|

कपिलवस्तु : जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचन २ भदौ का लागि निर्धारण गरिएको छ। प्रमुख जिल्ला निर्वाचन अधिकृतको कार्यालयले समन्वय समितिको निर्वाचन कार्यक्रम प्रकाशित गर्दै २ भदौका लागि निर्वाचनको मिति तय गरेको हो। समितिको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट ३ जनाको नाम चर्चामा रहेको छ। समन्वय समितिमा कांग्रेसको तर्फबाट तेजबहादुर रायमाझी, अनुप पाण्डेय र नारायण खनालको मुख्य चर्चा सुनिन्छ। 

राजनीतिक दल र निर्वाचन कार्यालयसँग सरसल्लाह गरी समितिको निर्वाचनको मिति तोकिएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले बताए। उनले समितिको निर्वाचनको प्रक्रिया अघि बढेको समेत बताए। प्रकाशित कार्यक्रमअनुसार २९ साउनमा मनोनय पत्र दर्ता र २ भदौमा निर्वाचनको मिति तोकिएको छ। ‘हामीले निर्वाचनको प्रक्रिया अघि बढाएका छौं, त्यसैअनुसार अघि बढ्छौं’ उनले भने। 

जिल्लामा साताअघि नै समन्वय समितिको प्रथम जिल्ला सभाले समितिको संख्या ९ सदस्यीय रहने गरी निर्णय गरेको थियो। जिल्ला सभामा स्थानीय तहका प्रमुख र उपप्रमुख मात्र सदस्य रहने प्रावधान छ। जसअनुसार जिल्लाका १० तहमा गरी कुल २० जना मतदाता छन्। २० मतमध्ये कांग्रेसको १० मत रहेकोले समितिमा कांग्रेसकै पकड हुने कांग्रेस जिल्ला सभापति सुरेन्द्र आचार्यले  बताए। एमालेको ५, संघीय फोरमको २, माओवादी केन्द्रको एक तथा स्वतन्त्र एक र राजपाको एकमत गरी २० मत छ। समन्वय समितिको बहुमतका लागि कांग्रेसको एक सिटको मात्र आवश्यकता  छ। 

स्वतन्त्र रुपमा विजयी भएका कृष्णनगरका प्रमुख रजतप्रताप साह, उपप्रमुख माओवादी केन्द्रकी सवनम खातुन र स्वतन्त्र तथा राजपा नेता शुद्धोदन गाउँपालिकाका प्रमुख निसार अहमद खानले समेत कांग्रेसलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको कांग्रेस सभापति आचार्यले बताए। तर, प्रमुख रजतप्रताप साहले आपूmसँग कांग्रेस र एमाले नेताले सहयोगका लागि आग्रह गरेको भए पनि अझै कुनै अडिग निर्णय भने नलिएको प्रस्ट्याएका छन्। 

उता, एमालेले पनि समन्वय समितिमा आप्mनो शाख जोगाउन आन्तरिक तयारी गरेकोे छ। एमालेका जिल्ला उपाध्यक्ष बाबुराम खनालले आफूहरुले कांग्रेस, संघीय समाजवादी फोरम, माओवादी केन्द्र र स्वतन्त्र रुपमा विजयी भएकाहरुसँग छलफल अघि बढाएको जनाए। कांग्रेस एकलौटी ढंगले अघि बढेमा आफूहरुले कुनै हालतमा पनि निर्विरोध हुन नदिने र उम्मेदवार उठाउने उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.