|

भोजराज कार्की

    सोलुखुम्बु : जिल्लाका विभिन्न गाउँमा किसानले लगाएको मकै सुत्ला नलाग्दै भालुले नष्ट गर्न थालेको छ। जिल्लाको माथिल्लो लेक क्षेत्रमा भदौमा खानयोग्य भएको मकै खेती भालुले खाएर नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन्।

    दैनिक तीनवटासम्म भालुले मकै स्वाहा पार्न थालेपछि गोराखानीका किसान वडा कार्यालयमै उजुरी गर्न पुगेका छन्। दिउँसै घरनजिकै भालु देखापर्ने मानिसलाई आक्रमण गर्ने तथा खेतीबाली नै नष्ट गर्नथालेपछि किसान राहत तथा क्षतिपूर्तिको व्यवस्था गरिदिन वडा कार्यालयमा पुगेका हुन्।

    सोलुदूधकुण्ड नगरपालिका-९ धारापानी, लाप्चा क्षेत्रमा तीनवटा भालुले दैनिक मकैको बोट नै नष्ट गर्ने गरेको स्थानीय पीडित फुर्वा तामाङले गुनासो गरे। तामाङसहित एक समूह नै वडा कार्यालयमा लिखित रुपमा मानिसले खान लगाएको खेती नष्ट गरेकाले क्षतिपूर्ति वा अन्य विकल्प खोजीदिन आग्रहसहित लिखित निवेदन दिएको सोलुदूधकुण्ड नगरपालिका-९ गोराखानीका वडा अध्यक्ष काजी शेर्पाले बताए। अध्यक्ष शेर्पाले भने, ‘यो वडाको पहिलो उजुरी हो।’ अध्यक्ष शेर्पाका अनुसार प्राप्त निवेदनलाई जिल्ला वन कार्यालयमा पठाइएको छ। 

    जंगली जनवारलाई कृषकले संरक्षण गर्नुपर्ने तर, कृषकले लगाएको खेती नष्ट गरेमा क्षतिपूर्ति कसैले नपाउने गरेको कृषक अन्तरी तामाङको भनाइ छ। तामाङले भने, ‘भालु मार्नु हुँदैन भन्छन्, मार्‍यो भने जेल बस्नुपर्छ रे तर, हाम्रो खेती खान्छ क्षतिपूर्ति पनि पाइन्छ कि पाइन्दैन थाहा छैन।’ तामाङले गुनासो गर्दै भने, ‘यसरी जंगली जनवारले खेती नष्ट गर्ने अनि सरकारले पनि केही व्यवस्था नगर्ने हो भने त हामी के खाएर बाँच्नु?’

    हिजोआज भालुले खेती नष्ट गर्न थालेपछि यहाँका कृषक रातभर जाग्राम बस्ने गरेका छन्। बारीको डिलमा स-साना छाप्रो बनाएर जाग्राम बसेका किसान ड्रम बजाएर हल्ला गर्दै रात काट्ने गरेको बताउँछन्। तामाखानीका प्रमेबहादुर मगरले भने, ‘रातभरि खेतीको संरक्षण गर्ने दिनभरि सुत्ने गर्छौं।’

    जिल्लाको गोराखानी, केरुङ, टाप्टिङ, सल्लेरी, बासा, टाक्सिन्दु, नेले, लाखिम, वाकु, जुभिङ, कांगेल लगायतको क्षेत्रमा भालुले बढी सताउने गरेको छ। बिहान बेलुका बाहिर नस्किँदासमेत केतिबेला भालुको आक्रमणमा परिने हो भनेर ज्यानै जोखिममा राखेर निस्कनुपर्ने बासाका भेषराज पौडेलको भनाइ छ।

    अधिकांश मानिस घरनजिकै बारीको काम गर्न जाँदा भालुको आक्रमणमा पर्ने गरेको जिल्ला वन कार्यालय सोलुखुम्बुका वन अधिकृत मेघराज राईको भनाइ छ। भालुले मानिसलाई घाइते बनाएमा वा ज्यान गएमा १० लाखसम्म नेपाल सरकारले पीडितलाई उपलब्ध गराउने भए पनि खेतीबारे आफू स्पष्ट नभएको पनि अधिकृत राईको भनाइ छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.