मनोरञ्जन

धुलाबारीमा मञ्चन गरियो 'सुकुम्बासी राजा'
SHARES

साउन २६, २०७४

    झापाः पछिल्लो समय झापामा नाटकप्रति दर्शककको आकर्षण बढ्दै गएको छ। झापामा पछिल्लो समय सशुल्क नाटक प्रदर्शनको क्रम बढ्दो छ। झापामा यसअघि नाटक प्रदर्शन अत्यन्तै कम हुने गरेकाले पनि दर्शक नाटकप्रति त्यति आकर्षित थिएनन्।

    टिकट काटेर नाटक हेर्ने बानी नभएका दर्शकलाई झापाका थिएटरहरूले टिकट कटाएर नाटक देखाउन सुरु गरेका छन्। अहिले दमकको कदम थिएटरले नाटक घर स्थापनाका लागि नाटक ‘मरिचेको चुपी’ मञ्चन गरिरहेको छ। बुधबार पनि खचाखच दर्शकका माझ काँकडभिट्टाको परिर्वतन थिएटरले ‘सुकुम्बासी राजा’ नामको नाटक मञ्चन गर्‍यो। धुलाबारीस्थित जेसिज भवनमा दुई शोसम्म मञ्चन गरेको नाटकमा दर्शकहरू दुवै शोमा भरिभराउ थिए।

    झापामा बसोवास गर्ने सीमान्तकृत किसान समुदायको मार्मिक कथालाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ। नाटकको लेखन तथा निर्देशन रंगकर्मी कविता नेपालले गरेकी हुन्। नाटकमा ५० वर्षअघिको झापाको किसान समुदायको परिवेशलाई जस्ताको जस्तै उतारिएको छ।

    गत महिना इलाममा भएको राष्ट्रिय नाटक महोत्सवबाट प्रशंसा बटुलेको यो नाटकले बुधबार झापामा पनि दर्शकको मन जित्यो। नाटकमा तराईका भूमिपुत्र मानिने आदिवासी समुदायले राज्यमा पहुँच नपुग्दा आफ्नो भूमि कसरी गुमाएर रातारात सुकुम्बासी बने भन्ने पीडादायी कथालाई देखाउने प्रयत्न गरिएको छ। 
    विगतमा मधेस क्षेत्रका  जमिन्दारका रूपमा रहेका किसान समुदायका राजालाई चतुर प्रवृत्ति भएका पहाडे समुदायले विभिन्न वहानामा सुकुम्बासी बनाएको कथालाई यस नाटकमा समेटिएको छ।

    नाटकमा किसान समुदायका राजा (महतो) मंगलुलाई पहाडबाट आएर उनलाई नै जग्गा मागेर बसेका रेडियो बाजे र पण्डित बाजेले सुकुम्बासी बनाउँछन्। सोझा किसान समुदायका राजालाई पहाडी समुदायका सामन्ती रेडियो बाजेले मंगलुले छिमेकी समाएको वहानामा उनको घर नै आफ्नो नाममा पास गराउन लगाउँछन्। सधैँ रेडियो बोकेर हिँड्ने रेडियो बाजेले रेडियोमा सरकार बोल्छ भन्दै आफ्नो घर पास गर्न लगाउँछन्। नाटकमा रेडियो बाजेले भन्छन्, ‘मंगलु, तैँले पल्लो घरको छिमेकी नानीलाई समाएको छस्, यो रेडियोमा सरकार बोल्छ, सरकारलाई भन्दिऊँ कि तेरो घर मलाई पास गरिदिन्छस्?’ 

    मंगलुले बिन्ती गर्दै भन्छ, ‘घर तपाईंलाई पास गरिदिएर मेरो परिवार कहाँ लग्नु हजुर, यसो नगरिदिनुस्।’ उसको आग्रहलाई नमानेपछि मंगलुले घर पास गरिदिने सहमति जनाउँछ।

    नाटकको अर्को पात्र हो, पण्डित बाजे। ऊ पनि पहाडी समुदायको पण्डित हो। किसानका राजा मंगलुको जग्गामा आँखा लगाइरहेका पण्डितले भने अलिक फरक तरिकाबाट जग्गा खोस्छ। उसले मंगलुलाई सधैँ मादक पदार्थ खुवाउने गर्छ। मंगलुले पनि सधैँ आफूलाई माया गर्ने भन्दै पण्डितको विश्वास गर्छ। तर एकदिन पण्डितले विदेशी ब्राण्डको रक्सी भन्दै मंगलुलाई धेरै रक्सी खुवाउँछ र मंगलु मातेर बेहोस भएको बेलामा ल्याप्चे लगाएर उसको पाँच कठ्ठा जग्गा जग्गा आफ्नो नाममा ल्याउँछ। 

    भोलिपल्ट किसान समुदायका राजा मंगलुलाई खेत आफ्नो नाममा भएको भन्दै सोधेर मात्र खनजोत गर्न निर्देशन दिन्छ पण्डितले। रेडियो बाजेले भने उनको घर आफूलाई दिने सहमति भएको भन्दै घर खाली गराउँछ। 

    नाटकमा यसरी नै किसान समुदायका राजा शिक्षामा कमी र राज्यको उपल्लो निकायमा पहुँच नहुँदा सुकुम्बासी भएको कथालाई यस नाटकमा देखाइएको छ।
    नाटकमा कविता नेपाल, लीला विष्ट, गणेश बस्नेत, सविता पोखरेल, सुष्मा पोखरेल, केन्द्रप्रसाद भट्टराई, लोमश पौडेल, विशाल कँडेल, एन्जल खड्का, अनिष बस्नेत, सम्झना सुब्बा, सुन्दरलाल किसान, विनोद राजवंशीलगायतका कलाकारहरूले जीवन्त अभिनय गरेका थिए। लाइभ म्युजिकमा सागर खाती, पवन बर्देवा र सुवास किसानले सघाएका थिए। लाइभ म्युजिकको प्रयोगबाट झापामै पहिलो पटक यो नाटक देखाइएको हो।

    नाटक निर्देशक कविता नेपालले काँकडभिट्टामा नाटक घर स्थापनार्थ नाटक प्रदर्शन गरिएको बताइन्। उनले झापाबाट नाटक सिक्न काठमाडौँ जानुपर्ने बाध्यता हटाउन नाटक घर आवश्यक रहेको उल्लेख गर्दै रंगकर्मी नेपालले झापामा पैसा तिरेर नाटक हेर्ने संस्कार सुरु गरेको बताइन्।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका झापा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]