|

चितवन : माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेको थिएन। अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो।

एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आश नै मारेकी थिइन्। २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो। घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो। पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन्।

त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए। ८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन्। चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए। समाका दुई छोरा दुई छोरी छन्। ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, उनले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घण्टा बसियो।’ बाढी पसेपछि उनको बस्ने बास छैन।

माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन्। ‘ श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो।’

उनीसँगै उनकी बहिनीलाई पनि उस्तै सकस भयो। चार महिनाको छोरोसहित २४ वर्षीया सविता परियारको वास पनि पिपलको रूखमा भयो। उनकी आमा, भाउजूसहित १३ जना पिपलको रूखमा बसे। एक जना रूखमा चढेपछि बच्चालाई पालैपालो तानेका थिए। राति ८ बजेदेखि साढे १२ बजेसम्म उनीहरू रूखमै बसे।

आकाशबाट आएको पानीले बच्चा जोगाउन गाह्रो भएको आमा बुधमाया परियारले बताइन्। पानी घटेपछि स्थानीय युवाले उद्धार गरेर नजिकको शिवालय मन्दिरमा पुर्‍याएका थिए। ‘रातभर पिपलको रूखमा बास भयो’, बुधीमायाले भनिन्, ‘समाउँदा समाउँदै हातबाट झण्डै बच्चा फुत्किएको।’

अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो । दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्‍यो । खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए। ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो। कतिले ज्यानको आस नै मारेका थिए। बाढीका कारण खाद्यान्न, लत्ता–कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने।

प्रारम्भिक जानकारीअनुसार माडीमा करिब ३ सय घरमा क्षति पुगेको छ।  पटक–पटक बाढीले सताएर त्रसित बनेकाहरू यस पटक पनि ठूलै क्षति हुने आँकलन गर्दै थिए। शनिबार पनि पानी पर्ने संकेत देखिएपछि उनीहरू झन् अत्तालिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.