|

काठमाडौं : पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्मै आएपछि शनिबार देशैभर भीषण वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले न्यून चापीय रेखा औसतभन्दा बढी उत्तरतिर सरेकाले शुक्रबारदेखि नै देशैभर ‘अस्वाभाविक’ वर्षा भएको बताए। ‘मनसुन चाहेभन्दा बढी सक्रिय भएको अवस्था हो यो,’ रिमालले भने, ‘सोमबार बेलुकीसम्म मुलुकका धेरै भागमा भीषण वर्षा हुने देखिन्छ।’

सामान्यतया दक्षिण (भारतीय क्षेत्र) मा सक्रिय रहने न्यून चापीय रेखा सर्दै शुक्रबार बिहान नेपालको चुरे र पहाडी क्षेत्रसम्मै पुगेपछि भीषण वर्षा सुरु भएको हो। ‘एक्कासि मनसुन सक्रिय भएपछि देशैभर भीषण वर्षा भयो,’ उनले भने, ‘पूर्वी क्षेत्रमा आज (आइतबार) देखि मनसुनी प्रभाव रोकिन्छ।’ मुलुकको मध्य र पश्चिम भागमा भने सोमबारसम्म मध्यमदेखि भीषण वर्षा हुने महाशाखाको अनुमान छ। सोमबार मध्याह्नदेखि मनसुन कमजोर बनेर मौसममा सुधार आउने महाशाखाको अनुमान छ।  

न्यून चापीय प्रणाली मध्य तथा आसपासका भागमा विद्यमान रहेका कारण मनसुन बिहीबार रातिदेखि एक्कासि सक्रिय भएको महाशाखाद्वारा शनिबार जारी विशेष बुलेटिनमा उल्लेख छ। शनिबार रातिको वर्षाले नदी–जलाधारमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन विशेषज्ञहरूले सुझाएका छन्। 

‘सोमबारदेखि मनसुनी रेखा दक्षिणतिर सर्दै जानेछ,’ मौसमविद् रिमालले थपे, ‘त्यसपछि नेपालमा मनसुन अलि निष्क्रिय हुनेछ।’ सामान्यतया जुलाईमा मनसुन सक्रिय भएर बढी वर्षा हुनुपर्नेमा यस पटक त्यस्तो भएन। ‘जुलाईमा बढी पानी पर्नुपर्ने हो,’ काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यले भने, ‘पछिल्ला केही वर्षदेखि अगस्ट तेस्रो सातापछि मनसुन कमजोर बन्दै गएको देखिन्छ।’ जुलाई महिनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएको थियो भने पूर्वी भाग सुक्खा थियो। 

दक्षिण एसियाका मौसमविद्ले यो वर्ष नेपालमा पश्चिममा भन्दा पूर्वी भागमा बढी वर्षा हुने पाँच महिनाअघि नै प्रक्षेपण गरेका थिए । दक्षिण एसियाका मौसमविद् मनसुनबारे प्रक्षेपण गर्न मनसुन सुरु हुनुभन्दा अघि नै भेला हुने गरेका छन्। यस पटक मनसुनको अन्त्यतिर बढी वर्षा हुनेसमेत मौसमविद्हरूले अनुमान गरेका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.