|
फाइल फोटो

हुम्ला चीनको स्वशासित क्षेत्र तिव्वतसँग जोडिएको यारी भन्सार कार्यालय एक वर्षदेखि कर्मचारीविहीन छ। हरेक प्रकारका कारोबार हुने यारी भन्सार नाकामा कर्मचारी नबस्दा यहाँबाट उठ्ने लाखौं रुपैयाँ राजस्व राज्यलाई घाटा भएको छ।

दैनिक उपभोग्य सामान  नुनदेखि ऊनसम्म, र निर्माण सामग्री, इन्धन, मदिरा लगायत चीनबाट आयात हुने करोडौं मूल्य बराबरका सामग्री  आउने भन्सार कार्यालयमा कर्मचारी नभएका कारण लाखौं रुपैयाँ राजस्व नोक्सान भएको हो। 

एक नायब सुब्बा, एक खरिदार र दुई जना कार्यालय सहायोगीको दरबन्दी भएको यारी भन्सार कार्यालयमा गएको वर्ष असोज अन्तिम सातादेखि कार्यालय सहायकबाहेक अन्य कर्मचारी नभएका कारण यो वर्ष राजस्व शून्य भएको कोष तथा लेखा नियन्त्रण कार्यालयकाा नियन्त्रक राजन रेग्मीले बताए। गत आर्थिक वर्षमा ८ लाख ९६ हजार ३ सय ३ रुपैयाँ उठेकोमा कर्मचारी नहुँदा यो वर्ष एक रुपैयाँ पनि आम्दानी नभएको उनले बताए। 

कोष तथा नियन्त्रक कार्यालयलाई अहिलेसम्म भन्सारको अधिकार नभएकाले यारी भन्सारबाट यो वर्ष ३० लाख रुपैयाँभन्दा बढी राजस्व नउठेको नियन्त्रक रेग्मीले बताए। मौसमका कारण हरेक वर्ष चैत्र देखि कात्तिकसम्म मात्रै सञ्चालनमा आउने उक्त नाकालाई राज्यले सोही अनुसार कर्मचारी खटाउनु पर्ने उनले बताए। 

भन्सार कार्यालयमा सुरक्षाकर्मीको संख्यासमेत कम भएपछि नेपालबाट लोपाृन्मुख वन्यजन्तु, बहुमूल्य जडिबुटी, काठ चोरी गरी निकासी गर्ने क्रम बढेको छ। यस्तै तिब्तबाट अवैध मदिरा, खाद्य सामग्री, व्यापारिक सामग्रीहरुको आयात गर्ने क्रम पनि चुलिएको छ।

दुई देशको सिमानाको हिल्सामा नेपाल प्रहरीको संख्या थोरै भएपछि  जाँचमा कठिनाइ भएको र कर्मचारी अभावमा अवैध सामग्री आयात–निर्यात रोक्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.