|

डडेल्धुरा : सुदूरपश्चिमको प्रमुख प्रसिद्ध धार्मिक पर्यटकीयस्थल परशुरामधाम प्रचारप्रसारको अभावमा ओझेलमा छ। परापूर्व कालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित यो क्षेत्र डडेल्धुराको भित्री मधेसमा पर्छ।

महाकालि नदीसँगै रहेको परशुरामधाम ओझेलमा परेको स्थानीयवासीको गुनासो छ। सरोकारवाला सम्बन्धित निकायले यसको संरक्षण सम्बद्र्धनमा खासै चासो नदिएको स्थानीय समाजसेवी राम सिंह ठकुराठीले बताए। धार्मिक महत्वको यो स्थान उत्तिकै सुन्दर छ। त्यसैले यो पर्यटकीय संभावना उत्तिकै छ। 

सरोकारवाला सम्बन्धित निकायले यसको संरक्षण सम्बद्र्धनमा खासै चासो नदिएको स्थानीय समाजसेवी राम सिंह ठकुराठीले बताए। धार्मिक महत्वको यो स्थान उत्तिकै सुन्दर छ। त्यसैले यो पर्यटकीय संभावना उत्तिकै छ।

परशुराम धामको विकासका लागि दिर्घकालीन गुरु योजना बनाई प्रचारप्रसारका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने रामसिंह बताउँछन्।

परशुराम धाममा परशुरामले गरेको यज्ञको अवशेष अझै पनि चुन ढुङगाको रुपमा बाँकी रहेको जनविश्वास छ।

परशुराम नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख भीमबहादुर साउद परशुरामधामको विकास गर्न आफू प्रतिबद्ध रहेको बताउँछन्। ‘चुनावका बेला परशुरामधामको विकास गर्छु भनेर वाचा गरेको थिएँ। ती वाचा पूरा गर्छु,’ उनले भने।

महाकाली नदीले गरिरहेको कटान नै पशुरामधामको मुख्य चुनौती भएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाशकुमार पाण्डे बताउँछन्। ‘नदी कटान रोक्नको लागि राज्यले ध्यान दिनुपर्छ,’ पाण्डेले भने‘ नदी कटानका कारण कुनै दिन यो क्षेत्र नै हराउने खतरा छ।’

एकातिर चूरे पर्वत श्रृंखला र अर्कोतिर महाभारत पर्वतसंगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकाम देखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ।

स्कन्द पुराणमा उल्लेख भए अनुसार नजिकै रहेको पूर्णागिरी मन्दिरमा सतिदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमीमा परशुरामले तपस्या सफल गरे। परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन्।

महाकाली (श्यामा) नदीको किनारामा रहेको चुनढंगामा बसेर भगवान शिव र विभिन्न ऋषिहरूले तपस्या गरेका कारण सबै धामको पुण्य परशुराम धामबाट पाउन सकिने पूराणमा उल्लेख  छ।

महाभारतबाट निस्किएको रंगुननदी र मानसरोवरबाट निस्किएको श्यामा, सरयु र महाकाली नदीको संगमस्थलका रुपमा  पौराणिक कथाहरुमा यस पवित्र स्थलको चर्चा गरिएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष कैलाश कुमार पाण्डे बताउँछन्।

माघ १ गते भव्य मेला

परशुरामधाममा प्रत्येक वर्ष माघे संक्रान्ति अर्थात माघ १ गते भव्य मेला लाग्ने गर्दछ। पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरु जागाराम बस्ने गर्दछन्। त्यसो गर्नाले धर्म कमाइने आस्था छ।

तत्पश्चात माघ १ गते बिहानै ४ बजेबाट महाकाली किनारमा नुहाउने भक्तजनहरुको भिड लाग्छ। माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ।

मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्ला तथा, छिमेकी राष्ट्र भारतबाट समेत तिर्थालु तथा दर्शनार्थीहरु यहाँ आउने गर्छन्।

माघे संक्रान्तीबाहेक औशी, पूर्णिमा तथा ग्रहण लागेको समयमा पनि यस क्षेत्रबाट टाढा–टाढाबाट दर्शनाथीहरु आउने गरेको पुजारी लक्ष्मणनाथ योगीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.