|

काठमाडौं : धेरैको घरबार बगेको छ। कतिको मृत्यु भयो। कति बेपत्ता छन्। बाँचेकाहरु पनि ढुक्कसँग घरमा निदाउन सकिरहेका छैनन्। अन्‍नबाली बगेका कारण के खाएर रात टार्ने भन्‍ने चिन्ता पीडितहरुलाई छ। चौपायाहरु बगेका छन्।

नदीको बढ्दो बहावले कतिको घर–खेत कटान गरेको छ। कतिपय ठाउँमा वर्षा नरोकिएका कारण अझै बाढीले कति ताण्डव मच्चाउँछ भन्‍ने चिन्ता छ। कति ठाउँमा पहाडबाट ढुंगा–माटो खस्‍दा पहिरोले पुरिएर सर्वसाधारणले ज्यान गुमाएका छन्। घरहरु पुरिएका छन्। 

तराईदेखि पहाडसम्म, पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारणले बाढी–पहिरोको सास्ती व्यहोरेका छन्। विराटनगर, जनकपुर, राजविराज, बर्दिया, तुलसीपुर, नेपालगन्ज लगायत देशका प्रमुख शहरसहित थुप्रै स्थान जलमग्‍न छन्। 

अस्पतालमा स्वास्थ उपचारका लागि आउनेहरुको लाइन बढ्दो छ। कतिपय ठाउँमा अस्पताल नै डुबानमा परेका कारण स्वास्थकर्मीहरुले सेवा दिन पाइरहेका छैनन्। बाढी–पहिरोकै कारण धेरैजसो बिरामी अस्पतालसम्म पुग्‍न सक्ने अवस्थामा छैनन्।

देशकै सबैभन्दा ठूलो पूर्व–पश्चिम राजमार्गसहित अधिकांश सडक अवरुद्ध छन्। लामो दूरीका गाडीहरु बीच बाटामै थन्किएका छन्। थुप्रै स्थानमा हवाई सेवा अवरुद्ध छ। 

बाढीले बिजुलीका पोलहरु बगाउँदा धेरै ठाउँमा लोडसेडिङ भएको छ। इन्टरनेटको पहुँचमा रहेका शहरी तथा ग्रामिण इलाकामा समेत सेवा राम्रो छैन। देशका थुप्रै कतिपय भूभागमा मोबाइलले काम गरेको छैन। बाढी–पहिरोको मारमा परेको देशको ठूलो जनसंख्या अहिले सम्पर्क विहीन छ। 

पछिल्लो ३ दिनदेखि देशभरको हालत यस्तै छ। त्यसमा पनि शनिबारको अवस्था कहालीलाग्दो छ। अर्थात देश पूरै शोकमा छ। 

सरकारले के गर्दैछ ?

‘देशका विभिन्‍न नदीहरुको जल सतह बढी रहेको र केही नदीहरुको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नो उच्च सतर्कता अपनाउन समेत गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

गृहमन्त्रालयले शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै देशभर बाढी पहिरोका कारण ३० जनाको मृत्यु भएको जानकारी दिएको थियो। यो संख्या अहिले बढेको छ। तर मृतकको यकिन विवरण अझै आउन बाँकी छ। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित अन्य उपलब्ध जनशक्तिलाई प्रभावकारी ढंगले परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। राहतका पोका बोकेर स्वतस्फूर्त रुपमा जाने सर्वसाधारण र उद्धारकार्यमा खट्ने स्वंयम्सेवी तथा सुरक्षाकर्मीहरुको संख्या ठूलो छ। 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.