|

पर्वत : म्याग्दीका विभिन्न ग्रामिण क्षेत्रमा बिना अनुमति अवैध रुपमा सञ्चालनमा आएका औषधि पसलहरुले कानुनी प्रक्रिया पूरा गर्न अटेर गरेका छन्। सरकारको अनुमति बिना संचालन गरिएका फार्मेसी र क्लिनिकहरुलाई कानुनी प्रक्रिया अनुसार दर्ता गरी संचालन गर्न  पटक– पटक ताकेता गरिहेको छ। तर मेडिकलहरुले टेरेका छैनन्।

अवैध रुपमा रहेका औषधि पसलहरुले बिरामी भर्ना गर्ने, आफुखुसी औषधि दिने, उपकरणहरू जडान गरेर विरामीको उपचार गर्ने गरेको पनि पाइएको छ। ग्रामिण क्षेत्रमा अति ब्यस्त मानिने बजारहरूमा रहेका औषधि पसलका बारेमा सेवाग्राहीले समेत गुनासो गर्ने गरेका छन्। सम्बन्धित निकायले चासो नदेखाएका कारण नागरिकको स्वास्थ्यमा खेलवाड भैरहेको छ।

बेनी अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बरिष्ठ मेडिकल सुपरिटेन्डेन डा. रोशन न्यौपानेका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले गरेको स्थलगत अनुगमन तथा विवरण संकलनका क्रममा विभिन्न ठाउँमा गरेर ८० ओटा औषधि पसल रहेको भेटिएका थिए। त्यस्तै, किराना पसलमा पनि औषधि बेच्ने र निश्चित समयको तालिम लिएर झोलामा औषधि पसल संचालन गर्नेको संख्या करिब ४० को हाराहारीमा पाइएको थियो।

अटेर गरे औषधि पसलहरुले

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले स्थानीय पत्रपत्रिका, रेडियोमार्फत दर्ता प्रक्रिया पूरा गरेर फार्मेसी तथा क्लिनिक सञ्चालन गर्न पटक–पटक सन्देश जारी गरिरहेको छ। स्वास्थ्य चौकी तथा सार्वजनिक स्थल सूचना टाँसिएको छ। तर अहिलेसम्म औषधि पसलेहरुले निर्देशन लत्याएको डा. न्यौपानेले बताए।

सदरमुकाम बेनीमा रहेका औषधि पसलहरू औषधि व्यवस्था विभागबाट अनुमति लिएर सञ्चालन भइरहेको भेएपनि सदरमुकाम बाहिरका धेरैजसो औषधी पसलहरू अवैध रहेको उनले बताए।

बेनी बजारमा १६ वटा फार्मेसी तथा औषधी पसल अनुमति लिएर सञ्चालनमा छन् भने भने सदरमुकाम बाहिरका ५ वटाले मात्र औषधि ब्यवस्था विभागबाट अनुमति लिएका छन्।

जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुका अनुसार कतिपय स्वास्थ्यकर्मीहरुकै पसल समेत अवैध छन्। अनुमति लिन अनुरोध गर्दा उनीहरुले समेत बेबास्ता गर्ने गरेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.