|

लहान : पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षाको कारण सप्तरीको पूर्वी दक्षिणी भेगमा पचासौं घर परिवार डुवानमा परेका छन् भने ४० बिघा भन्दा बढी धान खेती कटान भएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अविरल वर्षासँगै स्थानीय खाडो नदीमा आएको पानी गाउँ पस्दा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुर मल्हनियाका करिब ३० घर डुवानमा परेको छ। खाडोको बाढीले रामपुर मल्हनियामा करिब ४० बिघा धानखेती समेत डुवानमा परेको प्रहरीले जनाएको छ। 

त्यस्तै, जिता खोलामा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका ४ अन्तर्गत पर्ने चट्टी टोल, रामटोल, मुखिया टोल र मुसहरी टोल पूर्ण रूपमा डुवानमा परेको स्थानीय सन्तोष मुखियाले बताए। तिलाठी कोइलाडी गाउँपालिका ५ को धानुक टोल र बनरझुल्ला टोल निजकै रहेको जिता खोलाको बाँध भत्किंदा शुक्रबार दिउँसो मुख्य सड़क कटान भएको छ भने आवागमन समेत बन्द भएको मुखियाले जानकारी दिए।

बाँध भत्किएर गाउँ र धान खेतमा पानी पसेपछि चारैतिर जलमग्न भएको स्थानीय भुटनीदेवी रामले बताइन्। बाँध भत्किंदा स्थानीय राजीव सिंह र रण सिंहको करिब १५ कठ्ठा धानबाली कटान गरेको छ।

३ दिनअघि हराएका वृद्ध अझै भेटिएनन्

चुरे क्षेत्रबाट निस्किने खाडो नदीमा आएको बाढीले बगाएर बिहीबारदेखि बेपत्ता भएका ६० वर्षीय बृद्ध अझै भेटिएका छैनन्। खाडो नदीमा आएको बाढीले भत्काएको बाँध मर्मत गरिरहेका सुरक्षाकर्मीलाई सघाउने क्रममा माटोको ढिस्कोसँगै बगेर बेपत्ता भएका राजविराज नगरपालिका १५ देउरीभरुवाका करिब ६० वर्षीय डोमी यादव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

उनका अनुसार बाढीमा बेपत्ता भएका यादवको खोजीका लागि बिहीबार अपरान्हदेखि नै सुनसरीको पकलीस्थत सशस्त्र प्रहरी बलको पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गणबाट झिकाइएको गोताखोर परिचालन गरिएको भए पनि अवस्था पत्ता लाग्न सकेको छैन। 

खाडो नदीमा बिहीबार बिहानदेखि आएको बाढीले तटबन्ध भत्काएपछि गाउँ पसेको बाढीले राजविराज नगरपालिका १० बिरौलसहित आसपासका गाउँ डुवानमा परेका छन्। बाँध भत्किंदा भेरिया, कोइलाडी तिलाठी, कोइलाडी बसाइन, रम्पुरा मल्हनिया, देउरीभरुवा, सकरपुरा, लौनिया लगायतका गाउँ जलमग्न भएको छ। बाढीको कारणले बिहीबार दिउँसोदेखि नै आवागमन बन्द भएको तिलाठी–राजविराज सडक खण्ड अझै राम्ररी सुचारु हुन सकेको छैन।

हेर्नुस् डुवानका थप फोटोहरु

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.