|

लहान : पछिल्लो दुई दिनदेखिको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाब बढेको छ। नदीमा पानीको बहाब बढेपछि ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रले बिहीबार अपराह्न सप्तकोशीमा आएको बाढीको बहाब दुई लाख ५० हजार ५ सय ९० क्युसेक प्रतिसेकेण्ड रहेको जनाएको छ। कोशी नदीमा प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक पानीको बहाब भएपछि खतराको संकेतस्वरुप रातो झण्डासहित रातो बत्ती बाल्ने गरिन्छ। 

केन्द्रका अनुसार बिहीबार साँझदेखि नै ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुल्ला गरिएको छ। बिहीबार दिनभर जसो वर्षात् भएकाले कोशी नदीमा हरेक घण्टा पानीको बहाव बढिरहेको जनाइएको छ।

आधा दर्जन गाउँ डुबानमा 

चुरे क्षेत्रबाट निस्किने खाडो नदीमा आएको बाढीले सप्तरीको पूर्वी दक्षिणी भेगका आधा दर्जन गाउँ डुबानमा परेका छन् भने बाढीले बगाएर एक वृद्ध बेपत्ता भएका छन्। खाडो नदीमा आएको बाढीले भत्काएको बाँध मर्मत गरिरहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सघाउने क्रममा राजविराज नगरपालिका–१५ देउरीभरुवाका करिब ६० वर्षीय डोमी यादव बेपत्ता भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार बाढीमा बेपत्ता भएका यादवको खोजीका लागि बिहीबार अपरान्हदेखि साँझसम्म सुनसरीको पकलीस्थत पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गणबाट झिकाइएका गोताखोर परिचालन गरिएको छ। खाडोमा आएको बाढीले तटबन्ध भत्काएपछि गाउँ पसेको बाढीले राजविराज नगरपालिका १० बिरौलसहित आसपासका गाउँ डुवानमा परेका छन्। बाँध भत्किँदा भेरिया, कोईलाडी तिलाठी, कोईलाडी बसाइन, रम्पुरा मल्हनिया, देउरीभरुवा, सकरपुरा, लौनिया लगायतका गाउँ जलमग्न भएको स्थानीय बासिन्दा बताउँछन्। बाढीको कारणले तिलाठी–राजविराज सडक खण्डमा बिहीबार दिउँसोदेखि नै आवागमन बन्द भएको छ।

त्यस्तै, सप्तकोशी नदीमा पानीको सतह बढेपछि हनुमाननगर कंकालिनी नगरपालिका– ७ स्थित मुसहरी टोलमा रहेको करिब पाँच दर्जन घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ। नदीको पानी छचल्किएर गाउँ पस्दा हनुमाननगर कंकालिनी नगरपालिका १४ डलुवामा एक दर्जन बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ।

बाढी गाउँ पसेपछि बाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालसहितको टोली पुगेको छ। नेपाली सेनाको भिम दल गणका गणपति सुरेन्द्रदेव बोगटी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सिंह, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक रामाधार यादवसहित सुरक्षा निकायका प्रमुख संलग्न  टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.