राजनीति

बैठक सकिएको तीन दिनमा पनि राजपाले निर्णय गर्न सकेन
SHARES

साउन २६, २०७४

    काठमाडौँ: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार सम्पन्न पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठकले दिएको सुझावको आधारमा निर्णय गर्ने जिम्मेवारी पाएको अध्यक्ष मण्डलले अझै निर्णय गर्न सकेको छैन।

    आगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्छ भनेर बहुमत नेताले सुझाव दिएपछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पेस गरेको राजनीतिक प्रतिवेदन पास हुन सकेको थिएन। बैठकले अध्यक्ष ठाकुरको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको थियो।

    राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष मण्डलका सदस्यबीच नै मतैक्य हुन नसकेपछि बिहीबार पत्रकार सम्मेलनमार्फत् गर्ने भनिएको पार्टी निर्णय सार्वजनिक हुन सकेन। ‘अध्यक्षज्यूहरू छलफलमा हुनुभएकोले भोलि शुक्रबारसम्ममा निर्णय बाहिर आउँछ’, महासचिव केशव झाले भने, ‘पदाधिकारी र केन्द्रीय सदस्यको भावना र सुझावअनुसार नै निर्णय आउनेछ।’

    साउन १८ देखि २१ सम्म पदाधिकारीको र २२ देखि २४ गते साउनसम्म केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। बैठकमा बोल्ने ९१ जना नेतामध्ये ४३ जनाले स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्ने पक्षमा धारणा राखेका थिए भने २९ जनाले संविधान संशोधन विधेयक पारित नभएसम्म निर्वाचनमा भाग लिन नहुने सुझाव दिएका थिए।

    अध्यक्ष शरतसिंह भण्डारी र महेन्द्र राय यादवसहित सहअध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्षहरू सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरी, मृगेन्द्रकुमार सिंह यादवलगायतले निर्वाचनमा पार्टीले भाग नलिए पार्टीको अस्तित्व समाप्त हुने चेतावनी दिएका थिए।

    केही नेताहरूले स्थानीय तहको निर्वाचनमा पार्टीले भाग नलिए कार्यकर्ताविनाको पार्टीको रूपमा राजपा परिणत हुने चेतावनी दिएपछि अध्यक्ष मण्डलका सदस्यहरू निर्वाचन बहिष्कार गर्ने निर्णयबाट पछि हटेका थिए। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर भने संविधान संशोधन विधेयक एक साताभित्र सत्तारुढ दलले संसदबाट पारित गरे निर्वाचनमा भाग लिने पक्षमा छन्।

लिलाराज खनाल

खनाल राजनीति र संसदीय मामिलामा रिपोर्टिङ गर्छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]