|

काठमाडौं : शुक्रबार रातिदेखि शनिबार दिनभर परेको भीषण वर्षापछिको डुबान र बाढीपहिरोले घर भत्किँदा ठूलो भौतिक र मानवीय क्षति भएको छ। शनिबार रातिसम्म ३३ जनाको मृत्यु भएको खबर गृह मन्त्रालयले पुष्टि गरेको छ। बाढी प्रभावित तराई र पहिरो प्रभावित पहाडका जिल्ला–जिल्लाबाट सूचनाहरू संकलन भइरहेकाले मृतकको संख्या बढ्न सक्ने गृहप्रवक्ता दीपक काफ्लेले बताए।

सिमरामा २१७.२ मिलिमिटर, नेपालगञ्जमा १६९.३ मिलिमिटर, दाङमा १६७.४ मिलिमिटर जनकपुरमा १३७.६ मिलिमिटर, भैरहवामा ३९.६ मिलिमिटर र काठमाडौं ३०.८ मिलिमिटर वर्षा भयाे।

तराई क्षेत्रमा आइतबार रातिसम्म पनि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको अनुमान छ। बंगालको खाडीबाट ठूलो मात्रामा जलवाष्प आइरहेकाले भारी वर्षाको प्रक्षेपण गरिएको मौसमविद् सुजन सुवेदीले बताए।

सप्तकोसी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथिबाट बगिरहेको छ। परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भारतीय विदेश मन्त्रालयमा फोन गरेर सबै ढोका खोलिदिन आग्रह गरेका थिए। तर, शनिबार राति अबेरसम्म पनि ५६ मध्ये ३७ ढोका खोलिएको छ।

तराईको ८०%  भूमि डुबानमा

गृह मन्त्रालयका अनुसार तराईको ८० प्रतिशत भाग डुबानमा परेको छ। र, मुख्यगरी झापा, मोरङ, सुनसरी, बारा, सर्लाही, दाङ र बर्दियामा मानवीय क्षति भएको छ। त्यस्तै, पहाडी क्षेत्रका पाल्पा, सिन्धुली र पाँचथरमा पनि पहिरोले सर्वसाधारणको ज्यान गएको छ। हजारौँ परिवार विस्थापित भए पनि गृह मन्त्रालयले समेत यकिन संख्या निकाल्न सकेको छैन। सयौँ अहिले पनि सम्पर्कबाहिर छन्।

बाढीले क्षति गरेको क्षेत्र बिर्तामोडमा चार हजार, विराटनगरमा चार हजार, लहानमा ३० हजार, वीरगन्जमा २० हजार क्विन्टल चामल मौज्दात रहेको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए। देशभर डेढ लाख क्विन्टल चामल मौज्दात रहेकाले सरकारले भनेको ठाउँमा पुर्याउन संस्थान तत्पर रहेको उनको भनाइ छ।

शनिबार साँझ बालुवाटारमा गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक, अनुसन्धानका प्रमुखसँगको बैठकमा प्रधानमन्त्रीले तत्काल उद्धारमा सम्पूर्ण शक्ति खटाउन निर्देशन दिए। उद्धार र राहतका लागि हेलिकोप्टर तयार राखिए पनि मौसमका कारण परिचालन गर्न नसकिएको गृहमन्त्रीको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.