|

काठमाडौं : पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ।

आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराए।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२, महासचिव, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। यसपटकदेखि दलित, मधेसी सचिव थपिएको छ। महाधिवेशनले महासङ्घलाई संघीय संरचनामा लैजाने छ।

सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएटसहित १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ। प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको महासचिव मगरले बताए।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

महाधिवेशनको निम्ति ९ विभिन्न उपसमितिले तयारी पूरा गरेको महासचिव मगरले बताए। महाधिवेशनमा करिब एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन्। बाहिरबाट आउने करिब एक हजार प्रतिनिधिलाई खान र बस्नका लागि होटलको व्यवस्था गरिएको छ।

सुन्धारा, बागबजार, सोह्रखुट्टेका करिब ३०० होटेल बुकिङ गरिएको उनले जानकारी गराए।

महासङ्घले पत्रकार दुर्घटना बिमा र ज्येष्ठ पत्रकार सुरक्षाजस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेको छ। महासङ्घमा करिब १० हजार पत्रकार आबद्ध रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.