|

दमक : केही दिनदेखि लगातार परेको वर्षका कारण झापाको ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ। वर्षाका कारण झापाका ग्रामीण क्षेत्रमा खोलाले बाँध भत्काएर गाउँ बस्दा भापाका दक्षिणी भेग डुबानमा परेका छन्। केही दिनदेखिको लगातार वर्षाका कारण पुल नभएका स्थानमा स्थानीयलाई आवतजावतमा समस्या परेको छ। जिल्लाका ठूला नदिहरु कनकाई, मेची, रतुवा नदी कटान गर्दै बस्तीमा पस्न थालेको छ।

लगातारको वर्षाका कारण शिवसताक्षी-४ स्थित साविकको पाँचगाछी गाविसमा पर्ने एउटा गाउँ डुबानमा परेको छ। बनियानी खोला र कमल खोलाको बीचमा पर्ने उक्त बस्तीका करिब २२ घर परिवार विपन्न बस्ती डुबानमा परेको छ। डुबानमा परेकालाई स्थानीय प्रहरी चौकी शिवगञ्जले सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको बताइएको छ। जिल्लाका ठूला नदीहरु कनकाई, मेची, कमल, बिरिङ, रतुवा, बनियाँनीलगायत खोलाको बहाव बढेको छ।

कनकाई नदीको बहावले खतराको संकेत नाघ्यो

जिल्लाको कनकाई खोलाको बहाव खतराको संकेतभन्दा माथि बढेको बताइएको छ। जिल्ला अपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार कनकाई नदीको बहाव ४ मिटर भन्दा धेरै रहेको बताईएको छ। केन्द्रका अनुसार पानीको बाहव ३ दशमलव ७ मिटर नाघेपछि चेतावनीको संकेत हो। ४ दशमलव २ मिटर नाघेपछि नदीले क्षति पुर्याउने खतरा बढी हुने केन्द्रले जनाएको छ। जसका कारण खोला नजिकाका बस्ती डुबानको खतरामा परेका छन्। पानी पर्ने क्रम अझै नरोकिएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ।

यस्तै कमल खोलामा आएको बाढीले गौरिगञ्ज १ स्थित बालुबाडी बस्ती डुबानमा परेको छ। बढीले डुबानमा परेपछि उनीहरुलाई स्थानीय प्रहरी, स्थानीयवासीको सक्रियतामा सुरक्षित स्थानतर्फ सारिएको छ।

यस्तै गौरिगञ्ज १ र शिवसताक्षी ४ को सिमानमा पर्ने रंगियाथान बजार आसपासका घरहरु कनकाई खोलाको कटानले डुबानमा परेका छन्। खोलाको कटान तिब्र भएकाले बस्ती विस्थापित हुने खतरामा पर्ने सम्भावना रहेको स्थानीयवासी केशव भट्टराईले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार त्यहाँ पनि धना खेती लगाइएका जग्गा नदीले धमाधम कटान सुरु गरेको छ।

नेपाल रेडक्रस सोसाइटीकी स्थानीय सामाजिक परिचालक कमला थापाका अनुसार कनकाई नदीमा लगाइएको कच्ची बाँध भत्काउन सुरु गरेको छ। नदीको कटान नरोकिइएमा त्यहाँ दर्जनौं घर डुबानमा पर्ने खतरा रहेको उनले बताइन्।

यस्तै, कनकाई खोलाको बाढीले झापा गाउँपालिका ७ स्थित दयाधाम जाने बाटोमा सानो माईखोलाको पुल नाघेको छ। त्यहाँको बस्ती जलमग्न भएका कारण स्थानीय विद्यार्थीहरु विद्यालय समेत जान नसकेको बताइएको छ। बस्तीनै जलमग्न भएपछि बालबालिकालाई विद्यालय नपठाएको स्थानीय गंगा बस्नेतले बताए।

यता, जिल्ला प्रहरी कार्यालय झापाले भने अहिलेसम्म त्यति ठूलो क्षति नभएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले बर्खाको समय भएकाले केही क्षेत्र डुबानमा परेको बताए। उनले भने, ‘बर्खाको समय हो, केही क्षत्रे डुबानमा त परेकै छ, तर त्यत्रो ठूलो क्षति भने भएको छैन।’ उनले लगातार वर्षा भइरहेकाले खतरा भने रहेको उनले बताए। उनले सबैलाई सतर्क रहन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.