|
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई भेट्न पुगे। पिसाबथैलीको अपरेसन गरेर हालै अस्पतालबाट डिस्चार्ज भई टोखास्थित एक घरमा आराम गरेर बसेका भट्टराई र प्रचण्डबीच करिब दुई घण्टा कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रचण्डको सचिवालयले २ घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको बताएको छ। भेटमा अध्यक्ष प्रचण्डले पूर्व माओवादी र अग्रगामी धाराहरु बीचको एकतामा जोड दिँदै त्यसका लागि गम्भीर रुपले सोच्न नेता भट्टराईलाई आग्रह गरेका थिए। प्रचण्डको  सचिवालयले भनेको छ  'अध्यक्ष प्रचण्डले देशको जटिल राजनीतिक परिस्थितिलाई विचार गरेर माओवादीहरु एक हुनैपर्ने कुरामा जोड दिँदै सम्पूर्ण राजनीतिक परिस्थितिमा समीक्षा गरेर जान आफूहरु गम्भीर रहेको नेता भट्टराईलाई जानकारी गराउनुभएको थियो।'

प्रचण्डको प्रस्तावमा भट्टराईले भने प्रष्ट जवाफ दिएका छैनन्। उनले समग्र विषयमा समीक्षा गरेर निष्कर्षमा पुग्न सकिने बताउँदै त्यसका लागि छलफललाई जारी राख्ने प्रस्ताव गरेका प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डको वेवसाइटमा प्रकाशित विवरणमा लेखिएको छ 'दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको छ।'

नयाँ शक्ति पार्टी नेपालका नेताहरु रामचन्द्र झा र रामकुमार शर्मा केही दिनअघि नेकपा माओवादी केन्द्रमा फर्किएका छन्। त्यस्तै नेताहरु देवेन्द्र पौडेल सुनिलसहितका १५ नेताले पनि काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी विघटनतिर गएको बताएका थिए। माओवादीबाट आएका नेताहरु फेरि पुरानै पार्टीमा फर्किने प्रक्रिया थालेका बेला प्रचण्डले भट्टराईलाई फेरि एक हुन प्रस्ताव गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.