|

काठमाडौं : सरकारले बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थान प्रभावित भएकाले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको जनाएको छ। 

गृहमन्त्रालयले शनिबार सार्वजनिक अपिल जारी गर्दै प्रभावितको खोज तथा उद्धारका लागि तालीम प्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्तिहरुको परिचालन उच्च प्राथमिकताका साथ भइरहेको जनाएको हो।

झापा, मोरङ, सुनसरी, सप्तरी, रौतहट, दाङ, बाँके जिल्लाका विभिन्न स्थान बाढी र डुबानबाट बढी प्रभावित भएको भन्दै सरकारका सबै निकायबीच आवश्यक समन्वय गरी प्रतिकार्य अगाडि बढाइएको उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले यस कठिन घडीमा खोज, उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा गृहमन्त्रालयले आग्रह गरेको बताए।

देशका विभिन्न नदीको जल सतह बढिरहेको र केही नदीको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नोतर्फबाट उच्च सतर्कता अपनाउन हुनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। शुक्रबार रातिदेखि अविरल रुपमा परेको भीषण वर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन भन्दा बढीले ज्यान गुमाएका छन्। सिन्धुलीमा पहिरोमा परी एकैपरिवारका चारको मृत्यु भएको छ। 

प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै बाढिपहिरो प्रभावित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत सबै प्रकारको सहयोग प्रदान गर्न निर्देशन दिए। 

कहाँ के भयो?  

सिन्धुलीमा शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको छ। सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो। शनिबार बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र आठवर्षीय मनिष रहेको प्रहरीले जनाएको छ।

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड वर्षाका कारण बिहानदेखि अवरुद्ध बनेको छ। मुसिकोट नगरपालिका–६ अन्तर्गत भुवाचिदी नजिकै पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ। सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट तम्घास, पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने सम्पूर्ण सवारीसाधन ठप्प बनेका छन्। सवारीसाधन सञ्चालनमा आउन नसकेपछि घरबाट यात्रामा निस्केका सयौँ यात्रु समस्यामा परेका छन्। अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।  

वर्षासँगै सडकमा पहिरो खस्ने र पानीले ठूलाठूला खाडल बनाएका कारण जिल्लाका अधिकांश ग्रामीण सडकमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। यता शुक्रबार राति अविरल वर्षासँगै गएको पहिरोले गुल्मीमा एक गोठ पुरिँदा दुईवटा चौपाया मरेका छन्। जिल्लाको मुसिकोट नगरपालिका–६ कुर्घास्थित कृष्ण परियारको गोठमा रहेका गोरु र भैँसीको पाडी पहिरोले पुरिएर मरेको जिप्रका गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।

सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ।
भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन्। उनकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०/३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। 

पाल्पामा शुक्रबार रातिदेखि परेको अबिरल वर्षाले रामपुर नगरपालिका– १० मा एक घर पुरिएको छ भने दुई घर जोखिममा परेका छन्। कालीगण्डकी करिडोरको आडैमा रहेको दुर्गा मन्दिर टोलमा रहेको छमबहादुर आलेको घर पुरिएको हो। कालीगण्डकी करिडोरको बाटोमा खनिएको कच्ची नाली बाढीले भत्काउँदा घर पुरिएको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए। बाढीले घर पुरिएपछि आलेको परिवार अहिले आफन्त र छिमेकीको शरणमा बसेका छन्। 

त्यस्तै सोही स्थानकै देवनाथ अधिकारी, भोलानाथ पाण्डेय र आनन्द पाण्डेको घर जोखिममा रहेको छ। कालीगण्डकी करिडोरले कच्ची नाली निर्माण गरेका कारण यहाँ क्षति हुन पुगेको हो। करिडोरको बाटोमा करिब पाँच मिटर चौडाइदेखि १० मिटर गहिराइसम्म पानीले खोलेको छ। यस क्षेत्रमा करिडोरको बाटोको नाली भत्किँदा करिब पाँच बिगाहा क्षेत्रफलमा लगाइएको धान पुरिएको कृषकले बताएका छन्। 

