|

काठमाडौँ: ज्योति पौडेल कविता, गीत र गजल लेख्छिन्। उनको साहित्यमा सग्लो पहिचान बनिसकेको छ। उनी अमेरिका बस्छिन् तर सिर्जनामा चिन्ता र चासो स्वदेशकै गर्छिन्।

पोहोर घर-देश आउँदा आफ्नै पिताजी राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा 'अस्मिताको लुट' खण्डकाव्य सार्वजनिक गरिन्, पिताजीकै हातबाट। यसपटक भने पारिवारिक माहोल छोडेर आवरण कलाको ब्यानरमुनि शुक्रबार अनामनगर काठमाडौँमा आफ्नो १०औँ कृति- कविता, गीत र गजलको किताब 'शिरफूल' सार्वजनिक गरिन्।

ज्योतिमा पिताजीको गुण त सरेको छ नै, उनको निरन्तर साधना र प्रकाशनमा उनका जीवनसाथी बद्री पौडेलको उत्तिकै साथ सहयोग मिलेको छ। बद्री पौडेल पनि निकै चोटिला मुक्तक लेख्छन्। उनी पेसाले इञ्जिनियर हुन्। यस पटक 'शिरफूल' विमोचन समारोहका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्त थिए भने सभापति नेपाल ललितकला प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय थिइन्। आशीर्वाद दिन उपस्थित थिए, राष्ट्रकवि घिमिरे।

आयोजकका तर्फबाट सरिता र आकृति पौडेलले फूलको विशेष माला लगाउन खोज्दा छेवैमा बसेका पिताजीले भने, 'आज यो माला अतिथिहरूले लाउने हो। म त कान्छी छोरीलाई आशीर्वाद दिन आएको हुँ। स्यावास ज्योति!, 'मञ्चमा उभिएरै भने, ' केही महिना अगाडि म मरेको हल्ला गरे। सय वर्ष पुग्न लाग्दा मैले पुनर्जीवन पाएँ। अहिले कवितामै तपस्या गरिरहेको छु।'  

'शिरफूल'को भूमिकासमेत लेखेका बरिष्ठ कवि, गीतकार कालीप्रसाद रिजालले भने, 'जसरी माला बनाउँदा भाँती–भाँतीका फूलका रङ र रूपहरू सजाएर उन्नुपर्छ, त्यसैगरी गीतमा पनि शब्द, भाव, भाकाहरूको समुचित समायोजन आवश्यक हुन्छ, सजावट आवश्यक हुन्छ। यस मानेमा ज्योतिका गीतहरूमा सरल शब्द, सहज अभिव्यक्ति र जनबोलीको सरस प्रयोग भएको पाइन्छ। उनका गीतमा नेपाली माटो र नेपाली भाकाको सुवास आउँछ।'  

प्रमुख अतिथि सरुभक्तले भने, 'ज्योति र म ४० सालतिर कीर्तिपुरमा अंग्रेजीमा सँगै डिग्री पढेका हौँ।' ज्योतिको रचना गर्भको संभावना आँकलन गर्दै अंग्रेजी महाकवि शेलीको कोटेशन सुनाए, 'लेखिएका र सुनिएका गीतभन्दा नलेखिएका र नसुनेका गीत झन् कस्ता होलान्? अहिले उनी निरन्तर साधनारत छन्, पिताको पदचिह्न सुन्दर ढंगले पच्छ्याएकी छन्',  सरुभक्तले थपे, 'बधाई ज्योति।'

समारोहकी सभापति नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले आफ्नो हालै प्रकाशित गीति एल्बम राष्ट्रकवि दिँदै भनिन्, 'म उहाँको मायाले गद्गद छु। मलाई साहसी नारी भन्नुहुन्छ।' कला र साहित्यले मान्छेलाई जिउन सजिलो बनाउँछ भन्दै उनले कृतिकारलाई बधाई दिइन्।

कृतिकार ज्योति पौडेलले पिताजीको पदचिह्न पछ्याउँदै साहित्य सिर्जना गर्नुको आनन्दानुभूति सुनाउँदै राष्ट्रकविकी छोरी हुनुमा गर्व भएको बताइन्। उनले जीवनसाथी बद्री पौडेलबाट पाएको निरन्तर सहयोगले आज यहाँसम्म आइपुगेको बताउँदै विमोचित कृतिबाट केही रचना सुनाइन्।

कृतिका प्रकाशक बद्री पौडेलले ज्योतिको सिर्जना संसारमा साथ दिन पाएकोमा खुसी हुँदै अतिथिहरूलाई स्वागत गरेका थिए। पुस्तक प्रकाशनदेखि विमोचनको जिम्मा पाएका कवि/कलाकार रमेश पौडेलले भने, 'मलाई लौनचौर, अलकाबस्तीले गर्ने माया अनुभूत गर्न सक्छु, अभिव्यक्त गर्न सक्तिनँ।' उनले 'मेरो यो विश्वासको कमाइ हो' भन्दै कृतिकारलाई आवरणप्रतिको उडमाउण्ट दिए।

कवि यादव भट्टराईको सूत्रधारीमा सञ्चालित समारोहमा एलिसा पौडेलले विमोचित कृतिबाटै कविता सुनाएकी थिइन्। १२० पेजको 'शिरफूल'भित्र पहिलो खण्‍डमा कविता, दोस्रो खण्डमा गीत र तेस्रो खण्डमा विभिन्‍न भाव र विषयका गजलहरू रहेका छन्। समारोह सकिएपछि राष्ट्रकविको छेउमा झुम्मिएर फोटो खिच्नेहरूको ताँती आधा घण्टासम्म चलेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.