|

काठमाडौं : नयाँ शक्ति नेपालमा रहेका १५ जना नेताले परिवर्तनकारीहरु ध्रुवीकृत हुने बेला आएको भन्दै संयोजक डा. बाबुराम भट्टराईलाई गम्भीर हुन आग्रह गरेका छन्।  बिहीबार अपरान्ह बागबजार स्थित होटल हार्दिकमा पत्रकार भेटघाट गर्दै उनीहरुले नयाँ शक्ति पार्टीले राजनैतिक वैचारिक विचार निर्माण गर्ने अवसर गुमाएको भन्दै संयोजक डा. बाबुराम भट्टराईलाई राजनीतिमा ओझेल पर्नबाट जोगिन आग्रह गरे।

नयाँ शक्ति पार्टीको कुनै स्पष्ट वर्ग पक्षधरता नहुँदा जनताले तिमी कांग्रेस हौं कि साझा पार्टी जस्तो हौ भनेर प्रश्न गर्ने गरेको नेता देवेन्द्र पौडेलले बताए। वर्गीय, जातीय, लिंगीय र सबैखाले उत्पीडनको मुक्तिका लागि र संसारभरीका श्रमजीवि  जनताहरुको लागि आफ्नो आन्दोलन रहेको पनि उनले प्रष्ट पारे।

त्यसैगरी पार्टीभित्र हिजो जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर आएकाहरु र आन्दोलनमा सहभागी नभएकाहरुको बीचमा ठूलो खाडल देखिएको भन्दै नेता पौडेलले आन्दोलनका उपलब्धिलाई उपलब्धि नमान्ने जस्तो तरिकालाई आफ्नो नैतिकताले स्वीकार गर्न नसकेको उल्लेख गरे।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि देशभरीका १३ लाख बढी जनताको हस्ताक्षर प्रचण्डलाई बुझाइसकिएको हुनाले त्यसमा नयाँ शक्तिको स्पष्ट अडान हुनुपर्ने तर्क गरे। नेपालमा जति पनि परिवर्तन भएका छन् ती जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र जनजाति आन्दोलनको उपज भएको बताउँदै पौडेलले परिवर्तन ल्याउने शक्ति तितर बितर भएको हुनाले परिवर्तन ल्याउन भूमिका नखेलेकाहरु अहिले नेपालमा हावी भइरहेको बताए।

प्रचण्ड, बाबुराम भट्टराई, मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लव, उपेन्द्र यादव र जनजाति आन्दोलनका नेताहरु एकठाउँ हुनुपर्ने भन्दै नेता पौडेलले परिवर्तन ल्याउने शक्तिहरु तितरबितर भएर होइन, एकठाउँ ध्रुवीकृत भएर मात्र परिवर्तन संस्थागत गर्न सकिने दावी गरे।

नेता पौडेलले बाबुराम भट्टराईको हितकै लागि आफूहरुले यस्तो कदम चाल्नुपरेको बताए। पत्रकार सम्मेलनमा उनले भने 'त्यति ठूलो परिवर्तनको लागि गरिएको आन्दोलनको नेतृत्व गरेर आएको नेता अहिले राजनीतिमा ओझेल परिरहनुभएको छ। ढिलो चाँडो उहाँले यो कुरा बुझ्नुपर्छ। हामी उहाँलाई सिध्याउन होइन उहाँकै हितको लागि यो सबै गरिरहेका छौं।'

नेता पौडेलले बाबुराम भट्टराई सीमित व्यक्तिहरुको घेराबन्दीमा रमाएको भन्दै बढी प्राज्ञिक (एकेडेमिक) साथीहरुको प्रभावमा नपर्न र पार्टी सुदृढ गरेर अगाडि बढ्न आग्रह गर्दै उनले भने, ‘हामी बाबुराम भट्टराईलाई नेता बनाउन चाहन्छौँ। यो कुरा उहाँले ढिलो चाँडो बुझ्नै पर्छ। यसरी सीमित घेरामा बसेर हुँदैन।' साउन ९ र १० गते बसेको संघीय परिषद बैठकमा भट्टराईले अगाडि सारेको दस्तावेजमा पार्टी श्रमजीवी र उत्पीडित वर्गको हितमा हुनुपर्नेमा त्यसो नभएको बताउँदै पार्टी एनजिओ जस्तो भएको आरोप पौडेलको छ।

पौडेलसहित बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, महेन्द्र पासवान, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवारले बिहीबार आफ्ना विष विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.