|

काठमाडौं : सरकार र राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)बीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणअगावै संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सत्तारुढ दल र राजपाको बैठकमा संसदमा विचाराधीन संशोधन विधेयकलाई निर्णयार्थ पेस गर्ने सहमति जुटेको हो।

‘हाम्रा तीन बुँदे मागलाई संबोधन गर्ने क्रममा संविधान संशोधन विधेयकलाई भारत भ्रमणअगाडि नै संसदबाट पास गराउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनुभयो,’ बैठकपछि राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले थाहा खबरसँग भने, ‘अन्य केही माग पूरा भएको र केही पूरा गर्नेक्रममा रहेको भनाइ प्रधानमन्त्रीबाट आएको छ।’ प्रधानमन्त्री देउवाको भारत भ्रमण सम्भवतः भदौ पहिलो साता हुँदैछ।

प्रधानमन्त्री आफूहरुका सबै मागमा सकारात्मक देखिएको भन्दै झाले अब कार्यान्वयन कस्तो हुन्छ, हेर्न बाँकी रहेको बताए। उनले भने, ‘पार्टीको पदाधिकारी र केन्द्रीय समिति बैठकले यथास्थितिमा चुनावमा नजाने बताइसकेको छ, त्यसैले पनि सरकारले हामीलाई चुनावमा जाने वातावरण बनाउने हो भने माग पनि पूरा गर्नुपर्‍यो।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संशोधन विधेयकलाई निर्णयार्थ पेस गर्ने सहमति भएको जानकारी दिए। 

सर्वोच्चले बिहीबार स्थानीय तहको संख्या थप्ने बाटो खोलिदिएपछि संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेस गरेर निर्वाचनमा जान राजपा सहमत देखिएको हो। झाका अनुसार बैठकमा प्रधानमन्त्रीले स्थानीय तहको संख्या वृद्धिका लागि पनि सम्बन्धित मन्त्रीलाई निर्देशन दिइसकेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.