समाज

माध्यमिक तह पढाइ हुने मदरसा नहुँदा पढ्न छाड्दै झापाको मुस्लिम समुदायका विद्यार्थी
SHARES

साउन २७, २०७४

    झापा : माध्यमिक तह अध्यापन हुने धार्मिक विद्यालय 'मदरसा' नहुँदा झापाको मुस्लिम समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन्। आधारभूत तहको पढाइ गर्ने मदरसा भने सञ्चालनमा छन्। जिल्ला शिक्षा कार्यालयबाट आधारभूत तहको सम्बन्धन लिएर सञ्चालित मदरसाबाट पढाइ पूरा गरेका विद्यार्थीहरु माथिल्लो कक्षामा अध्ययन गर्न नपाएर पढाइ नै छाड्नुपर्ने अवस्थामा छन्।

    मदरसाबाट आधारभूत तहको अध्ययन पूरा गरेका विद्यार्थीले चाहेमा अन्य विद्यालयमा भर्ना हुन त पाउँछन्, तर पाठ्यक्रम र विषयवस्तु निकै अलग हुने भएकाले विद्यार्थीहरु त्यसतर्फ आकर्षित छैनन्। जिल्ला शिक्षा कार्यालय झापाले मदरसासहित विभिन्न धर्म सम्प्रदायका विद्यालयलाई कक्षा ५ सम्म पठनपाठन गराउन अनुमति दिएको छ।

    कतिपयले आधारभूत तह उत्तीर्ण गरेपछि पढाइ छाड्ने गरेको मुस्लिम समाज झापाका अध्यक्षसमेत रहेका मेची अञ्जुमन इस्लामिया मदरसाका अध्यक्ष अमिन अली शेखले बताए। ‘धेरैजसो विद्यार्थीहरु मदरसा छोडेपछि पढ्नै छाड्छन्, उनीहरुले सामुदायिक विद्यालय जाँदा पढ्न मुस्किल हुन्छ,’ उनले भने। सञ्चालनका लागि आवश्यक बजेट प्राप्त नहुँदा कतिपय मदरसा बन्द हुने अवस्थामा पुगेको शेखको भनाइ छ।

    जिल्ला शिक्षा कार्यालयले सिमित बजेटको मात्रै व्यवस्था गर्दा धेरैजसो मदरसाले स्थानीय दाताबाट रकम संकलन गरेर मदरसा सञ्चालन गरिरहेका छन्।

    मदरसामा पढाइ हुने उर्दू, अरबी, फारसीलगायत विषय पढाउने शिक्षक भारततिरबाट ल्याउनुपर्ने बाध्यता रहेका कारण पनि मदरसाहरु बन्द हुने अवस्थामा पुगेको उनी बताउँछन्। मदरसा छाडेर अन्य विद्यालयमा भर्ना हुँदा आफूहरुलाई पढ्न निकै गाह्रो हुने गरेको विद्यार्थी मुबारक हुसेन बताउँछन्।

    ‘पहिला कक्षा ५ सम्म हामीले उर्दू र हाम्रै भाषामा पढेका हुन्छौँ, माथिल्लो कक्षामा पढ्न पर्दा धेरै मुस्किल हुन्छ,’ उनले भने। दमक बहुमुखी क्याम्पसमा अध्ययनरत हुसेन कम्तिमा पनि कक्षा १० सम्म मदरसा सञ्चालन हुनुपर्ने बताउँछन्। ‘हाम्रो समुदायका धेरै विद्यार्थीले कक्षा ५ भन्दा धेरै पढ्दैनन्, माथिल्लो कक्षामा गएपछि नेपाली पढ्न नजान्ने हुन्छ र पढ्नै छड्छन्, त्यसकारण कक्षा १० सम्मचाहिँ आफ्नै भाषामा पढ्न पाउनुपर्छ,’ उनी भन्छन्।

    झापामा सञ्चालित ५३ वटा मदरसामा मुस्लिम समुदायका झण्डै ७ हजार विद्यार्थी अध्ययनरत छन्। यसमध्ये ५० विद्यालयले मात्र जिल्ला शिक्षा कार्यालयबाट अनुमति पाएका छन्। तीनवटा विद्यालयले अनुमति नलिइकनै निम्न माध्यमिक तहसम्म अध्यापन गराउँदै आएका छन्।

    आफ्नो धर्म, संस्कार र संस्कृति अनुकुलका विद्यालयमा मात्र पढ्न जाने गरेकै कारण राज्यले निर्दिष्ट गरेका पाठ्यक्रमतर्फ उनीहरुलाई आकर्षित गर्न प्राथमिक तहका लागि मात्रै धार्मिक विद्यालय सञ्चालनको अनुमति दिने गरिएको झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल बताउँछन्। ‘धार्मिक विद्यालय पाएसम्म सामुदयिक विद्यालय आउँदैनन्, त्यसकारण कक्षा ५ सम्म मात्र हामीले अनुमति दिएका हौँ, त्यसभन्दा माथि धार्मिक विद्यालयलाई अनुमति दिने नियम नै छैन,’ बरालले थाहा खबरसँग भने।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका झापा संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]