समान कामको समान ज्याला लागू गर्नेदेखि हिंसापीडितलाई तत्काल उद्धार गर्नेसम्म

|

काठमाडौँ: महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यको लागि सबै प्रदेशमा तत्काल उद्धार टिम गठन गरी प्रभावकारी ढंगले काम गर्ने बताएकी छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कोइरालाले महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि पहिलो प्राथमिकताका साथ काम अगाडि बढाउने बताएकी हुन्। 

बोक्सी प्रथा, छुवाछुत, छाउपडी र दाइजो प्रथा जस्ता कुसंस्कारका कारणले आज पनि सयौँ महिलाले ज्यान गुमाउनुपरेको बताउँदै मन्त्री कोइरालाले त्यस्तो विभेदबाट पीडित हुनेलाई छिटोभन्दा छिटो उद्धार गर्नका लागि उद्धार टिम गठन गरिने बताइन्। 

‘र्‍यापिड, रेस्पोन्स एण्ड एक्सन’ नाम दिइएको उद्धार टिममा प्रहरी, सरकारी कर्मचारी, नागरिक र पत्रकार रहने उनले बताएकी छन्। 

३७ बुँदे कार्ययोजना प्रस्तुत

त्यसैगरी मन्त्री कोइरालाले काम गर्न सहज होस् भनेर ३७ बूँदे कार्ययोजना सार्वजनिक गरेकी छन्। कार्ययोजनामा कानुनी तथा नीतिगत सुधार, संस्थागत तथा संरचनागत सुधार कार्यक्रमअन्तर्गत ३७ बुँदे योजना अगाडि सारिएको छ। 

कानुनी तथा नीतिगत सुधारअन्तर्गत बालबालिकासम्बन्धी ऐनलाई प्रतिस्थापन गर्ने विधेयक, राष्ट्रिय महिला आयोग विधेयक, जेष्ठ नागरिकसम्बन्धी विधेयक आदिलाई व्यवस्थापिकाबाट पारित गराउँदै कर्यान्वयनको लागि नियमावली तर्जुमा गर्ने उल्लेख छ। त्यसैगरी अनाथ तथा परित्यक्त बालबालिकालाई सामाजिक सुरक्षा उपलब्ध गराउने, बालबालिकाको पोषण तथा मानसिक स्वास्थ्यका लागि जंक फुडको प्रयोगलाई निरुत्साहित गर्नेलगायतका बुँदा अगाडि सारिएको छ। 

त्यसैगरी, वाणिज्य बैंकसँग सहकार्य गर्दै महिलालाई समूहमा कर्जा दिने, सार्वजनिक यातायातमा महिला हिंसा शून्य बनाउन साझा यातायातलगायतका सार्वजनिक यातायातका संस्थाहरूसँग सहकार्य गरी कार्यान्वयन गर्ने, सबै प्रदेशमा कम्तिमा एउटा सुविधासम्पन्न जेष्ठ नागरिक आश्रम खोल्ने, बालविवाहमुक्त अभियानलाई देशव्यापी रूपमा सञ्चालन गर्ने, बहुविवाह गर्नेलाई कानुनको दायरामा ल्याउने, सार्वजनिक स्थल र सार्वजनिक यातायात, सार्वजनिक समारोह आदिमा बालबालिका पहिला भन्ने अवधारणा स्थापित गर्नेलगायतका योजना समेटिएको छ।

विवाहमा दाइजो लिने र दिने दुवैलाई सामाजिक बहिष्कार र कानुनी कारवाही गर्ने, सबै प्रदेशमा हिंसा, बेचबिखन र ओसारपसार, दुर्व्यवहारपीडितलाई संरक्षण गर्न एकीकृत पुन:स्थापना केन्द्र खोल्ने र त्यसरी पुन:स्थापना केन्द्रमा बस्नेलाई सीप तथा दक्षता विकास गरी पारिवारिक पुन:स्थापनामा जोड दिने, छाउपडी, कम्लहरी जस्ता कुरीतिमा आधारित प्रथा अन्त्यका लागि विशेष कार्यक्रम सञ्चालन गरिने र कार्यस्थलमा हुने यौनजन्य हिंसालगायत विभिन्न क्षेत्र, खासगरी विज्ञापन र रियालिटी शो आदिमा हुने हिंसा रोकथाम गर्न आचारसंहिता बनाउने योजनामा उल्लेख छ।

यसका साथै उद्योग, कलकारखाना र निर्माण क्षेत्रलगायतका श्रमको क्षेत्रमा रहेको महिला र पुरुषबीचको असमान ज्याला अन्त्यका लागि समान कामको समान ज्याला लागू गर्न विशेष पहल गरिने कार्ययोजनामा उल्लेख छ। 

हेर्नुस् भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.