|

गोरखा: भूकम्पपछि स्थानान्तरण हुनुपर्ने वस्तीको पहिलो नम्बर सूचीमा रहेको गोरखाको केरौँजा गाउँ पहिरोको जोखिममा परेको छ। भूकम्पले ध्वस्त दुर्गम गाउँ केरौँजाका ६० घर उच्च जोखिममा परेको स्थानीय एलिजा गुरुङले बताइन्। ‘बर्खाको बेला पानी आएको छ। गाउँको माथिबाट पनि पहिरो झर्न थालेको छ। तलबाट पनि उत्तिकै पहिरो आएको छ’, उनले थाहाखबरसँग भनिन्, ‘पहिरो अब गाउँमै पस्न थालिसक्यो। कुनै घरको पिँडीमै पुगिसक्यो।’ 

पहिरोकै कारण जोखिम बढेपछि पाँच घर परिवारले यसअघि नै घर छोडेर नजिकैको पारि डाँडामा टहरो बनाएर बसिसकेका छन्। अहिले करिब ६० घर उच्चजोखिममा परेका भए पनि केरौँजाका करिब ३०० घरधुरी स्थानान्तरण गर्नुपर्ने सूचीमा रहेको पुनर्निर्माण प्राधिकरण गोरखाले जनाएको छ। 

‘पानी परेपछि त गाउँका कसैको केही गर्ने उपाय नै चल्दैन’, उनले भनिन्, ‘गाउँमुनिको पहिरोमा ‘ग्याबियन वाल’ भर्ने भनेका थिए, त्यहीँ ठूलो पहिरो जान थाल्यो, केही गर्नै पाएनन्।’ केरौँजाका कान्छा गुरुङ, माया गुरुङ, राममाया गुरुङ, यत्ना गुरुङ, धनबहादुर गुरुङका घर पहिरोको जोखिममा परेर छोडेको महिना दिन भइसकेको स्थानीयले टेलिफोनमा जानकारी दिए। घर छोड्नेहरूले आफन्तको जग्गामा टहरो बनाएर शरण लिएका छन्। अहिले जोखिममा रहेको कामी गाउँभन्दा तल्लो गाउँका मानिसहरूले पनि सरसामानहरू सुरक्षित ठाउँमा सार्न थालेको उनले टेलिफोनमा जानकारी दिइन्। 

गत वर्षको बर्खायाममा पनि केरौँजा गाउँ पहिरोको उच्च जोखिममा परेको थियो। पहिरो गएका बेला विभिन्न गैरसरकारी संस्था, सरकारी निकायहरू त्यहाँ जाने भए पनि दीर्घकालीन रूपमा कसैले काम नगरेको गुरुङले गुनासो गरिन्। गत वर्ष पनि पहिरोले केरौँजा गाउँका ९० घर र केरौँजावेँसीका २३ घर पुरेको थियो भने चार जनाको ज्यान गएको थियो। 

केरौँजा गाउँ भूकम्पपछि बस्नै नहुने भएको छे। भूगर्वविद्हरूले समेत केरौँजा गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताए पनि त्यसो हुन सकेको छैन। ‘गाउँलाई कहाँ स्थानान्तरण गर्ने भन्नेबारे अध्ययन गर्न असारको पहिलो साता भूगर्भविद्हरूसहितको टोली केरौँजा गएर अध्ययन गरी काठमाडौँ फर्केको छ’, जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘अध्ययन गरेर फर्केको टोलीले के प्रतिवेदन बुझायो, जानकारी आएको छैन। खासमा आसपासमा उपयुक्त बस्ने ठाउँ छ या छैन भनेर त्यो टोलीले भनेपछि मात्र केरौँजा गाउँ स्थानान्तरणबारे के गर्ने भन्ने थाहा हुन्छ।’ 

केरौँजाको पूरै गाउँका करिब ३०० घरधुरी स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गोरखाका प्रमुख राजेन्द्र कार्कीले बताए। स्थानान्तरण भएर जानेहरूले पाउने दुई लाख रूपैयाँको माग दाबी फारम पुनर्निर्माण प्राधिकरणले यही हप्ताभित्र केरौँजा पठाउने तयारीसमेत गरेको छ। 

‘केरौँजाका ३०० घर हाराहारी स्थानान्तरण गर्नुपर्ने भनेर अध्ययनले देखाएको छ’, कार्कीले भने, ‘स्थानान्तरणका लागि पीडितले पाउने दुई लाख रूपैयाँको माग दाबी फारम केरौँजा पठाउन लागेका छौँ। त्यसपछि हामी रकम माग गर्छौँ।’ स्थानान्तरणका लागि दुई लाख रुपैयाँ लिएकाहरूले घर बनाउन सरकारी अनुदानको तीन लाख रूपैँया पनि पाउने उनले बताए। 

जिल्ला दैवीप्रकोप उद्धार समितिलाई केरौँजा गाउँ स्थानान्तरण गर्न पुनर्निर्माण प्राधिकरणले पत्राचार नै गरे पनि अहिलेसम्म सुरक्षित स्थानको खोजी हुनसकेको छैन। कामी गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको स्थानीय शिक्षक सञ्जय ढकालले बताए। केरौँजामा नेपाली सेनाले बनाएको अस्थायी सामूहिक आवास पनि पहिरोको चपेटामा परेको स्थानीयले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.