|
मधेस आन्दोलनको फाइल फोटो

काठमाडौं : सरकारले मधेस आन्दोलनको क्रममा मारिएका १३ र तनहुँमा पारिएका एक जनालाई सहिद घोषणा गरेको छ।

साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले १० जनालाई र हालै चार जनालाई सहिद घोषणा गरेको हो। साउन ५ गतेपछि कुन मितिको मन्त्रिपरिषद बैठकले चार जनालाई सहिद घोषणा गरेको भन्ने खुलाइएको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेतासँग सहिद घोषणा हुन बाँकीको नामावली माग गरेका थिए, राजपाले ती नाम उपलब्ध गराएपछि सहिद घोषणा गरिएको हो।

‘हामीले मधेस आन्दोलनमा मारिएका तर सहिद घोषणा हुन छुटेका १५ जनाको नाम बुझाएका थियौं तर सरकारले १४ जनालाई मात्र सहिद घोषणा गरेछ’, राजपा महासचिव केशव झाले थाहाखबरसँग भने ‘सप्तरीका जितेन्द्रनारायण देवलाई यो सरकारले अझै सहिद घोषणा गरेको छैन।’

सप्तरीका देवको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको मानव साङ्लो प्रदर्शनीको क्रममा २०७२ साल कात्तिक ३ गते मृत्यु भएको राजपाका नेताको दाबी छ।

खुलामञ्चमा रिले अनशन बस्ने पनि सहिद!

सहिद घोषित हुनेहरुमा काठमाडौंको खुल्लामञ्चमा रिले अनसन बसेका बर्दियाका बाबुराम शर्मा भुसाल पनि परेका छन्। २०७३ साल भदौ पाँच गते मृत्यु भएको भन्दै सहिद घोषणा गरेको छ। मन्त्रिपरिषदले रौतहटका रामप्रवेश साहको रौतहटमा आन्दोलनको क्रममा मृत्यु भएको र पहाडि भूभागमा सीमांकन विरुद्धको आन्दोलन गर्ने क्रममा तनहुँका रोशन दुराको समेत मृत्यु भएको भन्दै सहिद घोषणा गरेको छ।

मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार बाँकेका जमिल घात, सर्लाहीका नागेन्द्र ठाकुर, सुनसरीका दुखीलाल मेहता र सप्तरीका रघु साप्रीलाई सहिद घोषणा गरिएको छ। उनीहरु मधेसको कुन आन्दोलनमा कहिले मारिए भन्ने कुरा खुलाइएको छैन।

एक मन्त्रीका अनुसार सरकारले साउन ५ गते बिहीबारको मन्त्रिपरिषद् बैठकबाट २०७२ असोज ३० गते मृत्यु भएका सुनसरीका रामनारायण यादव, असोज १४ गते मृत्यु भएका बालकृष्ण राय, असोज २४ गते मृत्यु भएका धनुषाका रोशन ठाकुर (रमण), असोज ८ गते मारिएका रौतहटका भगवान राउतलाई सहिद घोषणा गरेको छ।

त्यस्तै २०७२ साउन २१ गते मारिएका विद्यानन्द राय यादव, २०७१ चैत २३ गते मृत्यु भएका सप्तरीकै रामआशिष ठाकुरलाई पनि सरकारले सहिद घोषणा गरेको छ। सरकारले बाराको सिम्रौनगढमा भएको आन्दोलनको क्रममा २०७१ असोज २५ गते सुरक्षाकर्मीसँगको झडपमा परी मृत्यु भएका जयनारायण पटेललाई पनि सहिद घोषणा गरेको छ।

२०७२ देखि ८१ सहिद

सरकारले यसअघिनै ५० जनालाई सहिद घोषणा गरिसकेको थियो। योसँगै मधेस आन्दोलनको क्रममा २०७२ सालदेखि हालसम्म सहिद हुनेको सख्या ६२ पुगेको छ। एक जना तनहुँका रोसन दुरा सहित सहिदको सख्या ६३ पुगेको छ।

यो बाहेक सरकारले पहाडी भूभागको सीमांकनविरुद्धको आन्दोलनमा मारिएका ६ जना, कैलालीको टीकापुरमा प्रहरीसहित १३ जनालाई पनि सहिद घोषणा गरेको छ। योसँगै २०७२ सालदेखि यता सहिद हुनेको सख्या ८१ पुगेको छ।

राजपाले यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई १२ जना मधेस आन्दोलनमा मारिएकालाई ;हिद घोषणा गर्न माग गरेको थियो। तत्कालिन उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले आन्दोलनमा मारिएकाको प्रमाण नजुटेको, नेपाली नागरिकता नभएको, आन्दोलनका घटना भन्दा पछि मृत्यु भएको र अन्य कारणले मृत्यु भएको भन्दै सहिद घोषणा गर्न मानेका थिएनन्।

स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन संविधान संशोधन विधेयक पास गराउनु पर्नेसहित राजापाले मधेश आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्न माग गर्दै आएको थियो। आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने माग सरकारले पूरा गरेसँगै राजपालाई निर्वाचनमा जान दबाब परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.