काठमाडौंको साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रालिबाट साउदी गएका कामदार अलपत्र

|

उदयपुर : रोजगारीको लागि स्थानीय एजेन्टमार्फत साउदी अरबको दम्माम शहर पुगेका २९ जना नेपाली अलपत्र परेका छन्। काठमाडौंको सिनामंगलस्थित साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रालिमार्फत साउदी गएका नेपाली युवाले काम गरिरहेको बिल्डिङ ग्रुप कम्पनीबाट तीन महिनादेखि तलब नपाएका हुन्।

पीडित राजन कार्कीले साउदीबाट थाहाखबरलाई टेलिफोनमा दिएको जानकारी अनुसार उदयपुर, सिरहा, सप्तरी, मोरङ, सुनसरी, लमजुङ, कास्की, धादिङका गरी २९ युवा बिना तलब काम गर्न बाध्य छन्। उनका अनुसार सफाइ कर्मचारी (क्लिनिङ वर्कर) का लागि भनेर उनीहरुलाई त्यहाँ लगिएको थियो।

‘खाने, बस्ने व्यवस्था सहित एक हजार २ सय साउदी रियाल दिने सम्झौता भएको थियो’, पीडित कार्कीले भने,‘तर साउदी पुगेपछि आठ सय रियाल मात्र पाइने रे! त्यो पनि चार महिना बित्न लाग्दा समेत पाएका छैनौं।’

कार्कीले साँघुरो कोठामा कोचिएर बस्‍नु परेको तथा खाना र पानीको समस्या रहेको बताए। 'किनेर खाने पैसा समेत नहुँदा अरुसँग सहयोग माग्‍नु परेको छ’ उनले भने। 

साउदीमा अलपत्र परेका त्रियुगा नगरपालिका–९ का दुर्गाबहादुर श्रेष्ठका बाबु हर्कबहादुर श्रेष्ठले छोरालाई विदेश पठाउने क्रममा १ लाख ७० हजार खर्च भएको बताए। ‘ब्याजमा ऋण काडेर छोरोलाई विदेश पठाउनको लागि एजेन्ट सुब्बालाई एक लाख ५ हजार बुझाएको छु,’ हर्कले भने, ‘पासपोर्ट, मेडिकल जाँच गराउँदा, जाँदा–आउँदा गरी करिब एक लाख ७० हजार जति खर्च गरेर पठाएको थिएँ।’ उनले उदयपुरका स्थानीय एजेन्ट नेत्र सुब्बा र उनकी पत्नी रेश्मा सुब्बाले साउण्ड लाइन्स रिक्रुटमेन्ट प्रालिमार्फत विदेश पठाएको बताए।

उदयपुरमा पीडितका आफन्तले दिए निवेदन

साउदीमा अलपत्र २९ जनामध्ये ४ जनाको परिवारले उदयपुर जिल्ला समन्वय समितिमा निवेदन दिएको छ। जिसस अन्तर्गतको सुरक्षित आप्रवासन परियोजनाका (सामी) परामर्शकर्ता रामा मगरले ४ जना कामदारको परिवारले तलब नपाएको निवेदन दिएको पुष्टि गरिन्।

‘उदयपुरबाट बिल्डिङ ग्रुप कम्पनीमा कार्यरत ४ नेपालीका परिवारले सामी परियोजना क्षतिपूर्तिको माग सहित निवेदन दिएका छन्,’ मगरले भनिन्, ‘उनीहरुले विभिन्न जिल्ला सहित जम्मा २९ जना रहेको जानकारी दिएका हुन्।

दम्माम शहरको बिल्डिङ ग्रुप कम्पनीमा कार्यरत उदयपुर चौदण्डीगढी नगरपालिका–१० का युवराज थापा, त्रियुगा नगरपालिका–९ का दुर्गानारायण श्रेष्ठ र रुद्रबहादुर बस्नेत, रौतामाई गाउँपालिका–४ पोखरी सल्लेका राजन कार्कीको परिवारले क्षतिपुर्तिको माग गर्दै उजूरी दिएका हुन्।

पीडित युवराज थापाका भाई दिनेश थापाले काम गर्ने कम्पनीले सेवा सुविधासहितको तलब नदिएको भन्दै दाइले आफन्तसँग सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्न थालेपछि सामी परियोजनामा निवेदन दिएको बताए।            

मेनपावर एजेन्टले थर्काए पीडित परिवारलाई

विदेशमा आफ्ना दाजु समस्यामा परेको कुरा एजेन्ट नेत्र सुब्बालाई जानकारी गराउँदा पीडित युवराज थापाका भाइ दिनेश थापाले उल्टै गाली खानुपरेको बताए। ‘सुब्बाले उल्टै धाक–धम्की दिने गरेका छन्,’ युवराज थापाका भाइ दिनेशले भने, ‘एजेन्टले धाक–धम्की दिने गरेपछि आफुहरु सहयोग पाउँ भनी जिल्ला समन्वय समितिद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनामा निवेदन दिएका हौं।’

उदयपुरका एजेन्ट नेत्र सुब्बाको गाईघाटमा रहेको अफिसमा सम्पर्क गर्न खोज्दा उनी भेटिएनन्। उनको कार्यालय बन्द छ। फोन सम्पर्कका लागि प्रयास गर्दा उनको मोबाइल स्वीच अफ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.