जाजरकोटमा लगातार परेको पानीका कारण खोलानाला बढेपछि दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ। विद्युत् उत्पादका लागि ल्याइएको पानीको नहर भत्किएपछि विद्युत् सेवा अवरुद्ध भएको छ। लाखौँ रकम खर्चेर निर्माण गरेका विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । त्रिवेणी नलगाड नगरपालिका –३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ।  यो विद्युत् अवरुद्ध भएपछि यहाँका ५० भन्दा बढी घर अन्धकारमा बस्न बाध्य भएका छन्।  

चितवनमा बाढीका कारण दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले यहाँका दर्जनौँ बस्तीका सयौँ घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए। उनले यहाँका तीन/चार सयभन्दा बढी घर डुबानमा परेको जानकारी आएकाले यस सम्बन्धी विवरण संकलन भइरहेको बताए। मानवीय क्षति भने भएको छैन। माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका छन्। यहाँका ठाडा खोला र रिउ नदीमा बाढी आएको छ। 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बाढीले ३०/४० घरलाई पूर्णरुपमा क्षति पुर्‍याएको छ भने २०० जति घरमा आंशिक क्षति पुगेको जानकारी दिए।

महोत्तरी जिल्लामा अबिरल वर्षाका कारण दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन्। तीन/चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन्। 

लगातारको वर्षाका कारण जिल्लाको मुख्य पक्की सडक जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने स्थानीयवासीलाई निक्कै कष्ठपूर्ण भएको छ। 

सप्तरीमा अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेको छ। बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरी प्रशासनबाट थाहा भएको छ। जिल्लाको खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन्। 

जनकपुर उपमहानगरपालिकामा अविरल वर्षाका कारण जलमग्न भई घरहरूमा घरमा पानी पसेको छ। पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय परिसर डुबानमा परेका छन्। 

जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा अधिक पानी जमेको छ भने रासस र हुलाक कार्यालयका कोठामा पानी पसेर कागजातलाई भिजाएको छ। अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीले सास्ती भोग्नुपरिरहेको छ। यहाँका नालाका पानीले परिसर दुर्गन्धित भएको छ।

कञ्चनपुरको वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ। कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन्। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीबाट घरतर्फ जाँदै गर्दा नदीमा दुवै जना बगेको स्थानीयवासी सुरतबहादुर साउदले बताए।

स्थानीयवासी जनकलाल चौधरीसहितको टोलीले दुवै जनालाई उद्धार गरेको बताइएको छ। नदीमा पुल नहुँदा यहाँका बासिन्दाले बाढी आएका बेला पनि नदी तर्नुपर्ने बाध्यता छ।

यता कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा मंगलबार राति पहिरोसहित बढेर आएको खहरे खोलाले घरवारविहीन बनाएका र उच्च जोखिममा परेका १६ घरपरिवारलाई अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) ले शुक्रबार दुई लाख ४० हजार राहत वितरण गरेको छ। 

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए। मृतकको अझैसम्म नाम खुलेको छैन। उनका अनुसार सो गाउँपालिककाअन्तर्गत विभिन्न गाउँमा बाढी पसेकाले हालसम्मको विवरण आउन सकेको छैन। 

बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताए। बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ। 

मोरङमा पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ। दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले जानकारी दिए। मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन्। अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

मकवनापुरको हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा आज राति परेको वर्षाले पहिरो गई हेटौँडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ। 

कुलेखानी–काठमाडौँ र फाखेल–काठमाडौँ सडकखण्ड अवरुद्ध भएकाले बिहानदेखि भैँसेस्थित त्रिभुवन राजपथबाट काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यसैगरी हेटौँडाबाट गएका यातायातका साधन चिसापानीगढीबाट फर्काई भीमफेदी हुँदै भैँसेतर्फ लगिएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले जानकारी दिए। वीरगञ्ज, जनकपुर, चन्द्रनिगाहपुर र हेटौँडा गरी दैनिक करिब ७५० सुमो जिप हेटौँडा,कुलेखानी हुँदै काठमाडौँ जाने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.