|
फोटोहरु : नमिन ढकाल\ थाहाखबर

इलाम : एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा मनाइएको छ। जिल्लाको सदरमुकाम इलाम बजारमा बिहीबार यो जात्रा मनाइएको हो।

राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा सुुरु गरेको रोपाइजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिन्छ। यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पुर्‍‍याउँदै आएको छ।

नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ। इलाम कलासंस्कृतिको धरोहर भएकाले युवा पुस्तामा कला संस्कृति जर्गेना गराउन सिकाउने उद्धेश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइजात्रा संचालन भइरहेको अध्यक्ष श्रेष्ठले बताए।

जात्रालाई स्थानीय पर्वका रूप मनाउँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरुका विद्यालयहरूमा बिहीबार बिदा दिइयो। रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाइन्छ।

यो जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपेको हेर्न पाइन्छ।  रोपाइँजात्राको रौनक हेर्न विगत वर्षहरुमा झैं यस वर्ष पनि पाँचथर, झापा, ताप्लेजुङका आन्तरिक र भारतको दाजिलिङ, सिक्किम, गान्तोकका बाह्य पर्यटकहरु आएका छन्। नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहन्छ।

जनैपुर्णिमा सकिएपछि कृष्णाजन्माष्टमी आउनुअघिको बिहीबार पारेर इलाम सदरमुकाममा रोपाइँजात्रा निकालिने प्रचलन अनुरुप यसपटक रोपाइँ जात्रा निकालिएको  नेपाल भाषा तथा संस्कृति समाजका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले बताए।

इलाम जिल्लाका अन्य क्षेत्रमा भने यो जात्रा बेग्ला–बेग्लै दिन पारेर निकालिन्छ। यसअघि बुधबार देउमाई नगरपालिकाको मंगलबारेमा यो जात्रा मनाइएको थियो। त्यस्तै इलामको नामसालिङ र माई नगरपालिकामा शुक्रबार यो जात्रा निकालिँदैछ।

सदरमुकाम इलाम बजारमा निकालिएको जात्राका झलकहरु  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.