सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई आग्रह

|

काठमाडौं : सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउन आह्वान गरेको छ। शनिबार साँझ विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको हो। 

मन्त्रालयका अनुसार बाढी तथा डुवान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्तिको परिचालन गरिएको छ। 

बाढी तथा पहिरो प्रभावित ११ जिल्लामा नेपाल प्रहरीका पाँच हजार ६००, सशस्त्र प्रहरीका एक हजार सातसय र नेपाली सेनाका आठ हजार तीनसय तालिम प्राप्त सुरक्षाकर्मी र हेलिकोप्टर खोज तथा उद्धारमा खटिएका जनाइएको छ। उद्धार गरिएकालाई विद्यालयलगायतमा आश्रय दिइएको र जिल्ला दैवीप्रकोप उद्धार समितिले खानाको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ। 

त्यसैगरी, मन्त्रालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरेको छ।

गृह मन्त्रालयका अनुसार केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोमा ११ जिल्लामा ३३ जनाको निधन भएको छ। चार जना बेपत्ता छन् भने केही घाइते छन्। कतिपय जिल्लामा मानिसहरू अलपत्र छन्।

आइतबार पनि भारी वर्षाको सम्भावना

मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ। बिहीबारदेखि सक्रिय यो प्रणालीले देशभर बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

उक्त वायुको प्रभावले शनिबार पनि देशभर वर्षात् भएको र यो क्रम आइतबार पनि जारी रहने मौसमविद् सुजन सुवेदीले जानकारी दिए।

उनका अनुसार अहिले पश्चिमका केही स्थानबाहेक देशभर बदली छ भने अधिकांश स्थानमा वर्षात् भइरहेको छ।

आइतबार देशैभर वर्षात् हुने तथा विशेषगरी मध्य र मध्यपश्चिम नेपालका तराई क्षेत्रमा भारी वर्षात् हुने मौसमविद् सुवेदीको भनाइ छ। तुलनात्मकरुपमा पूर्वी क्षेत्रमा कम वर्षात् हुनेछ। सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ। 

शनिबार पनि काठमाडौँ उपत्यकासहित देशभर वर्षात् भएको छ। धेरै स्थानमा भारी वर्षा भएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा २१७ र सबैभन्दा कम दीपायलमा पाँच मिलिमिटर वर्षात् भएको छ। नेपालगञ्जमा १६९, दाङमा १६७ र जनकपुरमा १३७ मिलिमिटर वर्षात् भएको छ। काठमाडौंमा ३० मिलिमिटर वर्षात् भएको छ। 

शनिबार काठमाडौँ उपत्यकाको अधिकतम २६ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ। दुई दिनदेखि लगातार परेको वर्षा खासगरी पूर्वी, पश्चिम र मध्यपश्चिमका तराई भेगमा बाढीको डुबान छ भने पहाडी भेगमा पहिरोले धनजनको क्षति गरेको छ। 

सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई आग्रह

यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गरेका छन्।

उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका पहल गरिदिन आग्रह गरेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

डुबानका कारण तराईमा जनधनको क्षति भएको तथा जनजीवन पूर्णरुपमा प्रभावित भएकाले थप क्षति हुन नदिन बाँधको ढोका खोल्न आग्रह गरिएको हो। सप्तकोशी, लक्ष्मणपुरलगायत ब्यारेजको ढोका आवश्यकताअनुसार भारतीय पक्षले नखोलिदिँदा नेपालतर्फ डुबान बढ्दै गएपछि मन्त्री महराले सो आग्रह गरेका हुन्।

विद्युत् आपूर्तिमा समस्या

मुलुकभर परेको अबिरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको संरचना जलमग्न भएका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ।

प्राधिकरणका अनुसार दुहबीस्थित १३२ केभी सबस्टेशन जलमग्न भएको छ भने अनारमनी–कावेली १३२ केभी प्रशारण लाइनको टावर ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ। त्यस्तै खिम्ती ढल्केबर १३२ केभी प्रशारण लाइनमा समस्या पैदा भएको छ। हेटौँडा– चन्द्रनिगाहापुर–ढल्केबर प्रशारण लाइनमा ठूला रुख ढलेका कारण विद्युत् आपूर्तिमा समस्या पैदा भएको छ। 

यसैगरी मुलुकका अन्य स्थानमा रहेका सबस्टेशन तथा वितरण केन्द्रमा समेत पानीका कारण समस्या आएको भन्दै प्राधिकरणले विद्युत् आपूर्तिमा अवरोध पैदा भएको शनिबार साँझ एक सूचनामार्फत जानकारी दिएको छ।

विगत केही दिनदेखि पूर्व तथा मध्य नेपालमा परेको अबिरल वर्षाका कारण प्राधिकरणको प्रशारण लाइन, सवस्टेशन तथा वितरण प्रणालीलगायतका संरचनामा ठूलो क्षति भएकाले विद्युत् वितरणमा समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या आएकाले मर्मत कार्यमा विशेष ध्यान दिइएको जनाएको छ।

युद्धस्तरमा मर्मत कार्य भइरहेको र यस कारणले गर्दा विद्युत् आपूर्तिमा पर्न गएको अवरोधले भएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ। छिटोभन्दा छिटो विद्युत् आपूर्तिका लागि कार्य भइरहेकाले संयमता अपनाउनसमेत प्राधिकरणले उपभोक्तामा आग्रह गरेको छ।

राहत तथा उद्धार प्रभावकारी बनाउन निर्देशन

यसैबीच, सरकारले बाढी पहिरोको घटनामा परेकाको राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। 

शुक्रबारदेखिको निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री, रक्षामन्त्री, चारवटै सुरक्षा निकायका प्रमुखसहितको आपत्कालीन बैठकले राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन गर्ने निर्णय गरेको हो। 

बैठकमा प्रधानमन्त्री देउवाले राहत तथा उद्धारमा कुनै कसर बाँकी नराख्न मन्त्री र सम्बन्धित निकायलाई निर्देशन दिए।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री जनार्दन शर्माले हालसम्मको क्षति र उद्धारका कार्यबारे आफूले प्रधानमन्त्रीलाई अवगत गराएको बताए।  

गृहमन्त्री शर्माले दिनभर राहत उद्धारका लागि स्थानीय प्रशासन र तीनवटै सुरक्षा निकाय लागिरहेको तथा केन्द्रबाट थप मद्दत र सामग्री पठाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए।

उनका अनुसार पूर्वी तराईका जिल्लामा भारी वर्षात्का कारण उद्धारमा कठिनाइ भएको छ। बाँकेलगायत क्षेत्रमा हेलिकप्टर परिचालन गर्न सकिए पनि पूर्वी क्षेत्रमा हेलिकप्टर प्रयोग गर्न अझै सकिएको छैन। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गृहमन्त्री जनार्दन शर्मा, रक्षामन्त्री भीमसेनदास प्रधान, दुवै मन्त्रालयका सचिवसहित चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.