|

भक्तपुर : जंगली बँदेलले मकैबारी तथा मृगले सिमी र काँक्रोबारी नष्ट गरेपछि भक्तपुरको सबैभन्दा विकट काँक्राबारी, आशापुरी, नैचाल र सिपाडोलको ठूलोबस्तीका किसान चिन्तित भएका छन्। धान खेत अत्यन्त कम भएको त्यस क्षेत्रको मुख्य अन्नबाली मकै हो। वर्षभरि खानुपर्ने मकै सबै बँदेलले नष्ट गरेपछि के खाने भनेर चिन्ता लाग्न थालेको उनीहरु बताउँछन्।

दिनभर जंगलमा गएर बस्ने र राती भएपछि हुलका हुल बँदेल मकैबारी पसेर मकै सोत्तर पार्ने गरेको सूर्यविनायक नगरपालिका-८, सिपाडोल ठूलोबस्तीका गंगा लामाले बताए।  विगत ४ वर्षदेखि बारीमा लगाएको मकै कहिल्यै टिप्न नपाएको भन्दै लामाले भने, ‘मकै नरोपौं बारी बाँझै हुन्छ, लगाएको मकै बँदेलको आहाराको लागि ठिक्क भएको छ।’

बहुखेती प्रविधिअन्तर्गत कृषकहरुले मकैबारीमा मकैसँगै सिमी, काँक्रो, फर्सी लगाउने गरेको ती पनि मृगले खाएर हैरान गरेको उनले बताए। मकै जोगाउन राती–राती समूह समूहमा ढ्यांग्रो बजाउँदै बारीमा मकै कुर्नुपरेको उनले बताए।

अर्का कृषक नीरु तामाङले आफ्नो नौ रोपनीको मकै पनि बँदेलले सखाप पारेको बताइन्। उनले हिँउदमा आलु रोपे पनि बँदेलले नै नष्ट गरिदिने गरेको व्यथा सुनाउँदै भनिन्, ‘आलु लगायो बारी नै गोरुले जोते जस्तो गरी बँदेलले जोत्दै लगेको छ, हेर्दै डरलाग्दो, पाए त हामीलाई नै सिध्याउँछ बँदेलले।’

भक्तपुरको दक्षिणपूर्वी सिमानामा रहेको घना जंगलमा बँदेल, मृग, स्याल, चितुवाजस्ता जंगली जनाहरुको बसोवास रहेको छ। राती मकैबारी कुर्न जान पनि चितुवा र स्यालको डर हुने गरेको स्थानीय कृषक सन्तु तामाङले बताए। उनले भने, ‘बारीमा कुर्न जाऊँ चितुवाको डर, नजाऊँ मकै सबै बँदेलले सोत्तर पार्दछ।’

आशापुरीका ठूलो कान्छा तामाङले जिल्ला कृषि कार्यालय र जिल्ला वन कार्यालयमा बँदेलले बाली नष्ट गरेको जानकारी गराए पनि कुनै राहत नपाएको गुनासो गरे। जंगल छेउछाउको बाली बँदेलले पूर्ण रुपमै नष्ट गर्ने गरेको सूर्यविनायक नगरपालिका वडा नं. ८ का अडा अध्यक्ष किरण थापाले बताए। उनले वडामा लिखित रुपमा नभई मौखिक गुनासो आएको बताउँदै वडाले तत्काल केही गर्न सक्ने योजना नभएको तर, नपा बोर्डमा छलफल गराएर आवश्यक कदम चाल्ने बताए।

जिल्ला कृषि कार्यालयका प्रमुख पूर्ण ढुंगानाले कृषक गुनासो लिएर आउने गरेको स्वीकार गर्दै जंगली जनावरले बालीनाली नष्ट गरे कृषि कार्यालयले नभई वन कार्यालयले क्षतिपूर्ति दिने व्यवस्था भएको जानकारी गराए।

के भन्छ वन कार्यालय?

बँदेलले बाली नष्ट गरेको सम्बन्धमा जिल्ला वन कार्यालयमा गुनासो आएको बताउँदै सहायक वन अधिकृत सञ्जीव आचार्यले ऐनले बँदेलले बाली नष्ट गरे क्षतिपूर्ति दिने व्यवस्था नभएको बताए। वन्यजन्तुसम्बन्धी ऐन २०६९ ले हात्ती, गैंडा र अर्नाले बाली नष्ट गरे मात्र क्षतिपूर्तिको व्यवस्था भएको उनले जानकारी दिए।

उनले भने, ‘बँदेलले बाली नष्ट गरेको सम्बन्धमा कार्यालय प्रमुख स्वयं निरीक्षणमा जानुभएको थियो तर, ऐनले नमिलेपछि क्षतिपूर्ति दिन सकिएन।’ उनले बँदेलले मानवीय क्षति गर्‍यो भने सामान्य, आंशिक र मृत्युको गरी तीन किसिमले क्षतिपूर्ति दिने व्यवस्था रहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.