचारक पनि तयार भएका छन्।’ क्षति तथा विश्लेषणसम्बन्धी काम गर्नसक्ने जनशक्ति दुवाचौरमा १६ जना, बाँसखर्कमा १८ जना र लाँगर्चेमा २४ जना तयार भइसकेका जानकारी पनि उनले दिइन्।

रमेश पराजुली

पराजुली थाहाखबरका लागि सिन्धुपाल्चोकबाट पत्रकारिता गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]