|

रामेछाप : मौसम परिवर्तनसँगै रामेछापमा भाइरल ज्वरोका बिरामी बढेका छन्। सदरमुकाम मन्थलीमा रहेका प्राय सबै अस्पतालहरुमा दैनिक ३० जनाभन्दा बढी बिरामी आउने गरेको तिनीहरुमध्ये अधिकांशमा भाइरल ज्वरोको समस्या देखिएको रामेछाप सामुदायिक अस्पतालले जानकारी दिएको छ।

अरू बेला हप्तामा १/२ जना कहिलेकाँही भर्ना हुने  रामेछाप सामुदायिक अस्पतालमा अहिले दैनिक ७ देखि १० जना बिरामी भर्ना हुने गरेको अस्पतालमा कार्यरत कर्मचारी दीपक श्रेष्ठले बताए। उनले भने, ‘अस्पतालमा दैनिक ३५ देखि ४० जना ज्वरोका बिरामीहरु आउने गरेका छन्। अधिकांशलाई भर्ना गर्नुपर्ने अवस्था छ। तर, बेड अभावमा भर्ना गर्न सकिएको छैन।’ एक अर्कामा एकदमै छिटो मात्रमा सर्ने भाइरल ज्वरोका कारण एउटै परिवारका ५ जनासम्म बिरामी एउटै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।

रामेछापको सदरमुकाम मन्थलीमा तामाकोसी सहकारी अस्पताल, साहरा समुदायिक अस्पताल, रामेछाप सामुदायिक अस्पताल, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र, दिलश्री मेडिकल हललगायत सबै अस्पालहरुमा भाइरल ज्वरोका बिरामीले भरिएका छन्।  जिल्लामा भाईरल ज्वरोले धेरै बिरामी बढेर भर्ना गरेर राख्ने ठाउँको अभाव हुनु दुखद भएको मन्थली नगरपालिका-१० चनखुका वीरबहादुर  तामाङ बताउँछन्। उनी आफूसहित परिवारका ५ जनालाई तामाकोसी सहकारी अस्पतालमा उपचार गराइरहेका छन्।

रामेछाप, ओखलढुंगा, सिन्धुली र दोलखा  जिल्लाका विभिन्न ठाउँबाट आएका बिरामीहरुमा अत्याधिक ज्वरो आउने, काम्ने, र बेहोस हुने लक्षण देखिएको तामाकोसी सहकारी अस्पताल मनथलीका निर्देशक डाक्टर सुमन कर्मचार्यले बताए। 

 सबैजसो क्षेत्रबाट यस्ता बिरामी आएको भए पनि रामेछापका चनखु, फुलासी, तिल्पुङ, रामेछाप, कठजोर, भलुवाजोर लगायतका ठाउँका बिरामी धेरै रहेको उनको भनाइ छ। कर्मचार्यका अनुसार तामाकोसी अस्पतालमा अघिल्ला महिना हरुमा हप्तामा ३ देखि ६ जना बिरामी भर्ना गरिए पनि साउन लागेदेखि दैनिक १० देखि १२ जना बिरामी अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.