|

सुनसरी :  १८ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सुरु भएको साताव्यापी कार्यक्रम अन्तर्गत इटहरीमा दुईदिने युवा सामाजिक महोत्सव सुरु भएको छ। 
सुनसरीमा क्रियाशील ३५ भन्दा बढी युवाको क्षेत्रमा काम गर्ने सामाजिक संघ–संस्थाको साझेदारीमा महोत्सव सुरु भएको हो।

युवा विकास केन्द्र सुनसरीको समन्वयमा सुरु भएको साताव्यापी कार्यक्रम सुनसरीका विभिन्‍न स्थानमा युवाको नेतृत्व विकासको बारेमा केन्द्रित हुने आयोजक संस्था सक्षम युवा क्लव बराहका स्वयंम्सेवी रोहिता भट्टराईले जानकारी दिइन्। 

इटहरीमा विगत २०१३ देखि युवाको नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु भइरहेको छ। विषेश गरी युवाहरुबीचमा मित्रता र समाजप्रति जिम्मेवार बनाउने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको जिल्ला युवा समिति सुनसरीका अध्यक्ष हर्कजंग एवाङ्ग राईले बताए। 

शुक्रबारबाट सुरु भएको दुई दिवसीय युवा सामाजिक महोत्सवको पहिलो दिन ‘दिगो शान्ति र विकासमा स्थानीय जनप्रतिनिधि र युवा सहकार्यको आवश्यकता’ विषयक अन्तरसम्वाद गरियो।

युवा विकास केन्द्र र नेपाल युवा संस्था संञ्जालको समन्वयमा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जनताको काम र इटहरीको विकासको लागि आफु सधै कटिवद्ध रहेको बताए। उनले इटहरी नगरमा युवाहरुको साथ र सहकार्यमा समृद्धी र विकासका काम हुने बताए। 

अन्तरसम्वादमा ‘दिगो शान्ति र विकासमा स्थानीय जनप्रतिनीधि र युवाको सहकार्य आवश्यकता’ को विषयमा अवधारणा पत्र प्रस्तुत गर्दे सामाजिक अभियन्ता केशव दाहालले युवाहरुले जीवन, समाज र मातृभुमिप्रति इमान्दार भएर लाग्नुपर्ने बताए। 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले सरकारी स्तरबाट युवा स्वमंसेवक र युवा विकासको लागि कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराए। 

गढी गाउँपालिकाकी उपाध्यक्ष रामकुमारी चौधरीले राष्ट्रको विकास र समृद्धिको लागि विदेशिने युवाहरुलाई स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्नुपर्ने बताइन्।
युवा विकास केन्द्रको समन्वयमा भएको साताव्यापी कार्यक्रममा सुनसरीका विभिन्न ३५ भन्दा वढि संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन्।

जसमा निवन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, दौड प्रतियोगिता, वृक्षरोपण, सरसफाई, स्लो बाईक दौड, सडक नाटक, सांस्कृतिक र्‍याप लगायतका कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ। 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भोली कार्यक्रम सम्पन्‍न हुनेछ। सन् २००० देखि अगस्ट १२ तारिखमा विश्वव्यापी रुपमा युवा दिवस मनाइन्छ। नेपालमा कुल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत युवाहरु रहेको सरकारी आँकडा छ। त्यसमध्ये वर्षे ५ लाख ३८ हजार युवाहरु विदेशिने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.