|
वेपत्ता भएका यादवका परिवार शोकाकुल अवस्थामा।

लहान : सप्तरीको चुरे क्षेत्रबाट निस्किने खाडो नदीमा आएको बाढीले बगाउँदा एक बृद्ध बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार राजविराज नगरपालिका १५ देउरीभरुवाका ६० वर्षीय डोमी यादव ढिस्कोले पुरिएसँगै बाढीले बगाउँदा बेपत्ता भएका हुन्। सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बाढीमा बेपत्ता भएका यादवको खोजीका लागि बिहीबार अपरान्ह सशस्त्र प्रहरी बल सुनसरीको पकलीस्थित बाहिनीबाट आएका गोताखोर परिचालन गर्ने जानकारी दिए।

खाडो नदीमा आएको बाढीले बिरौल र देउवरीभरुवामा गरिरहेको कटान नियन्त्रण गर्न नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए। राजविराज नगरपालिका १० मा पर्ने बिरौल गाउँमा खाडो नदीमा पानीको सतह बढेपछि पश्चिमी तटबन्ध भत्काउँदै बाढी गाउँ पसेको हो।

छ दर्जन घर डुबान

खाडो नदीमा आएको बाढीको पानी गाउँ पस्दा तिलाठी कोइलाडी गाउँपालिका १ र ३ सखरपुरा गाउँमा रहेको एक दर्जन घर डुबानमा परेको छ। बाढीको पानी गाउँमा पसेपछि प्रहरी चौकी तिलाठीबाट गएको प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

त्यस्तै, अविरल वर्षातका कारण सप्तकोशी नदीमा पानीको सतह बढेपछि हनुमाननगर कंकालिनी नगरपालिका ७ स्थित मुसहरी टोलमा रहेको करिब पाँच दर्जन घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ। नदीको पानी गाउँ पस्दा हनुमाननगर कंकालिनी नगरपालिका १४ डलुवामा एक दर्जन बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ। सप्तकोशीको पानीले थप क्षति हुन नदिन इलाका प्रहरी कार्यालय हनुमानगरबाट गएको प्रहरी टोलीले गई उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीकै कञ्चनरुप नगरपालिका ७ स्थित बान्द्रा खोलामा आएको बाढीले बाँध भत्किंदा स्थानीय गणेश विष्टको पाँच कठ्ठा र कपिल खड्काको तीन कठ्ठा तरी आठ कठ्ठा धान बालीमा बालुवासहितको पानी पसेर क्षति भएको छ।

हेर्नुस् बाढीको फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.