|

लाहान : खाडो, जिता, महुलीलगायत नदीमा आएको बाढीले सदरमुकाम राजविराजसहित सप्तरीका दुई दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्। राजविराजको मुख्य बजार क्षेत्रसहित विभिन्न टोल जलमग्न भएका छन्।

जिल्ला प्रशासन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला अदालत, कृषि विकास बैंक लिमिटेड, जिल्ला कृषि विकास कार्यालय, उच्च अदालत राजविराज इजलाश क्षेत्र डुबानमा परेका छन्। स्थानीय जिता नदीको बाढीले तिलाठी कोइलाडी गाउँपालिका– ५ कुसहा र बनरझुलाको बस्तीमा बाढी पसेपछि करिब ३ सय ५० परिवारलाई सडक तथा सुरक्षित स्थानमा सारिएको छ।

सप्तकोशी नदीको पानी पसेर हनुमाननगर कंकालिनी नगरपालिका ७ र १४  मल्हनियाँ टोलका ३ सय १० घर डुबानमा परेका छन्, भने ५० परिवार विस्थापित भएका छन्। बाढीले तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४ सय घरमा पानी पसेको छ। बाढीले बाँध भत्काउँदा बिरौल, देउरीभरुवा, डुमरी, शिवथान, फर्सैठ, पकरी, पौवा, पिपराही, मलेठ, राजविराज नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र १५ का बस्ती जलमग्न भएका छन्।

लगातारको वर्षाले छिन्नमस्ता गाउँपालिका १ फकिरामा मूर्ति नदीबाट आएको पानीले करिब ५ सय घर डुबानमा परेपछि इलाका प्रहरी कार्यालय सखडाबाट गएको प्रहरी टोलीले स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ। डाक्नेश्वरी नगरपालिका- ७ र ८ मा पसेको पानीले करिब १५० घर डुबानमा परेपछि पत्थरगाढास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पबाट गएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ।

राजविराज नगरपालिका-२ स्थित भलुवाही खोलामा आएको बाढीले खोला किनारमा रहेका ६ जनाको घर बगाएपछि पीडित परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा राखिएको छ।

तिलाठी कोइलाडी गाउँपालिका १ र ३ मा पर्ने सखरपुरा गाउँमा ४ फिट जति पानी जमेको छ। महुली खोलाको बाँध फुटेर हनुमाननगर कंकालिनी–३ पोर्ताहास्थित करिब १ सय घर डुबानमा परेका छन्। बाढीको पानी पसेर राजविराज नगरपालिका- ७ स्थित सुरेश सिंहको खाद्य गोदानमा पानी पसेर करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ भने राजविराज नगरपालिका- ४ स्थित बिरौल चोकमा रहेको ह्युम पाईप बगाउँदा आवागमन अवरुद्ध छ।

सिरहामा पनि हालत उस्तै

सिरहामा स्थानीय डिम्मा खोलामा आएको बाढीले कर्जन्हा गाउँपालिका- ६ गौताडीस्थित जनता आधारभूत विद्यालयको पश्चिमपट्टिको कम्पाउण्ड पर्खाल भत्काएको गौताडीका पूर्व गाविस अध्यक्ष रामचन्द्र ठाकुरले जानकारी दिए। पूर्व अध्यक्ष ठाकुरका अनुसार बाढीको पानी स्थानीय पासवान टोलका करिब ३ दर्जन घरमा पसेर करिब ४ फिटसम्म जमेको छ भने १५ वटा जति घर भत्किएका छन्। सिरहाको लहानसहित गोलबजार, सुखीपुर, मिर्चैया, सिरहा सदरमुकाम लगायतका बजारहरु पनि डुबानमा परेका छन्। 

वर्षाका कारण सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–४ का रामवृक्ष यादव, लहान नगरपालिका- २० का पुजेन्द्र यादवको घर पूर्ण क्षति भएको छ। लहान- १९ छर्रापट्टीका मिश्री सदायको फुस र बाँसको टाटले बनेको दुई कोठे घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।

लहानको जिल्ला ट्राफिक प्रहरी कार्यालयदेखि पश्चिमपट्टिबाट बनाइएको नहरमा पानीको बहाव बढ्दा लहान १ मा पर्ने दलित बस्ती प्रभावित भएको छ। 

जिरोमाइल बरियारपट्टि सडक बगायो 

सुखीपुर नगपालिका-८ सुखीपुर बजारदेखि पूर्वपट्टि स्थानीय बाबुराम खोलामा आएको बाढीले सडकमा बनाइएको स्ल्याव कल्भर्ट नजिकै करिब २५ मिटर सडक बगाउँदा शनिबार दिउँसोदेखि यातायात अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय सुखीपुरका अनुसार बाढीले बगाएर ल्याएको रुख र पातपतिङ्गरले कल्भर्ट थुनिएपछि सडक कटान भएको र नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा कल्भर्ट खुलाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.